शुक्रबार दार्चुलाका जयसिंह धामी नदी पार गर्दैगर्दा भारतीय एसएसबी फोर्सले तुइन खुकुलो पारिदिएपछि महाकाली नदीमा बेपत्ता भए । ३५ वर्षीय धामी रोजगारीका लागि भिसा लागेको खबर आएपछि सदरमुकाम खलंगातिर हिँडेका थिए । खबर पाएपछि हतारमा सदरमुकाम पुगेर रोजगारी पाएको विदेशमा पुग्नु थियो । यो उनका लागि हताहतार छोप्नुपर्ने अवसर पनि थियो ।
तर तुइन हालिएको ठाउँमा वरपर गरिरहेको भारतीय एस्एस्बी फोर्सले धामी तुइनमा चढ्ने बित्तिकै तुइनको लहरा फुस्काइदियो । तुइनको लहरा कर्णालीको बेगिदो धारमा पर्न गयो । क्षणभरमै धामी कर्णालीको उर्लिंदो भेलमा बेपत्ता भए । उनीभन्दा अगाडि चारपाँचजना मानिस पनि त्यहि तुइनबाट तरिसकेका थिए ।
हातमा ह्याक्सब्लेड लिएका एसएसबी जवानहरुले यो कर्तुत गरेका थिए । त्यति बेला पल्लो किनारमा भर्खरै तुइन तरेका नेपाली पनि साक्षी छन् । वल्लो किनारमा त तुइन सञ्चालक कल्याणसिंह धामीसहित धेरै नेपालीहरु छन् । उक्त अमानवीय तथा क्रुर घटनाको पृष्ठभूमि यत्ति हो ।
तर निर्दोष नेपालीहरु भारतीय एसएसबी फोर्सको अमानवीय कर्तव्यको सिकार हुँदा राज्य ‘चुँ’ गरेर पनि नबोल्नुका पछाडि केके कुराले काम गरिरहेका छन् । के नेपाल सरकार आफ्ना नागरिकप्रति जवाफदेहिता गुमाएर हैसियतविहीन बनेर रहेको अवस्था हो ? के नेपालले आफ्नो हैसिसयत गुमाएको हो ?
बाटो हिंडिरहेको, तुइन तरिरहेको, बस चढिरहेको, फोन गरिरहेको, खाना खाइरहेको, जंगलमा काठदाउरा संकलन गरिरहेको नेपाली पटकैपटक पशुपंक्षी झैं भारतीय एसएसबी फोर्सको सिकार हुन जान्छ किन ? यो हैसियत विहीनताको अवस्थामा सिर्जना कसले गरिरहेको छ ? जनताको तहबाट राष्ट्रिय गौरवमा आँच आउने कुरा त हुन गएका छैनन् । तर भैरहेको छ कहाँबाट ? यो कुरालाई गम्भीरताका साथ लिइनु पर्छ ।