(मेलम्चीको खानेपानी आयोजना बीसौं वर्षपछि मात्र सफल भयो । पानी काठमाडौंमा झर्यो तर आएको केही महिनापछि मेलम्ची नदीको माथिल्लो तटीय इलाकामा गएको अकल्पनीय पहिरोका कारण यो बन्द भयो । मेलम्ची माथिल्लो तटको भौगर्भिक बनोटका कारण यो सबै भएको भन्ने बहस चलिरहँदा प्रस्तुत गरिएको छ भूगर्भविद तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक सुवोध ढकालसँग गोलमेडियान्युज डट कमका संवाददाताले गरेको समसामयिक अन्तर्वार्ताको मुख्य अंश-सम्पादक ।)
१.मेलम्ची खानेपानीमा देखिएको विपत्ति त्यस क्षेत्रको भौगर्भिक अध्ययन नभएकाले निम्तिएको हो भनिदैछ, कुरा के हो ?
हामीहरुले त्यसो भन्ने गरेका छौं । पहिले जे काम पनि पूर्वतयारी र अनुसन्धानविना गर्दछौं । पछि आएर विपत्ति निम्तिदा निकै अत्तालिने गर्छौं । मेलम्चीको खानेपानीका बारेमा पनि यही हुन गएको हो । मेलम्चीमा त्यहाँको भूसतहको भौगर्भिक बनोटले गर्दा यो भयो वा अरु नै कारण छन् । अनुसन्धान हुन बाँकी छ । अनुसन्धानपछि मात्र एकिनसाथ भन्न सकिनेछ ।
२. आखिर विपद त निम्तियो त ?
हो, मानिसले ‘विपद् विपद्’ भनेर चिच्याउँछन्, तर सोचनीय कुरा के हो भने मेलम्चीको प्रोजेक्ट आजको भोलि त सम्पन्न भएको होइन, यो बीसौं वर्ष लागेर सम्पन्न भएको हो । यस अवधिसम्म पनि मेलम्चीको मुहान, यसको उपल्लो तटीय क्षेत्रका बारेमा अध्ययन नै भएको थिएन भन्न त मिल्दैन । त्यहाँ कस्तो भौगर्भिक संरचना छ, त्यसले के कस्ता जोखिम निम्त्याउँछ, यसका लागि पूर्व तयारी र सावधानी के के र कसरी अपनाउने भन्ने कुरा आज विपद् निम्तिएपछि गरिने कुरा होइनन् ।
तर आश्चर्यको कुरा के हो भने मेलम्ची खानेपानीको प्रोजेक्ट सञ्चालन गर्दा यी कुनै पनि कुरा पूरा गरिएका थिएनन् भन्ने कुरा बाहिर आएको छ । यसले त नेपालमा भएका र हुँदै गैरहेका ठूला ठूला विकास निर्माणका कामहरुमा पनि ‘बालुवामा पानी’ हाले झैं गरिरहेका छौं कि त भन्ने देखाउँछ । यसैले होला हामी हाम्रो काम सम्पन्न भएपछि हुने लगानीको रिटर्नमा चुकिरहेका छौं ।
३. विपद् त सोचेभन्दा बढी नै पो छ त ?
हो, विपद् सोचेभन्दा बढी नै देखिएको छ । प्रोजेक्ट बन्दा र बनाइँदाका बखत विपद् न्युनीकरणका लागि पूर्व सोच र कार्य भएको देखिदैन । हामीले काम सबै परम्परागत ढङ्गले गरिरहेका छौं । त्यसका वैज्ञानिकीकरण छैन । विकास निर्माणका लागि पछिल्लो चरणमा पालना गरिनु पर्ने केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिनु जरुरी हुन गएको छ ।
४. मेलम्चीका स्थानीय जनताको भनाइअनुसार वर्षा कम भैरहेका बेलामा पो डरलाग्दो बाढी आएर बजार अनि पुल नै बगायो भन्ने छ त ?
यसो हुन सक्छ । बजबार र पुल बगाउँदाका बखत पानी कम परिरहेको भए तापनि वर्षात् त निरन्तर भैरहेकै हो । आम मानिसको धारणा ठूलो वर्षा हुनासाथ पहिरो जान्छ र बाढी आउँछ भन्ने छ । तर वर्षाबाट पानी जमिनमा छिर्ने र माटो भिजाउनुका साथै पानीको मात्रा बढी हुँदै जाँदा यसले माटोको तहलाई बाहिरतिर धकेल्न थाल्छ ।
यस्तो बेलामा जमिनमाथिबाट थोरै पानी परे पनि यसको मात्रा र बाहिर धकेलिने प्रक्रियामा थप भार वा बल मिल्न जान्छ । फलतः पहिरो जाने र एक्कासी भेलबाढी आउने प्रक्रिया सुरु हुन थाल्छ । अर्को कुरा पहिले पहिरो गएको क्षेत्रमा हल्लिएको, तानिएको र थर्किएका कारणले पनि ‘इरोजन लिंक्ड ल्याण्डस्लाइड’ भइ नै रहन्छन् ।
५. अब पनि जोखिम न्युनीकरणका लागि केही पहल लिन सकिन्छ होला ?
अहिल्यै र अबका दिनमा जोखिम न्युनीकरणका लागि केही गर्न नसकिने भन्ने त होइन । तर अहिलेसम्मका अनुसन्धान र सूचनाले यी काम गर्न सकिने अवस्था छैन । यसमा थप अध्ययन जरुरी छ । यो अध्ययन तथा अनुसन्धानमा देखेका, सुनेका र भनेका कुराभन्दा पनि वैज्ञानिकता बढी हुनु पर्छ ।
यसका लागि डिटेल अध्ययन जरुरी छ । हाल सरकारले विज्ञ समूह निर्माण गरेको भने पनि ‘टार्गेट’ भने हुन सकेको छैन । यसका लागि ठूलो अध्ययन जरुरी छ । सबैको सहयोग र सल्लाह आवश्यक छ । यसले सम्बन्धित सबै विज्ञ सञ्जालको समन्वय र सहकार्यको माग गरिरहेको छ । कसैलाई देखाउन, प्रकट भएको रोष कम गर्न राजनीतिक उद्देश्यका साथ यी काम गर्नु र गरिनुले कुनै अर्थ राख्दैन ।
६. वास्तविक जोखिम न्युनीकरणका लागि के गर्न सकिन्छ त ?
यसका लागि तत्काल ‘डिटेल स्टडी’ थालौं । विषय विशेषज्ञहरुको टोली निर्माण गरी वैज्ञानिक तरिकाले अध्ययनमा जुटौंं । साइटमा पुगौं । खस्न थालिरहेका र खस्नसक्ने पहिरोका भागहरु सचेततापूर्वक हामी आफैले खसालौं तर हाम्रो योजनामा ।
त्यसै गरी मेलम्चीका तल्लो तटीय क्षेत्रका बस्तीहरु कम जोखिम भएका ठाउँमा सारौं । यो त सचेत प्रयत्नका साथ हामीले योजनामा गर्न सक्छौं । मेलम्चीको पहिरोको बारेमा पनि भर्खरै पहिरो गएको साइटमा त पहिरो झरिरहन्छ नि भन्ने भन्दा पनि त्यसलाई कसरी कम गर्न र व्यवस्थापन गर्न सकिन्छ भन्नेतिर सोचौं ।
तत्कालका लागि हेलिकप्टरबाट औजार लिएर होस् वा दक्ष टिम त्यहाँ पुर्याएर होस् वा स्थानीय जनतासँग सहकार्य गरेर यी सबै काम गर्न सकिन्छ । यी काम अस्थायी रुपमा सापेक्षिक स्थायी रुपमा अघि बढाउन पहल गर्न सक्छौं ।
गिट्टी र बालुवा भरेका बोरा प्रयोग गरेर, मूढा तेस्र्याएर वा ढुंगे गारो लगाएर काम अघि बढाउन सकिनछ । यति गरेमा पहिरोको दुवै तटीय इलाकाबाट झरिरहेको गेगर र माटो रोक्न सकिन्छ ।
७. त्यसो भए न्युनीकरणका स्थायी उपाय वर्षापछि मात्र … ?
हो, त्यो संभावना त्यति बेलै छ । डिटेल सर्भे पनि त्यति बेलै हुन सक्छ । स्थायी खालका कामका लागि वाल निर्माण, गेभिङ फिलिङ तथा कतिपय छोटो दुरीमा नदीको धार परिवर्तन पनि त्यतिबेलै गर्न सकिन्छ ।
८. देशको विकास निर्माणमा प्रभावकारी काम हुन नसक्नुको कारण के हो ?
नेपालमा हरेक कुरा राजनीति केन्द्रित छ । कर्मचारी र विज्ञ तथा विषय विशेषज्ञ आफ्नो पद जाोगाउन नेता र पार्टीको पछिपछि हिंड्दा नै ठीकै छ । समय बितेकै छ । उसलाई यथार्थ कुरा भन्दा पनि चिप्लो कुरा गरेर ढाँट्नु परिरहेको छ । यस्तो बाध्यात्मक परिस्थितिलाई नेता र नेतृत्वले नै अन्त्य गरिदिए विकास निर्माण र अन्य काममा सहजता आउने थियो ।
प्राविधिज्ञ राजनीतिज्ञको पछिपछि लाग्ने होइन । उनीहरुले प्राविधिक हिसाबले जे गर्नुपर्छ, त्यही नै गर्नु जरुरी हुन्छ । हाल पहिरो गएपछि र मेलम्ची खाने पानीको मुहान पुरिएपछि ‘विदेशी विशेषज्ञ’ गुहार्ने र मेलम्ची नदीको मुहान अर्थात् उपल्लो तटीय इलाकाको ‘भौगर्भिक सर्भे’ गर्ने गराउने भन्ने सुन्नमा आएको छ । यसो नहुनु पर्ने हो किनकि मेलम्ची पानी ल्याउने बेलामै यी सबै भैसकेको भनिएको थियो । यदि नभएको हो भने त यो हदैसम्मको लापर्वाही र झाराटराइ हो ।
९. त्यसो भए अरु ठूला आयोजनामा पनि भौगर्भिक सर्भे नभएको पो देखिन आउँछ त ?
नेपालमा त्यस्ता धेरै प्रोजेक्ट छन्, जो हाल सम्पन्न भएको अवस्थामा छन् । तर तिनको वातावरणीय प्रभाव मूल्यांकन वा इआईए भएको छ कि छैन थाह छैन । व्यवहारिक रुपमा हामीले मुग्लिङ–नारायणघाट सडक खण्ड देख्दै र भोग्दै आएका छौं । त्यहाँ हामीले देखेकै छौं कटान कहाँ भएको छ, पहिरो कहाँ गएको छ ? तिनका बीचमा सामन्जस्यता पनि देखिदैन ।
उक्त सडक–खण्डको आधारमा नदीले के कति प्रभाव पारिरहेको छ । यसमा पनि पर्याप्त ध्यान दिएको देखिएको छैन । यो खण्डमा सडक बिस्तार गर्दा आधार कटान भएपछि बडेमाका पहिरा झरिरहेका छन् । पहिले गएका पुराना पहिराको अध्ययन नै नगरी सडक चौडा बनाउने नाममा तिनका खुट्टा काटिदिने काम भएको छ ।
खुट्टा काटिएका शरीर आफैले थेग्न नसकी लडेको अवस्था झैं यी पहिराहरु खसिरहेका छन् । खुट्टा काटिसकेपछि बैशाखी जरुरी हुन्छ । त्यो बैशाखी नदिएपछि बाटामा पहिरा खस्ने गरिरहेका छन् ।
१०. यसमा सुधार कसरी ल्याउन सकिएला ?
यसका लागि प्रवृत्ति र प्रविधि दुवैमा सुधार ल्याउनु पर्छ । विकासे मोडलमा पनि परिवर्तन ल्याउनुु पर्छ । भौगर्भिक बनोटका हिसाबले हाल रहेका बस्तीलाई ‘रेड’, ‘एलो’ तथा ‘ग्रिन’ गरी तीन तहमा विभाजन गरी तिनको व्यवस्थापनमा ध्यान दिनु पर्छ ।
मनसुुनका चार महिना निकै सतर्क रहनु पर्छ । विना प्राविधिक अध्ययन चारवटा घरका लागि कैयौं डाँडा काटेर र सैयौं नदी पुरेर भए पनि जथाभाबी बाटो पुर्याउने प्रवृत्तिलाई हटाउनु पर्छ । बस्ती सार्न सक्नुपर्छ ।
११. वातावरणमैत्री विकास कसरी होला ?
त्यसका लागि वातावरण प्रभाव मूल्यांकन जरुरी छ । तर नेपालमा हालसम्म छुटेको भनेको कुरा त्यही नै हो । धेरै काम स्थानीय उपभोक्तामार्फत् गरिएको छ । त्यहाँ के हो वातावरण प्रभाव मूल्याङ्कन थाहै छैन । कार्यालयमा कतै खाोजियो भने पाउन सकिन्छ कि, त्यही पनि । विकास निर्माण र वातावरणसँग सम्बन्धित संस्थाहरु धेरै छन् । तर काम गर्दा ती कुनैको खोजी भएको देखिदैन । तिनका बीचमा समन्वय पनि छैन । कुनै कुनै काममा त एउटाले एआईएको रिपोर्ट लेखिदिने र अरुले सही गर्ने गरेको पनि पाइन्छ । यसमा सुधार ल्याउँदै गएमात्र वातावरण मैत्री विकासको संभावना बढ्दै जाने छ ।