काठमाडौं । अफ्गानिस्तानको दक्षिणी प्रान्त हेलमान्द प्रान्तको राजधानी लश्कर गाहमा तालिबान र सेनाबीच भिडन्त भइरहेको छ । अमेरिका र अफगानिस्तानले हवाई हमला जारी राखे पनि विद्रोहीहरुले निरन्तर आक्रमण गरिरहेका छन् ।
भीडन्तबीच यो सहर तालिबानको पकडमा पुग्ने चिन्ता व्यक्त गर्न थालिएको छ । बीबीसीका अनुसार तालिबानले त्यहाँको टेलिभिजन स्टेसनलाई कब्जामा लिइसकेको छ भने हजारौँ मानिसहरू घर छाडेर भागिरहेका छन् ।
‘सबैतिर भिडन्त भइरहेको छ,’ एक डाक्टरले भने । विद्रोहीलाई सयौँको सङ्ख्यामा थप सुरक्षाकर्मी सो क्षेत्रमा पठाइसकिएको छ । २० वर्ष अफगानिस्तानमा रहेर सैन्य कारबाही गरेको अमेरिकाले आफ्ना सैनिक फिर्ता लगेसँगै तालिबानले देशमा आफ्नो पकड मजबुत बनाउन थालेको छ । लश्कर गाहमा तालिबानले कब्जा जमाउन सके सन् २०१६ पछि सो समूहले पहिलो पटक कुनै प्रान्तीय राजधानीमा नियन्त्रण बनाउनेछ ।
उता, विद्रोही समूहले अफ्गानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा जमाउने प्रयास गरिरहेको छ । आइतबार कान्दाहारको विमानस्थलमा रकेट प्रहार गरिएको थियो । अर्को सहर हेरतमा पनि भिडन्त जारी रहेको छ ।