काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्डरु कुमोले ११ जना महिलामाथि यौन दुव्र्यवहार गरेको रिपोर्ट सार्वजनिक भएको छ । डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले कार्यस्थलमा दुर्व्यववहार गरेको एकजना महिलाले सार्वजनिक गरेपछि अनुसन्धान थालिएको थियो ।
मंगलबार राज्यकी महान्यायाधीवक्ताले लेतितिया जेम्सले पाँच महिना लामो अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेकी थिइन् । उक्त रिपोर्टमा ६३ वर्षीय कुमोले गलत नियतले महिलालाई छुने, चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख गरिएको छ । उक्त रिपोर्ट प्रकाशित भएपछि कुनै बेलाका पार्टीका स्टार मानिएका कुमोले राजीनामा दिनु पर्ने माग डेमोक्र्याटहरूले नै गरेका छन् ।
ह्वाइट हाउसमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति जो बाइडेनले कुमोले राजीनामा दिनु पर्ने बताए । राज्यको संसदले उनलाई महाअभियोग लगाउन सक्ने भए पनि कुमोले राजीनामा दिनु पर्ने बाइडेनको भनाइ छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले पनि विज्ञप्ति जारी गर्दै कुमोले पद छोड्नु पर्ने बताएकी छिन् ।
कुमोले भने आफ्नो बोली र व्यवहारलाई केही मानिसले गलत रुपमा बुझेकाले उक्त रिपोर्ट अन्यायपूर्ण भएको बताएका छन् । आफूले गल्ती नगरेकाले राजीनामा नदिने उनको जिकिर छ । कुमो सन् २०११ मा न्युयोर्कको गभर्नर बनेका थिए । त्यसअघि उनी सोही राज्यका महान्यायाधीवक्ता थिए ।