• मंसिर ८ २०८१, शनिबार

निष्ठाको तान : महामारीमा उद्यमशीलताको शान

श्रावण २१ २०७८, बिहीबार

काठमाडौं । कोरोना महामारीका कारण देशभित्रका उद्यमहरु धमाधम बन्द हुँदै गैरहेका बेला दिदी–बहिनी क्रिएसन्स अन्तर्गत् निष्ठा कायस्थले सुरु गरेको तानका उत्पादनले क्वालिटी कायम गर्न थालेका छन् । यो उत्पादनको नयाँ मोडलका रुपमा अगाडि आएको छ ।

महामारीको संक्रमणसँगै ओइलाउँदै गएका सपना र सिर्जनालाई नयाँ स्वरुपमा ढाल्ने र त्यसलाई मोडलका रुपमा स्थापित गर्ने काम कम चानचुने छैन । त्यसमा पनि नेपाली ब्रान्ड अंकुराउनु भनेको त ठूलै कुरा हो ।

छोटो समयमा स्थानीय ज्ञान र प्रविधिको प्रयोग र विकासको उदाहरण बनेको सूर्यविनायककी निष्ठा कायस्थको तान कपडा उत्पादन आफैमा उत्कृष्ट त छदैछ, त्यसमा पनि यो निकै प्रेरणादायी छ ।

महामारी संक्रमणले संसार खाइरहेको बेला स्नातकोत्तरको अध्ययनसँगै तानमा कपडा बुन्ने गर्दथिन् । उनी त्यतिबेला एउटा तान कम्पनीमा सह–व्यवस्थापकका रूपमा कार्यरत थिइन् । महामारीको चाप बढ्दै थियो, कम्पनी निस्क्रिय हुँदै गैरहेको थियो ।

उनले काम छोडिन् । यता पढाइको काम सिद्धियो । उनी व्यवसाय गर्ने मुडमा थिइन् । तर कस्तो खालको व्यवसाय सुरु गर्ने ? पढेलेखेकी मान्छे, जागीर खानतिर लाग्ने कि ? घरपरिवारको स्वाभाविक अपेक्षा पनि त्यही थियो ।

कोरोना महामारी संक्रमणले च्याप्दै लगेको छ । उपाय केही छैन । नयाँ सुरु गरौं समयले साथ दिएको छैन । उनलाई लाग्यो, तानमा कपडा बुन्ने सीप त जोगाउनु नै पर्छ । उनले तानसम्बन्धी नै काम गर्ने योजना बनाइन् ।

उनको शोभा सुवालसँग सहकार्य हुने भयो । तानमा खट्न सक्ने सीप भएका महिला दिदी बहिनीको खोजीमा जुटिन् उनी । सहकार्यका प्रतिफलका रुपमा जन्मियो– ‘दिदी–बहिनी क्रिएसन्स’ ।

चालु हालतमा रहेका ह्यान्ड मेसिन, धागो लगायत सामान किन्दा करिब ४५ हजार रूपैयाँ लगानी लागेको क्रिएसन्सले कपाल बाँध्ने रबर, हेयर ब्यान्ड, बो–रबरब्यान्ड, झोलाहरू निर्माण गर्यो । उनले यो उत्पादनको बिक्रि गर्न नयाँ तरिका अपनाइन्– अनलाइन सपिङ ।

‘अर्डर’पछि निर्माण गरेर पठाएको बाथरोब (नुहाएपछि लगाउने कपडा) ग्राहकले रूचाए पछि दिदीबहिनी क्रिएसन्सका लागि सिर्जनामा यो एक ‘टर्निङ प्वाइन्ट’ हुन गयो । बिस्तारै कटन, बन्यान, हेम्प लगायत कपडाका लुगा बनाउन थालेपछि त अर्डर र डेलिभरी बराबर हुन थाल्यो ।

अहिले दिदीबहिनी क्रिएसन्समा काम गर्ने सबै उत्साहित छन् । सबैमा आत्मविश्वास छ । ग्राहकको सन्तुष्टि उनीहरुका लागि सबैभन्दा ठूलो उपलब्धि हुन पुगेको छ ।

आजभोलि निषेधाज्ञा जारी भएका समयमा पनि उनीहरुको भिन्न मोडलको यो उद्यमशीलता निरन्तर अघि बढिरहेको छ । यसको व्यापारका लागि डेनमार्कमा नमूना पठाइएकाले उनीहरु निकै आशावादी छन् । नेपाली समाजको मौलिकता झल्काउने गरी गरिएको डिजाइन रुचाइएमा विदेशी डलर आर्जन गर्ने स्रोत बन्ने छ यो ।

मेहनत र सिर्जना नै भविष्य ठान्ने उनीहरु कर्ममा निकै विश्वास गर्छन् । स्थानीय ज्ञान र प्रविधिको संरक्षण र विकासमा लागेका उनीहरुले यसलाई विदेशी मुद्रा आर्जन गर्ने स्रोतका रुपमा विकास गर्दै छन् ।