वीरेन्द्रनगर । सुर्खेतमा कृयाशील ‘साझा घर नेपाल’लाई केही मनकारी व्यक्तिहरुले सहयोग गरेका छन् । कालीकोटबाट सुर्खेत आएका युवा, विद्यार्थी र सुर्खेत मै व्यवसाय गर्दै आएका मनकारी समूहले पैसा उठाएर चामल र दाल किनेर सहयोग गर्नु भएको हो ।
फजुल खर्च गर्ने हातहरु भन्दा दीनदुःखी र असहायका लागि दान गर्ने हातहरु महान हुन्छन् भन्ने कुरा यसबाट पुष्टी भएको छ । यही उद्धेश्य वरपर नै यो संस्थाको नारा पनि रहेको छ । यो संस्थाले कर्णालीका गरीब र अनाथ बालबालिकालाई पढ्ने, बस्ने, खाने व्यवस्था गर्दै आएको छ ।
यो संस्था विगत ३ वर्ष २०७६ देखि सञ्चालनमा आएको हो । यो संस्थाले हाल ६५ जना बालबालिकालाई आश्रय दिँदै आएको छ । ‘साझा घर नेपाल’ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा अवस्थित छ । यस कार्यमा सहयोग गर्नुहुने सबैलाई संस्थाले धन्यवाद दिएको छ ।
यस संस्थाका अध्यक्ष भीमबहादुर विश्वकर्माले आफ्नो मृगौला बेचेर भएपनि बालबालिकालाई शिक्षा, गास, बासको उचित व्यवस्था दिने प्रतिवद्धता गर्नुभयो । संस्थाका महासचिव विनोद चौलागाईंलाई हामीले यो संस्था कसरी चलेको छ र कोही सहयोगदाता छ की छैन ? भनेर प्रश्न गरेका थियौं ।
हाम्रो प्रश्नको जवाफमा उहाँले अहिलेसम्म कुनै पनि विदेशीले सहयोग नगरेको बताउनु भयो । उहाँले सो संस्थाको उद्धेश्य सहाराविहीनलाई शिक्षा, दीक्षा दिने रहेको बताउनु भयो । उहाँले कोही पनि खुला आकाश मुनि बस्नु नपरोस् र कोही भोकनाङ्गा रहन नपरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनु भयो ।
यस संस्थाले पहिला पनि मानसिक सन्तुलन गुमाएका १७ जना विरामीलाई उपचार गरी घर पठाएको पनि उहाँले जानकारी दिनुभयो । बेवारिसे रुपमा छोडिएका बालबच्चा पनि आफूहरुले सडकबाट उठाएर सेवा दिएको चौलागाईंले बताउनु भयो ।
यसैगरी कालीकोट जिल्ला खेलकुद विकास कार्यालयका अध्यक्ष गणेश शाहीले बालबालिकालाई आफ्नो तर्फबाट २० हजार जतिको खेलकुद सामग्री यस साझा घरका बालबालिकालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।