• फाल्गुन २७ २०८२, बुधबार

भदौ २३ पछि यो कर्यसमितिको वैधानिकता सकिन्छ : पौडेल

श्रावण २१ २०७८, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ गतेपछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता सकिने दाबी गरेका छन् ।
बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा पौडेल समूहका शीर्ष नेताहरुबीच छलफलपछि पत्रकारहरुसँग नेता पौडेलले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशनको प्रस्ताव गरिएको बताए ।

सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिको वैधानिकता भदौ २३ मा सकिने भएकाले समयमै महाधिवेशन गर्न पौडेलको आग्रह छ ।

उनले संवैधानिकरुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले भदौ २३ पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्म कार्यसमितिको वैधानिकता नरहने बताए ।

उनले पार्टी संवैधानिकरुपमै संकटमा परिरहेको भन्दै त्यसलाई बचाउन नेतृत्व नै संवेदनशील हुनुपर्ने बताए । “सभापतीजी प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा पार्टीका काममा केही समस्य भएको हो,” उनले भने,“उहाँले पार्टीको वैधानिकता जोगाएर सरकारको प्रभावकारिता स्थापित गर्नुपर्ने जिम्मेवारी छ ।”

उनले सभापतिले समयमा विचार नपुर्याए पार्टी अवैधानिक बाटोमा जाने दाबी गर्दै त्यस्तो अवस्थाबाट जोगाउन अस्थायी व्यवस्थाका लागि विशेष महाधिवेशनको कुरा उठाएको बताए ।

“आगामी भदौ २३ गतेभित्र नयाँ नेतृत्व चयन नभए वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुन्छ । यो केन्द्रीय समितिले काम गर्न सक्दैन,” पौडेलले भने,“त्यस्तो अवस्था आयो भने विशेष महाधिवेशनबाट छोटो समयका लागि अस्थायी विकल्प हुनसक्छ भनेर विशेष महाधिवेशनको कुरा पनि उठेको हो ।”

उनले विशेष महाधिवेशनलाई महाधिवेशनको विकल्पका रुपमा आफूहरुले अघि नसारेको पनि बताए ।

आजको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरु बलबहादुर केसी र डा.मिनेन्द्र रिजालबीच छलफल भएको थियो ।