दाङ, २१ साउन ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको राप्ती (देउखुरी) उपत्यका अर्थात् गढवा गाउँपालिका र राप्तीक्षेत्र कृषिको लागि उर्वर भूमी हो । उक्त क्षेत्रमा हाल कृषियोग्य भूमी प्रशस्त्र मात्रामा छ । “कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार, गढवा गाउँपालिकाको समृद्धिको आधार” नारा तय गरेको राप्ती गाउँपालिमा अहिले लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी तोकिएको छ । त्यस्तै गढवा गाउँपालिकाको वार्ड नं १, २, ३ र सीतगंगा नगरपालिका अर्घाखाँचीको वडा नं ८ र ९ लाई राजधानी बनाउने भनि प्रदेश सरकारको योजना रहेको छ ।
प्रदेश सरकारकै कार्यालयले केही समय पहिला गरेको परिक्षण अनुसार यो क्षेत्रमा कृषियोग्य भूमी यथेष्ट मात्रामा रहेको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले गढवा गाउँपालिकामा गरेको अध्ययन अनुसार खेतीयोग्य भूमिका लागि आवश्यक पर्ने तत्वहरु यथेष्ट मात्रामा पाइएको जनाएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत अमरराज शर्मा घिमिरेका अनुसार गढवा गाउँपालिकामा गरिएको स्थलगत अध्ययनमा अझै माटोको अवस्था बिग्रिसकेको छैन ।
गढवा गाउँपालिकाका कृषि प्राविधिक नायव प्राविधिक सहायक हेमराज पुनका अनुसार गाउँपालिकामा कुल खेतीयोग्य भूमी १० हजार १ सय २९ हेक्टर रहेको छ । दाङ जिल्लामा लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएपछि गढवा गाउँपालिकाको वडानम्बर १, २ र ३ क्षेत्रमा अहिले धमाधम प्लटिङ्गको काम भइरहेका छन् । जसको कारण अबको केही वर्षमा नै उक्त क्षेत्र कंक्रिटको क्षेत्रमा परिणत हुनेमा दुईमत छैन । सरकारी तथ्यांक अनुसार नै खेतीयोग्य भूमीमै राजधानीको परिकल्पना गरिएको छ । प्रदेशकै माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले गरेको अध्ययन अनुसार गढवा गाउँपालिकामा बोट विरुवालाई आवश्यक पर्ने, खाद्यतत्व, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटास औषतमा सामान्य नै छ ।
गाउँपापलिकामा वर्षौदेखि खेती गर्दै आएको कारण पनि त्यहाँको माटोको अवस्था थप बिग्रिन पाएको छैन । माटो परिक्षण प्रयोगशालाको प्रतिवेदन अनुसार समग्रमा माटोको लागि चाहिने आवश्यक तत्वहरु प्राप्त मात्रामा रहेका छन् । प्रतिवेदन अनुसार माटोमा क्षारीय पन, नाइट्रोजनको स्थिति, प्राङ्गारिक पदार्थ, कम देखिएको भएपनि फस्फोरसको मात्रा अध्याधिक पाइएको थियो । यस्तै पोटासको स्थिति भने मध्ययम प्रकृतिको रहेको माटो परिक्षणको प्रतिवेदनमा उल्लेख छ ।
समग्र गढवा गाउँपालिकामा उच्च अम्लीय भएको माटोको हालसम्म शुन्य छ । यस्तै अम्लीय प्रकृतिको माटो पनि शुन्य छ भने हल्कमा अम्लीयको २२ वटा नमूनाको कुल ४ सय ७७ हेक्टर क्षेत्रफल लिइएकोमा ९ प्रतिशत हल्का अम्लीय तत्व भएको पाइएको छ । त्यस्तै तटस्थ प्रकृतिको माटो कुल ९६ वटा नमूनाबाट २ हजार १४ हेक्टर क्षेत्रफल लिएकोमा ३८ प्रतिशत माटो तटस्थ प्रकृतिको रहेको पाइएको हो ।
माटोको पिएच मान ७ आसपासको क्षेत्रमा तटस्थ माटो रहन्छ जुन माटो बोट विरुवाहरुको लागि राम्रो माटो हो । यस्तै क्षारीय माटोको कुल १ सय ३२ वटा नमूनामा ३ हजार ९ सय ९ हेक्टर क्षेत्रफल लिइएकोमा ५३ प्रतिशत क्षारीय माटो पाइएको थियो । खासगरी तराईको क्षेत्रमा क्षारीय माटो बढि मात्रामा हुन्छ उच्च गर्मी हुने स्थानमा हुने बोट विरुवाहरुको लागि क्षारीय माटो उपयुक्त हुन्छ । माटो परिक्षण पश्चात विज्ञ टोलीले माटोको गुणस्तर सुधारका लागि विभिन्न सुझाव समेत दिएको थियो । जसमा माटोको उर्वराशक्ति जोगाउनको लागि सरकारी निकाय, स्थानीय तह र सरोकारवालाले यो विषयमा ध्यान दिनुपर्ने उल्लेख छ ।
तर अहिले विज्ञको सुझाव समेत कुल्चिँदै राजधानी दाङमा सहर विकास हुँदैछ भने जग्गा प्लाटिङ्गमा परिणत हुँदैछ । विज्ञ टोलीले गढवा गाउँपालिका क्षेत्रको माटोको अवस्था राम्रो रहेको भन्दै माटोको प्रतिक्रिया, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटास, आदि परीक्षण गरिएकोमा जसलाई जोगाएर राख्नु चुनौती रहेको उल्लेख गरेका छन् । गढवा गाउँपालिका क्षेत्रको माटोको प्रतिक्रिया समग्र रुपमा क्षारीय, नाइट्रोजनको स्थिति कम, प्राङ्गारिक पदार्थका फस्फोरस मध्यम र पोटासको स्थिति अत्याधिक वा राम्रो देखिन्छ ।
जंगलबाट प्राप्त हुने स्याउला सोत्तरको उपयुक्त ब्यवस्थापन गर्ने हो भने दिगो माटो ब्यवस्थापन र बालिनालीका लागि आवश्यक खाद्यतत्व व्यवस्थापन गर्न खासै कठिनाई पर्ने नदेखिने विज्ञ टोलीको सुझावमा उल्लेख छ । माटोको उर्वराशक्तिको साथै विरुवाको लागि आवश्यक खाद्यतत्व प्रदान गर्न पनि प्राङ्गारिक पदार्थको विशेष भूमिका रहने भन्दै सुझावमा माटोलाई दिगो रुपमा उर्वर बनाई राख्नको लागि प्राङ्गारिक पदार्थ व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै यसको साथै सिफारिश बमोजिम मलखादको रुपमा प्रयोग गर्नको साथै यी कुराहरुलाई ध्यानमा राखी खेतीपाती गरेमा माटो दिगो रहनुको साथै चाहे जस्तो उत्पादन लिन सकिने उल्लेख छ ।
माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेका प्रमुख अमरराज शर्मा घिमिरेले कार्यालयले केही समय पहिला गरेको अध्ययन अनुसार खेतीयोग्य भूमीको विषयमा गरिएको थियो । तर राजधानी घोषणा भएदेखि खेतीयोग्य भूमी मासेर बस्ती विकास गर्ने परिपाटी विस्तारहुँदै गएको भन्दै उनले यसलाई रोक्नको लागि खासगरी खेतीयोग्य जमिन जोगाएर मात्रै बस्ती बनाउने काममा जोड दिनुपर्ने बताउँछन् ।
“बस्ती बसाउने ठाउँको पहिचान गरेर मात्रै त्यहाँ बस्ती बनाउने तर्फ ध्यान दिनुपर्दछ, होइन भने खेती योग्य भूमि जोगाउन सकिँदैन” वरिष्ठ कृषि प्रसार अधिकृत शर्मा घिमीरेले भने । कार्यालय प्रमुख घिमिरेले खेतीयोग्य जमिन र बस्ती बसाउने क्षेत्रलाई विभाजनगरी माटो जोगाउने गरी काम गर्नु नै अहिलेको आवश्यकता रहेको बताउँछन् ।