• मंसिर ११ २०८१, मंगलवार

१२ कक्षाको परिक्षामा सहभागी हुँदै गाउँपालिका उपाध्यक्ष सुनिता कलवार

श्रावण १७ २०७८, आईतवार

काठमाडौँ । यही साउन ३१ गतेबाट कक्षा १२ को वार्षिक परिक्षा सुरु हुँदैछ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार तीन लाख ७५ हजार विद्यार्थी सहभागी हुने माध्यमिक स्तरको अन्तिम परिक्षाको रुपमा रहेको सो कक्षा १२ को वार्षिक परिक्षा सबैको चासोको रुपमा रहेको छ । आमरुपमा यो परिक्षा सबैको चासोको रुपमा छ तर यो परिक्षामा सामेल हुने एक परीक्षार्थी खास रुपमा बढी चर्चामा रहेकी छिन् ।

तिनै ३ लाख ७५ हजार परीक्षार्थीहरुमध्ये सुनिता कलवार एक विशेष परीक्षार्थीको रुपमा अहिले चर्चामा रहेकी छिन् । कलवारले अहिले धारण गरेको सार्वजनिक पदको कारण पनि उनलाई १२ कक्षाको परिक्षार्थीको रुपमा पाउँदा थप चर्चाको विषय भएको हुन सक्छ ।

सामाजिक जिम्मेवारीका हिसावले सुनिता कलवार रुपन्देही जिल्लाको नेपाल भारत सिमाक्षेत्रमा रहेको मर्चवारी गाउँपालिको उपाध्यक्ष हुन् । उनी हाल मात्रै ३१ वर्षकी भएकी छिन् । चार वर्षदेखि सुनिताले गाउँपालिकाको सो उपाध्यक्ष पद सम्हाल्दै आएकी छिन् । १७ वर्षको उमेरमा कपिलवस्तुको सुद्धोधन गाउँपालिकाबाट शिवशंकर कलवारसँग विवाह बन्धनमा बाँधिएर मर्चवारी आएपछि आठकक्षा पास गरेकी सुनिताको पढाई रोकियो ।

मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार
मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार

उनको पुरा ध्यान श्रीमानको घर धान्नुमै करिब ११ वर्ष बित्यो । २ छोरा र २ छोरी गरेर चारवटा सन्तानलाई पनि सुनिताले जन्म दिइन् । समय घरधन्दामै बित्दै थियो । त्यसैबेला देशमा गणतन्त्र व्यवस्था आएर पनि संघीयता लागु भइ स्थानीय निकाएको चुनाव हुने भयो । आफ्ना श्रीमानले काम गरिरहेको राजनैतिक पार्टी जनता समाजवादी पार्टीबाट उनलाई गाउँपालिकाको उपाध्यक्षको चुनावमा उम्मेद्वार हुने प्रस्ताव आयो । उम्मेदवार भएर उनले निर्वाचन जितेर पदको जिम्मेवार सम्हालिन् ।

मनभित्र पढ्ने चाहना लुकाएर बसेकी उनलाई झन् चनाखो हुन अरु पढ्नुपर्ने कुराको बोध भयो । उनको चाहनामा उनका श्रीमान् राजि भए । ९ कक्षा भर्ना भइन् । पढ्दै पढ्दै जाँदा उनी गतवर्ष ११ पास गरेर १२ मा पुगिन् । कक्षा १० पास गरेपछि ११–१२ मा शिक्षाशास्त्र संकायमा स्वास्थ्य तथा शारीरिक मुख्य विषय रोजेर उनले पढिरहेकी छिन् ।

घरमा चार बच्चाकी आमा, घरकी बुहारी, श्रीमानकी श्रीमती, नन्द र देवरहरुकी भाउजु, घर बाहिर आउँदा जनप्रतिनिधि, गाउँपालिकाकी उपाध्यक्ष । उनको घर नजिकैको मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयकी १२ कक्षाकी विद्यार्थी । धेरै स्थानमा फरक फरक परिचय तर मानिस उनै सुनिता कलवार । कामहरुलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? भन्ने गोलमिडियाको जिज्ञासामा सुनिता भन्छिन,‘जनताले जिम्मा दिएको काम गर्नै पर्यो अनि घर पनि आफूले जिम्मा लिएको हो सम्हाल्नै पर्यो, फेरि आफ्नो पढ्ने चाहना हो त्यो पनि मिलाउनै पर्यो,’ उनले भनिन्,‘जसरी पनि गर्नै पर्यो ।’

मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार
मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार

श्रीमान, सासु, ससुरा लगायत परिवारका सबैले आफूलाई सहयोग गरेर सबै काममा हौसला दिइरहेको बताउने सुनिता छोराछोरी सानाहुँदा अलि अप्ठेरो हुने गरेको भएपनि छोरा छोरी ठूलाहुँदै जाँदा आफूलाई विस्तारै सबै काममा सजिलो हुँदै गएको बताउछिन् । गाउँपालिकाको कार्यालय आउदा उनका श्रीमान शिवशंकर कलवारलेसँगै लिएर आउन् । उनी कार्यालय पुगेपछि शिवशंकर आफ्नो व्यापार सम्हाल्न जान्छन् । आफ्नो गाउँपालिकाको उपाध्यक्षलाई पढाउन पाउँदा जनता माध्यमिक विद्यालयका शिक्षकहरु पनि खुशी भएको उनको बुझाई रहेको छ ।

एउटी महिलाले पनि इच्छाशक्ति भएको र चाहेको खण्डमा धेरै काम एकैसाथ गर्न सक्छिन् भन्ने उदाहरणको नमुना नै हुन् सुनिता । घर व्यवहार धान्नु, चार चार जना छोराछोरीहरुको स्याहार गर्नु, पढाईलाई निरन्तरता दिनु र गाउँपालिकाको उपाध्यक्षको काम सम्पन्न गर्नु सानो कुरा होइन । समय परस्थितिको व्यवस्थापन गर्न सक्ने मानिसले मात्रै यो काम गर्नसक्छ ।

विहेपछि जोडेका कक्षाहरुमा उनी कहिल्यै फेल नभएर अगाडी बढेकी छिन। १२ पास गरेपछि स्नातकको पढाइलाई पनि निरन्तरता दिने अठोट सहित परिक्षामा सामेल हुन लागेकी सुनितालाई सो परिक्षाको सफलताको कामना।