• फाल्गुन २७ २०८२, बुधबार

पौडेल पक्षको बैठकले गर्यो यस्तो निर्णय

श्रावण १९ २०७८, मंगलवार

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ ।

मंगलवार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले विवादित ठाउँमा १३औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो ।

क्रियाशिल सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सिधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टि समेत व्यक्त गरेको छ । व्यक्ति हेरेर नभई विधि, पद्धती र प्रक्रियामा क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताए ।

उनले भने, ‘जे संविधानले गरेको आधारभूत, संरचनागत सिद्धान्त हो । तदनुरुप क्रियाशिल सदस्यता टुंगो लगाउनुपर्छ । जहाँजहाँ विवाद भएका छन्, तिनीहरुलाई १३औँ महाधिवेशनकै क्रियाशीलतालाई मान्ने गरेर नयाँ अधिवेशनको प्रारम्भिक चरणको खुड्किला प्रारम्भ गरौं भन्ने हो । विधिवत ढंगले निश्चित मापदण्डको आधारमा, वैधानिकताको आधारमा गरौँ । त्यसमा को पर्छ, पर्दैन, कुन ग्रुपको हो भन्ने नहेरौँ । एउटा विधि, पद्धती र प्रक्रियामा हामी संलग्न भयौँ भने त्यसले एउटा बाटो निर्माण गर्छ । पार्टीलाई विधिसम्मत बनाऔँ । पार्टीलाई नीतिमुखि बनाऔँ नेतामुखि होइन । पार्टीलाई विचारमुखि बनाऔँ व्यक्तिमुखि होईन ।’

उनले क्रियाशिल सदस्य वडाबाट नभई आकाश र पत्तालबाट आएको टिप्पणी गर्दै वडामा प्रस्तुत नै नभइकन थपिएका सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।