• फाल्गुन २७ २०८२, बुधबार

एमालेको स्थायी कमिटी बैठक स्थगित,एकताका लागि प्रयास जारी

श्रावण १६ २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

आज भएको बैठकमा नेता सुवास नेम्वाङले पार्टी एकताका बारेमा भइरहेका प्रयासका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

बैठकपछि नेता नेम्वाङले भने, ‘स्थायी कमिटीको बैठकमा अहिलेको पार्टीको एकताको सन्दर्भमा भइरहेका प्रयासहरुको बारेमा मैले जानकारी गराएँ । आज मात्रै पनि हामीले यससम्बन्धी छलफल अघि बढाएको र यसैको आधारमा पार्टीलाई एकताबद्ध बनाउन प्रयास अगाडि बढाइएको मैले जानकारी गराएँ । त्यसपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ ।’

आजको बैठकमा अरु कुनै पनि एजेण्डामाथि छलफल नभएको नेता नेम्वाङले जानकारी दिए । उनले पार्टी एकता जोगाउनका लागि शनिबार समेत विघटित कार्य दलमा रहेका स्थायी कमिटी सदस्यहरुका बीचमा छलफल भएको र पार्टी एकता जोगाउन निरन्तर छलफल गरिरहेको बताए ।

शनिबार बिहान सिंहदरबारमा कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो । त्यसपछि उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेको नेता नेम्वाङले जानकारी दिए । उनले भने, ‘आजको लागि अरु विषयमा प्रवेश नगरी स्थगित गरिएको छ । पार्टी एकताको सन्दर्भमा हामी निरन्तर लागिरहेका छौँ । प्रयासहरु अघि बढाएका छौँ । आजै बिहान पनि सिंहदरबारमा बस्यौँ । हिजो कार्यदलमा रहेका स्थायी कमिटीका केही साथीहरु बसेर छलफल गरेका थियौँ । पार्टी एकतालाई कसरी ठोस निष्कर्षमा पुर्‍याउने लगायतका बारेमा छलफल गरेका थियौँ ।’

पार्टीलाई एकताबद्ध गर्न निरन्तर छलफल गरिरहेको भन्दै उनले भने, ‘भीम रावल लगायतका नेताहरु माधवकुमार नेपालसँग कुरा गर्नका लागि त्यता लाग्नुभएको छ । अहिले पनि नथाकिकन पार्टीलाई एकताबद्ध बनाउन लागिरहेका छौँ ।’