काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि पार्टी हैसियत गुमाएका महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (जसपा)कै नामबाट कार्यक्रम जारी राखेका छन् । उनीहरुले यही नामबाटै प्रदेश तथा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्ने घोषणा पनि गरेका छन् ।
घोषित कार्यक्रमअनुसार साउन २२ गतेदेखि तराई मधेसका मुख्य जिल्लाहरुमा र भदौ ९ गतेदेखि सातवटै प्रदेशमा कार्यक्रम गरिने जनाइएको छ । जसपा नेताकै हैसियतामा महन्थ ठाकुर पक्षका नेताहरु कार्यकर्ता र जनताका भेला तथा वैठकमा पुगिरहेका छन् ।
महन्थ पक्षले आफूहरु जसपामै रहेको दाबी गर्दै जिल्ला र प्रदेशस्तरमा कार्यक्रम सहभगी हुन थाल्दा यसले कतै झडप निम्त्याउने त होइन भन्ने आशंका पनि उब्जाएको छ । अर्कोतिर, महन्थले यसै गरी गरी जसपामा लिनैपर्ने वातावरण निर्माण त गरिरहेका छैनन् भन्ने कर्त पनि उठेको छ ।
बूढेशकालमा ठूलै राजनीतिक ठक्कर खान पुगेका उनी पूर्व प्रम केपी ओलीबाट पनि निकै उपयोग मात्र गरिएको तर वाचा गरे अनुरुप सत्तामा जिम्मा दिन हिच्किचाएको गुनासो गर्छन् ।
उनको एउटा सदाबहार भनाइ छ– ‘निर्वाचन आयोगले पार्टीको पुरानो कार्यकारिणी समितिलाई नै मान्यता दिएको छ र सिंगो पार्टी नै उपेन्द्र यादवको हो भनेर कतै उल्लेख गरिएको छैन ।’ उनको थप तर्क पनि छ– ‘जसपाको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ, त्यसको फैसला नआएसम्म हामी जसपामै छौं ।’