काठमाडौँ । आजको समय पूँजीवादले खर्लप्पै संसार खाला जस्तो भएको समय हो । समाजमा, देशमा अहिले बौद्धिकता हुनेहरुको भन्दा धन सम्पती हुनेहरुको हालीमुहाली भएको देख्न सकिन्छ । पैसाको खेलमा हालीमुहाली गर्दा गर्दै कोही कोही मानिस त चुर्लुम्मै डुबेको पनि तपाईंले आफ्नो आँखा अगाडी देख्नु भएको समेत होला । अहिलेको समय पैसाले बाँच्ने समय जस्तो देखिन्छ ।
हरेक देशले पैसाको विकास गरेर नै अरु कुराको विकास गर्नसक्छ । आफैले पैसाको विकास गर्न वा आर्जन गर्न नसक्ने देशले विकास गर्न अथवा मानिसले आफ्नो जीवन धान्न, व्यापार व्यवसाय बढाउन वा टिकाउन ऋण लिएर भएपनि काम चलाउने गरेको हामी देख्छौं ।
अर्कोतिर फलानो सरकारमा हुँदा वा हलानोको पालामा देशलाई ऋणको यति भारी बोकायो उति भारी बोकायो, खायो गयो भनेर आरोप प्रत्यारोप गर्ने गरेको समेत हामीले सुन्दै र भोग्दै आएका छौं । ऋण लिएर कोही डुबेका हुन्छन् भने कोहीले भने प्रगती गरेका हुन्छन् । व्यक्तिको हिसाबमा पनि यस्तै हो भने देशको हिसाबमा पनि यस्तै हो ।
संसारका सबै उद्योगी व्यवसायीहरुले ऋण लिएकै हुन्छन् भने विकसितदेखि अविकसित सबै देशहरुले पनि ऋण लिएकै हुन्छन् । हाल संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकादेखि गरिब भनिएका देशहरु समेतले ऋण लिएर काम गरेको देखिन्छ । यति भनिसक्दा तपाईंलाई लागिसक्यो होला कुन देशले कति ऋण लिएर काम चलाएको होला भनेर ।
आउनुहोस् आज संसारका सबैभन्दा विकसित कहलिएका देशहरुले कति ऋण लिएर काम चलाएका रहेछन् सो बारे केही छलफल गरौँ ।
१)जापान
जापान यो पृथ्वीको विज्ञान तथा प्रविधिमा सबैभन्दा धेरै विकास गरेको देश हो भनेर भन्दा अतिसयोक्ति नहोला । पूर्वी एशियामा अवस्थित सो देश टापूहरु मिलेर बसेको छ । ३,७७,९७५ वर्ग किलोमिटरमा फैलिएको जापानमा १२ करोड ६० लाख भन्दा बढी जनसंख्या रहेको छ । यसको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ५ ट्रिलियन अमेरिकी डलर बराबरको रहेको छ । जापान संसारको अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्रको रुपमा परिचित भएको देश हो । अहिले जापानको बैदेशिक ऋण ४,६९१ बिलियन अमेरिकी डलर रहेको छ । यो देशले धेरैजसो ऋण अमेरिकाबाट लिएको छ । जापानका प्रत्येक नागरिकको थाप्लोमाथि ३७,२३० अमेरिकी डलर ऋणको भारी पर्न आउँछ ।
२)क्यानाडा
भूगोलमा संसारको दोस्रो ठूलो देश हो क्यानाडा । ९९,८५,००० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो देशमा ३ करोड ८० लाख मानिसहरुको बसोवास रहेको छ । क्यानाडाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) १.८८३ ट्रिलियन अमेरिकी डलर रहेको छ । सो देशको वैदेशिक ऋण २,४१५.२ बिलियन अमेरिकी डलर रहेको छ । क्यानाडाले आफ्नो कुल कुल ग्राहस्थ उत्पादन (जीडीपी)को १८२.८ प्रतिशत वैदेशिक ऋण लिएर काम चलाएको छ । क्यानाडाका हरेक नागरिकलाई वैदेशिक ऋण प्रतिव्यक्ति ६३,५५७ अमेरिकी डलर रहेको छ । त्यहाँका नागरिकको प्रतिव्यक्ति आय र वैदेशिक ऋण प्रतिव्यक्ति बराबर रहेको छ ।
३) बेलायत
एक समय नेपाल बाहेक पुरै दुनियाँमाथि साम्राज्य कायम गरेर कहिल्यै सूर्य नअस्ताउने देशको रुपमा चिनिएको देश हो बेलायत । दुनियाँमा साम्राज्य कायम गरेर शोषण गरी संसारको स्रोत साधन आफ्नो देशमा थुपारेको ब्रिटिस साम्राज्य अर्थात अहिलेको बेलायत पनि ऋणमै चलेको देश रहेछ । हाल यो देशको भूगोल २,४२,९०० वर्ग किलोमिटरमा रहेको छ, जहाँ ६ करोड ४२ लाख मानिसहरुको बासस्थान रहेको छ
बेलायतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७१० ट्रिलियन अमेरिकी डलर रहेको छ । यो देशको अर्थ व्यवस्थालाई संसारको पाँचौ ठूलो अर्थ व्यवस्थाको रुपमा संसारले बुझ्छ । यो देशको वैदेशिक ऋण ९,८५९ बिलियन अमेरिकी डलर रहेको छ । यो देशले आफ्नो कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ३४५ प्रतिशत वैदेशिक ऋण लिन्छ । कुनै समय संसार नै निल्न लागेको यो देशका हरेक नागरिकको थाप्लोमा अहिले औषत १४४५६० अमेरिकी डलर वैदेशिक ऋण रहेको छ ।
४) अमेरिका
अमेरिका देश पनि व्यापक ऋण लिने देशहरुको सुचीमा देख्दा कसैलाई त आश्चर्य लाग्ने गर्छ तर सत्य कुरा यही हो कि संयुक्त राज्य अमेरिकाले पनि ठूलो वैदेशिक ऋण लिएर काम चलाएको छ । संसारको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा देखिएको अमेरिकाको भूगोल ९३,७२,६१० वर्ग किलोमिटरमा फैलिएको छ ।
अमेरिकामा ३३ करोड ३० लाख भन्दा बढी मानिसहरुको बसोवास रहेको छ । हाल पृथ्वीलाई शासन गर्न खोज्ने सो देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २२.६७५ ट्रिलियन अमेरिकी डलर रहेको छ । यो देशको वैदेशिक ऋण २८.५३ ट्रिलियन अमेरिकी डलर रहेको छ । अमेरिकाको वैदेशिक ऋण उसको कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा ११५ प्रतिशत बढी रहेको छ । अमेरिकाका ३३ करोड ३० लाख नागरिक हरेकको टाउकोमा प्रतिव्यक्ति ८५,६७५ अमेरिकी डलर वैदेशिक ऋण रहेको छ ।
५) चीन
विश्वको उदाउदो आर्थिक व्यवस्थाको रुपमा रहेको चीन भूगोलमा संसारको तेस्रो ठूलो र अर्थ व्यवस्थाको रुपमा दोस्रो ठूलो रहेको छ । ९५,९६,९६१ वर्ग किलोमिटरमा फैलिएको विशाल चीनको जनसंख्या हाल १ अरब ४० करोड २० लाख भन्दा बढी रहेको छ । बीसौं सताब्दीको सबैभन्दा ठूलो किसान क्रान्तिको सफलता पछि उदाएको चीन त्यसयता कहिल्यै पछि फर्किएको छैन । यो देशको अर्थतन्त्रको तुलनामा वैदेशिक ऋण नगन्य रुपमा रहेको छ भने यो देश संसारका धेरै देशहरुलाई ऋण उपलब्ध गराउने देशको रुपमा समेत परिचित छ । तर पनि विकसित देशहरुको वैदेशिक ऋणको कुरा गर्दा चीनको पनि कुरा गर्नुपर्ने भएकोले यहाँ विषयको रुपमा चीनलाई समेटिएको मात्रै हो ।
यो देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) १६.६४२ ट्रिलियन अमेरिकी डलर रहेको छ । यो देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को अनुपातमा वैदेशिक ऋण एकदम कम रहेको छ । तर पनि चीनले आफ्नो वैदेशिक ऋण भएको कुरा कहिल्यै बाहिर सार्वजनिक गर्दैन । यसको वैदेशिक ऋण २५२६.६ विलियन अमेरिकी डलर रहेको बताइन्छ । यसको जीडीपीको अनुपातमा १६.३ प्रतिशत मात्रै वैदेशिक ऋण रहेको छ । प्रत्येक चीनियाँलाई अहिले १,१४० अमेरिकी डलर वैदेशिक ऋण रहेको छ ।