काठमाडौं । होनहार नेपाली युवाको अकारण ज्यान गएको छ । त्यो पनि नदी तर्दा तुइन फुस्काइदिएर । छिमेकी राज्य भारतका सशस्त्र अधिकारीहरुका हातबाट । उनको भौतिक शरीरको पनि खोजी भैरहेको छ । तर उनको मानवीय अस्तित्वको खोजी भने सर्वाधिक हुन गएको छ ।
नेपालीका पनि राष्ट्रिय अभिभावक छन् । उनी ‘बा’जस्ता छन् । उमेरका हिसाबले पनि र अभिभावकीय भूमिकाका हिसाबले पनि । संयोगले नाम र थर पनि उस्तै छ– शेरबहादुर देउवा !
शुक्रवार दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दैगर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लट्ठा खुकुलो पारिदिएपछि क्षणभरमै महाकालीको उर्लंदो भेलमा बेपत्ता भए । उनको भौतिक शरीर अझैं पनि भेटिन बाँकी छ ।
लगत्तै फरक प्रसँगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसहितका छिमेकी देशसँगको सम्बन्ध प्रगाढ रहेको कुरा सार्वजनिक गरे । यता नेपाली युवालाई जानीजानी नियतैले तुइन लुज बनाएर भारतीय सीमा बलका टिमले ज्यान लिए । समयले २४ घण्टा काटेको थिएन ।
यसका बारेमा क्षमा याचना पनि सुुनिएन, चिन्ता र चासोसम्म पनि जाहेर गरिएको पाइएन । सामान्य कुरामा पनि ‘सरी’ भन्ने प्रचलन विश्वमा छ । तर कानमा बतास लागेको छैन । कुरा सार्वजनिक रुपमै खुलस्त छ, केही लुकेको छैन । तर सम्बन्धित माध्यम वा राज्य बोल्न सकिरहेको छैन ।
अपराध केही पनि छैन । आफ्नै रोजगारी र रोजीरोटीका लागि बाटामा, तुइनमा, बसमा या यस्तै सार्वजनिक स्थानमा हिंडिरहेको नेपाली पनि ‘मानव’ त होला । पशुपंक्षी अधिकारसम्मका कुरा उठिरहेका बेला मानव अधिकार कहाँ गयो नेपालीका लागि ?
नागरिकको रक्षा कसले गर्ने ? देश र नागरिकका लागि कसले बोल्ने ? यसका लागि विना ढिलाइ देशकै बा उठिबस्नु पर्छ । नेपालीले अभिभावकत्व पाउनु पर्छ । तिम्रो उपस्थितिका अगाडि ‘नेपाली टुहुरा भयौं !’ भन्ने कसरी ?
त्यसैले छिमेकमा रहेका तिम्रा समकक्षीलाई ‘छिमेक–मैत्री व्यवहार गर’ सम्म त भनिदेऊ बा !