• मंसिर ११ २०८१, मंगलवार

वैदेशिक रोजगारीका पीडा

श्रावण २१ २०७८, बिहीबार

केहि वर्ष पहिले एकजना आमा–छोरा हामीसँगै भाडाको घरमा बस्थे । उनकी बुहारी काम गर्न विदेश गएकी थिइन् । उनका छोरा धेरैजसो उनकै घरबेटीसँग हिंडिरहेको ती आमा लगायत वरिपरिका सबैले देख्न थाले ।
घरबेटीका श्रीमान् जेठी श्रीमतीसँग बस्ने हुँदा घरपेटी सानी छोरीसँग अर्कै घरमा एक्लै बस्थिन् । छोराको चाला ठीक नदेखेपछि ती आमाले त्यहाँबाट केहि दिनमै कोठा सरिन् ।

एकजना बहिनीका अनुसार भर्खरै बिहे गरेका दम्पत्ती श्रीमती विदेश गएपछि एक वर्षमै छुट्टिन पुगे । उता श्रीमतीले काम सुरु गरिन्, यता उनका श्रीमान्ले उनी विदेश गएको एक हप्तामै अर्की केटीलाई बाइकमा घुमाउन सुरु गरे ।
लोकलाई पनि लाज लाग्ने गरी वरिपरि बस्ने सबैलाई लज्जित पार्दै उनीहरु बेर्पवाह भइ सँगै घुमफिर गर्न थाले । उता श्रीमती दुःख पीडा झेल्दै काम गर्न थालिन् । यता उनका श्रीमानको मस्ती सुरु भयो ।

उनकी श्रीमतीलाई उनले दिइरहेको धोकाको बारेमा केहि पनि थाह छैन । नजिकै बस्ने एकजना पुरुषले आफ्नो परिवारको खुशीको लागि सबैलाई छोडेर बर्षौैं विदेश बसी दुःख, पीडा सहँदै पैंसा आर्जन गरे ।
उनले कमाएको पैंसाले नै श्रीमतीले काठमाडौंमा जग्गा किनिन् । घर पनि बनाइन् । छोराछोरीलाई राम्रो स्कुलमा पढाइरहेकी पनि थिइन् । वर्षौसम्म श्रीमानबाट टाढा रहँदा उनी अरु नै पुरुषसँग नजिक हुन पुगिन् ।

श्रीमान् घर आएपछि उनी घर छोडेर तिनै पुरुषसँग हिंडिन् । घरमा रहेका साना दुईजना छोराछोरीहरुको बिचल्ली भयो । उनका श्रीमानले काम छोडेर घर तथा छोराछोरी हेरेर बस्नुपर्यो । पोइल गएका पुरुषसँग ठाकठुक परेपछि अहिले उनी एक्लै बसिरहेकी छिन् ।
कठमाडौंमा गत साउन १ गतेपछि सम्बन्ध बिच्छेदका ४ हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । यी मुद्दा अधिकांश वैदेशिक रोजगारसँग जोडिएका छन् ।

वैदेशिक रोजगारमा गएका पुरुष फर्किएपछि ५० प्रतिशत जोडीमा समस्या देखिने गरेको अध्ययनको निस्कर्ष छ । अधिकासं मुद्दामा रकम हिनामिना गरेको, घरपरिवार नहेरेको, बाहिर सम्वन्ध गाँसेका लगायत समस्या छन् ।

पैंसा कमाउनकै लागि दुई वर्षका दूधे बालक छोडेर विदेश हिंडेका दम्पत्तिहरु छोराको यादमा बेलाबेलामा भिडियो कलमै भक्कानिन्छन् । यता बुढा हजुरबुवा, हजुरआमालाई ती बालकको स्याहारसुसार गर्न सकस भएको छ ।

दुई वर्ष पूरा हुँदानहुँदै उनलाई प्लेगु्रपमा भर्ना गरिएको छ । कसैले भनेको नसुन्ने उनी साह्रै जिद्धि छन् । उनलाई फकाउन बिहानै उनका हजुरबुवा पसल गएर कहिले चिजबल त कहिले कुरकुरे किनेर ल्याउँछन् ।

साउदीमा काम गरिरहेका एकजना भाइ केहि दिन अघि बिरामी भएर घर फर्के । उनी एक्लै बस्दा एकदमै डराउने गर्छन् । उताबाट साथीहरुले जहाजमा चढाइदिएपछि उनी काठमाडौं त ओर्ले, तर त्यसपछि एक्लै घर जान डराए ।
उनकी दिदीले उनलाई दुई दिन गाडीको यात्रा गर्दै घर बैतडी पुर्याइन् । डिप्रेसन भएजस्तै अहिले पनि उनी कसैसँग धेरै नबोल्ने, डराउने, एक्लै बस्न रुचाउने गर्छन् ।

श्रीमती र छोराछोरीलाई गाउँबाट सहरमा ल्याइ स्कुल पढाइरहेका थिए । अहिले न त उनीसँग पैंसा छ न स्वस्थ शरीर नै बाँकी छ । गाउँ फर्केर फेरि छोराछोरीलाई गाउँकै स्कुलमा पढाउनुबाहेक अर्को विकल्प अहिले उनीहरुसँग छैन ।

बुढी आमा २ वर्षकी छोरी तथा श्रीमतीलाई छोडेर मलेसिया पुगेका गोरखाका २८ वर्षिय मेघबहादुर कुवँँरको शव तीन सातापछि मात्रै घर आइपुग्यो । गत वर्षको माघ ९ गते एकै पटक मलेसियाबाट रोजगारीमा गएका १७ नेपालीको शव नेपाल ल्याइएको थियो ।

चैतमा मलेसियाबाट नै १२ जनाको शब नेपाल आएको थियो । पूरै परिवारले सँगै बसेर देखेका सपनाहरुलाई मृतकको शबसँगै तिलान्जली दिनु परिरहेको छ । अछाम कुँइकाँका एकजना आफन्त सडकमा हिंडिरहेको बेला गुण्डाहरुले पैंसा माग्दा आफूसँग नभएपछि सख्त घाइतेहुने गरि कुटिए ।

केहि समयसम्म काममा जान नपाउँदा उनले तलब समेत पाएनन् । पैंसाभन्दा पनि ज्यानको माया बढी भन्दै रौतहट गौरका दिनानाथ तिवारी साउदीमा वर्षौं काम गरेको बोनस र तलबसमेत छोडेर हालै घर फर्किएका छन् ।

यस्ता कयौं उदाहरण छन् जहाँ श्रीमान वा श्रीमती विदेशिनु पर्दा घर परिवार नै बर्बाद भएका छन् वा भनौं कयौं वर्ष पछाडि धकेलिएका छन् । कतिपयका घरमा छोराछोरीको बिचल्ली हुन पुगेको छ । घरका बृद्धबृद्धा बेसहारा हुन पुगेका छन् ।
बृद्धबृद्धालाई औषधि उपचार गराउने, अस्पतालसम्म लिएर जाने घरका सदस्यको अभाव हुँदै गएको छ । आफन्तको यादमा मोबाइलमा कुरा गर्दै आँशु बगाउनु बाहेक अर्को विकल्प देखिन छोडेको छ ।

कतै श्रीमान् घर फर्किदा उनले कमाएको धनसम्पत्ति बोकेर श्रीमती पोइल हिंडेका छन् भने कतै श्रीमती वैदेशिक रोजगारबाट घर फर्किदा श्रीमान्ले अर्कै बिहे गरेर बसेको पनि देखिएको छ ।

कपितयका श्रीमान् विदेशमै अर्को बिहे गरेर बसेका छन् भने कतिपयका श्रीमती स्वदेश फर्किदा अर्कैको बच्चा बोकेर फर्केको समेत देखिएको छ । घरेलु श्रमिकका रुपमा विदेश हिंडेका कतिपय किशोरीहरु घरमालिकबाट यौन शोषणको सिकार भइ गर्भवती समेत हुन पुगेका छन् ।
कतिपय किशोरीहरु शारीरिक तथा मानसिक शोषणको सिकार हुँदै काम गर्न बाध्य भएका घटनाहरु भिडियोसहित बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । बाबु विनाका बच्चाहरु बोकेर आँशुको घुट पिउँदै स्वदेश फर्किन बाध्य कतिपय किशोरीहरुका पीडा कसैबाट लुक्न सकेका छैनन् ।

वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेका अनुसार कोरोना भाइरसको महामारीको अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि ९७ वटा देशमा पुगेका बताएका छन् । चराजस्तै आकासमा उड्दै मनमा अनेक सपना सजाएर विदेश हिंडेका युवकको लाश बाकसमा फर्किदा रेमिट्यान्समा रमाउने बाहेक कसको मन रुदैन र ?

विदेशमा दुःख गरि, पसिना बगाएर युवाहरुले कमाएको पैंसा पठाएमार्फत् देशले पाउने रेमिट्यान्सले नै देश चलिरहेको सर्वविदितै छ । देशमा सर्वसुलभ स्वास्थ्य उपचार नहुँदा गम्भिर प्रकृतिका रोगहरु लागेको खण्डमा देशका कतिपय मानिस विदेशमा रहेका नेपालीको सहयोगले नै उपचार गराउन सफल भएका उदाहरण थुप्रै छन् ।

रेमिट्यान्समार्फत् भित्रिने गरेको पैंसाले मात्रै पनि अहिलेसम्म देश विकासका काममा धेरै अगाडि पुगि सक्नु पर्ने हो । तर विडम्वना, कोरोनाको समयमा स्वदेश फर्कने नेपालीका लागि रोजगारका कुनै पनि अवसरहरु सिर्जना भएका छैनन् ।
त्यहि रेमिट्यान्सबाट आएको ठूलो हिस्सा भने कोरोना कालमा पनि स्थानीय, प्रदेश तथा केन्द्रका मन्त्री तथा नेताहरुको सुखसयल तथा आजिवन सुविधाहरु प्रदान गर्न खर्च भइ नै रहेको छ ।

विदेशमा काम गर्ने श्रमिकले पैंसा कमाउनको लागि जुन मूल्य चुकाइरहेका छन्, त्यसको हिसाब गर्न गाह्रो छ । आफ्नो परिवारसँग बस्ने सबै इच्छा, चाहना, खुशीहरु मारेर पलपल आफू पनि मरेर कमाएको पैंसाले धेरै परिवारलाई खुशी दिए पनि कतिपय परिवारको लागि शूल बनेर जिन्दगीभर रहने गरेको छ ।

एक्लो छोराको लाश बाकसमा आउँदा बुढा आमाबुवाको बुढेसकालको लाठि भाँचिने गरेको छ । श्रीमती तथा छोराछोरीहरुले आजिवन बुवाको याद तथा मायामा तडपिनु परेको छ । आमादेखि नडराउने छोराछोरी बुवा नहुँदा बिग्रिने, कुलतमा फस्ने समेत गरेका छन् ।
विदेश गएकी श्रीमतीको मृत्यु हुँदा श्रीमान्ले केहि समयपछि सजिलै अर्को बिहे गरेपनि विदेशमा श्रीमान्को मृत्यु भएका श्रीमतीले भने सजिलै अर्को बिहे गर्ने अनुमति पाउँदैनन् ।

छोराछोरीलाई छोडेर जाने चिन्ता वा उनीहरुको मायाले श्रीमतीहरु आफ्ना इच्छाहरु दबाउन बाध्य हुन्छन् । सौतेली आमा घरमा आएपछि छोराछोरीलाई पनि त्यति सजिलो भने हुदैन । न आमाविना छोराछोरी खुशी हुन्छन् न त बाबु विना नै उनीहरु रमाउँछन् ।

घर परिवारमा हुने विभिन्न खाले तनावले ठूलो मान्छे जस्तै बालबालिकामा समेत डिप्रेसन हुन सक्ने बालमनोविद्हरुले बताउँदै आएका छन् ।
हो, कतिपय परिवारमा विदेशबाट आएको कमाइले खुशी थपेको पनि छ । घर, जग्गाजमिन किनेर राम्रो लगाएको मिठो खाएको पनि देखिएको छ । छोराछोरीलाई शहरका महंगो स्कुलमा पढाइरहेका पनि छन् ।

कतिपयले विदेशमा सिकेको सीपले आफ्नै देशमा आएर व्यापार व्यवसाय पनि सुचारु गरी मनग्य आम्दानि समेत गरिरहेका छन् । तैपनि कामदारका रुपमा विदेश जानेहरुलाई कतिखेर कम्पनी बन्द पो हुने हो कि, मालिकले समयमा तलब नदिने पो हो कि जस्ता चिन्ताले भने सँधै सताउने गरेको छ ।

शारीरिक तथा मानसिक यातना खेप्न बाध्य, अत्यधिक कामको चापले सुतेकै ठाउँमा मृत्यु हुने, कामको सिलसिलामा अंगभंग हुने, कोमामा जाने, मृत्युदण्ड समेत भोग्न बाध्य भएका कतिपय नेपालीहरुका पीडालाई नजरअन्दाज गर्न पनि सकिदैन ।

इलामका दुर्गाप्रसादले जीवनको उर्वरशील समय महिला हत्याको आरोपमा विना सुनुवाइ ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताउनु पनि परदेशमा आइपर्ने पीडामध्ये एक हो । विदेशमा लगेर बेचिइनुदेखि चोर बाटोहुँदै विदेश जानेहरुले पाउने गरेका पीडा पनि कम छैनन् ।

पढेलेखेका होनहार युवा देखि कर्मठ बलिया, बीर जवानहरु देश बाहिर जाँदा सबैभन्दा घाटा देशले बेहोर्नु परेको छ । बल, बुद्धि र दिमाग भएका युवाहरु गाउँ र शहर छोडेर जाँदा सम्पूर्ण देश विकासमै बाधा पुगेको छ ।
दुई ठूला अर्थतन्त्र भएका छिमेकी देशको तुलनामा विश्वमै पानीमा दोस्रो गनिने देशले विजुलीसमते किनेर बाल्ने देखि पानी पनि किनेर खानु परेको तितो सत्य अहिलेपनि हाम्रा सामु छ ।

अहिलेसम्मका जुनसुकै सरकार आएपनि आफन्त, आफ्ना कार्यकर्ता पोस्ने बाहेक देशको लागि काम गरेको देख्न सकिएको छैन । भ्रष्टाचारमा लिप्त हुँदै गएको विभिन्न स्थानीय तहदेखि गत वर्षभन्दा ४ अंक तल झरेको ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यांकले समेतले देखाइसकेको छ ।

यदि यस्तो नहुँदो हो त जनताका आधारभूत आवश्यकताहरु स्वास्थ्य, शिक्षा तथा यातायातमा देश यति पछाडि नहुँदो हो । अहिले पनि नदी पार गर्न जनताले तुइनको प्रयोग गर्नु नपर्दो हो, गम्भीर रोग लागेको खण्डमा स्वास्थ्य उपचारकै लागि घरघडेरी बेच्नु नपर्दो हो । काठमाडौंदेखि झण्डै एक हजार किलोमिटरको दुरी अछाममा रहेको घर पुग्न ती दिन नलाग्दो हो ।

प्याज समेतको लागि पनि हाम्रो भान्छा छिमेकी देशमा भर नपर्दो हो । सत्ताको लागि लुछाचुडी गर्नुभन्दा पनि देश विकासका काममा ध्यान दिइ रोजगारीका प्रशस्त अवसरहरु सिर्जना गर्न सके हाम्रा आफन्त विदेश जाने क्रम रोकिन्थ्यो कि ! लाश भएपनि पाउने आशमा बस्नुपर्दैनथ्यो कि !