इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब भाडामा लगाइने भएको छ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्रीको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो । यसलाई साँस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन् ।
सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफको सरकार बन्दा प्रधानमन्त्री खानले सरकारी आवासलाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । त्यसपछि उनले उक्त घर खाली गरेका थिए ।
समा टिभीका अनुसार अब विश्वविद्यालयको परियोजना छाडेर प्रधानमन्त्रीको आवासलाई भाडामा दिने निर्णय गरिएको छ । स्थानीय मिडियाका अनुसार यस मामिलामा चाँडै इमरानको क्याबिनेटमा छलफल हुनेछ ।
जसमा प्रधानमन्त्रीको सरकारी आवासबाट आम्दानी गर्ने बारे चर्चा हुनेछ । प्रधानमन्त्री आवासका अडिटोरियम, दुई गेस्ट विङ्ग र एउटा चौरलाई भाडामा दिने तयारी गरिएको बताइएको छ ।
यसमा कूटनीतिक कार्यक्रम, अन्तराष्ट्रिय सेमिनार पनि आयोजना गर्न पाइनेछ । यसबाट सरकारले कमाइ गर्ने सोच खानको छ । इमरान सत्तामा आएपछि ३ वर्षमा पाकिस्तानको अर्थतन्त्र १९ बिलियन अमेरिकी डलरसम्म खुम्चिएको छ ।
इमरान प्रधानमन्त्री बनेपछि उनले देशको अर्थ व्यवस्थालाई सही ठाउँमा ल्याउन सरकारी खर्चमा व्यापक कटौती गरेका छन् । यसका बावजुद देशको ऋण ४५ हजार अर्ब रुपैयाँ पुगिसकेको दैनिक भास्करले समाचार लेखेको छ ।