• मंसिर २० २०८१, बिहीबार

निषेधाज्ञा थपसँगै तयारी पनि अघि बढाऊ

श्रावण २० २०७८, बुधबार

काठमाडौं उपत्यकामा फेरि पनि निषेधाज्ञा थप गरिएको छ । केही दिनका लागि निषेधाज्ञा थपिए पनि यो लम्बिँदै जाने संकेत देखा परेको छ ।

कोरोना महामारीको संक्रमण उकालो लागिरहेका कारण निषेधाज्ञा थप हुन गएको हो । पछिल्लो समयमा निषेधाज्ञा खुकुलो बनाइँदै लगिए पनि कोरोना महामारी संक्रमणमा भने कमी आउन सकेन ।

सरकारको प्रशासनिक प्रयास आफैमा प्रेरणादायी छ । तथापि यो प्रयाससँगै महामारी नियन्त्रणका लागि अन्य अनिवार्य कुराहरु पनि साथसाथै अघि बढाएर लैजानु पर्ने आवश्यकता बढेर गएको छ ।

यसका लागि सरकारले खोप आयातमा तदारुकता दिनु जरुरी छ । साथै, प्राप्त खोपको समुचित वितरणका लागि व्यवस्थापन पनि उत्तिकै प्रभावकारी बनाउनु जरुरी देखिएको छ ।

थप आवश्यक खोपका लागि कुटनीतिक पहल र खरीद दुबैमा बराबर ध्यान दिनु पर्छ । स्वास्थ्य मन्त्रालयले ९–महिने लामो खोप आपूर्ति कार्यक्रम सार्वजनिक गरेको छ । यसले जनतामा सिर्जना गर्ने अत्यास र निराशा भावलाई नजरअन्दाज गर्न मिल्दैन ।

पछिल्लो समयमा जनचेतनाका कार्यक्रम मोडिफाई गरी चित्ताकर्षक बनाउन र जनचासो समेट्ने बनाउनु जरुरी हुन गएको छ । मोबाइलका रिङ टोनमा बज्ने धुनहरु नयाँ नयाँ बनाइनु पर्छ । यसका लागि कलाकारको सहयोग लिनु जरुरी छ ।

भौतिक दुरी कायम हुन नसकेको, चोकमा भेटघाट बाक्लिने गरेको, स्यानिटाइजरको प्रयोग हराएको आदि कुरालाई नयाँ र श्रवणीय बनाउनु जरुरी हुन गएको छ ।

संभावित तेस्रो लहरको चुनौती हाम्रोसामु छ । अर्कोतिर, दोस्रो लहरको संक्रमणमा पनि कमी आउन सकिरहेको छैन । सामुदायिक तथा निजी अस्पताल संक्रमित बिरामी भरिभराउ छन् ।

अबको तेस्रो लहरको सामना गर्न हामीलाई थप उपचार कक्षहरुआवश्यक भैरहेका छन् । वैकल्पिक उपचार कक्षहरुको जरुरी भैरहेका छन् । देशको कूल जनसंख्याको सबैभन्दा ठूलो हिस्सामा रहेको बालबालिकाको हिस्सा संभावित तेस्रो लहरको निशाना बन्ने कुरालाई हेक्का राख्दैे उपचारका लागि तयारी गर्नुपर्ने जिम्मेवारी आएको छ ।

त्यसैले, निषेधाज्ञासँगै कोरोना महामारीको दोस्रो लहर चुनौतिको सामना गर्दै तेस्रो लहरको सामना गर्ने तयारी अघि बढाऔं !