काठमाडौँ। नेकपा एकालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय देशमा राजनीतिक तथा संवैधानिक संकटका सन्दर्भमा बोल्दै देशको हितमाथी कुठराघात गर्नेलाई छुट दिन नसकिने बताएका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा शनिबार आयोजित अखिल फोर्स बृहत् भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले सर्वाेच्च अदालतले संविधान र संसदको रक्षा गरेको बताए ।
घमण्डले मान्छेलाई सिध्याउने उदाहरण दिँदै नेता नेपालले राम्रो अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।
उनले सत्य र आदर्शलाई नै आत्मसात् गर्दे कसैबाट तर्सेर र मैदानबाट भाग्नुपर्ने आवश्यकता नभएको बताए । नेता नेपालले गलत कामको सामना गर्नुपर्ने र सहि तरिकाबाट आफूहरु अघि बढ्नुपर्ने धारणा राखे ।
अहिलेको अवस्थामा एमाले जबजको सिद्धान्तबाट निरंकुश प्रवृत्तिलाई निरुपण गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा सबै नागरिकलाई कोरोनाविरुद्दको खोप उपलब्धताका लागि उनले ध्यानाकर्षण गराएका छन् ।
त्यसैगरी महाकाली नदीमा भएको अमानवीय घटनाको छानबिन नेपाल र भारत दुवै सरकारले गर्नुपर्ने पनि नेता नेपालले माग गरे ।