• असार २२ २०८१, शुक्रबार

आफन्तको घर चिन्न गाह्रो भो ? चिन्ता नलिनुस्, ‘अब घोराहीका घरघरै नेम प्लेट’

श्रावण १६ २०७८, शनिबार

घोराही, १६ साउन ।
सेता अक्षरले घर मालिकको नाम लेखिएका निला प्लेटहरु घोराही १४ का घरघरै देखिने गर्छन् । त्यसमा टोल विकास संस्थाको नाम, घर नम्बर, र सम्वन्धित वडानम्बर पनि लेखिएको छ । वडाअध्यक्ष शक्तिराम डाँगी नेतृत्वको टोली आएपछि वडाव्यापी यो व्यवस्था मिलएको हो ।
घर बाहिर नाम प्लेट राख्ने व्यवस्थाले घर चिन्न सजिलो बनाएको वडावासीको भनाई छ । पाहुनाहरुले सजिलै देख्ने गरी टिनको पातामा लेखिएका नेम प्लेडहरु राखिएको छ । घर पस्न झुक्किने अवस्था छैन ।

‘सबैको घरमा टाँस्ने व्यवस्था मिलाएका छौँ’ वडाअध्यक्ष शक्तिराम डाँगीले भन्नुभयो, ‘नयाँ मान्छे हराउने अवस्था छैन ।’ उहाँका अनुसार नागरिकलाई सजिलो होस् भन्नका लागि प्लेट राखिएको हो । सबै टोलहरुले गेटमा, मुल ढोकामा नाम प्लेट राख्नुभएको छ । त्यसले घर चिन्न सजिलो बनाएको छ ।

शहरमा उस्तै उस्तै प्रकृतिका घर हुन्छन् । मिल्दाजुल्दा गल्ली र बाटाहरु छन् । नयाँ मानिसहरु घर चिन्न नसकेर झुकिन्छन् । एउटा घरमा पस्न खोजेको अर्कोको गेटभित्र छिर्ने खतरा रहन्छ । त्यसरी दुःख नपाउन र अलमल नपस्न भनेर घर नम्बर राखिएको वडा कार्यालयको भनाई छ । त्यहि नाम प्लेटको फोटो खिचेर खोज्दै हिँड्यो भने कसैलाई नसोधि टुप्लुक्क पुग्न सक्छ ।

यसैगरी चोरी तथा अन्य घटना हुँदा पनि सिसि क्यामेराले घर नम्बर कैद गर्न सक्ने भएकाले पनि सहयोगी हुने अध्यक्ष डाँगीले बताउनुभयो । उहाँका अनुसार घर पहिचानमा सहयोग दिन्छ । प्रहरीलाई घटना स्थलमा पुग्न सजिलो हुन्छ । अपराध गरेको ठाउँलाई नियन्त्रण गर्न सहयोग मिल्छ । कुनै कार्यक्रम लिएर घर खोज्दै जानेहरुलाई फाइदा पुग्छ । सबै भन्दा धेरै फाइदा पाहुनालाई हुन्छ । त्यहि घर नम्बर र नाम हेर्दे खोज्छ । आफू जान खोजेको घरमा पुग्छ ।

यसले वडामा एकरुपता देखाएको छ । अपरिचितलाई सजिलो बनाएको छ । वडा सरकार सकृय रहेको सन्देश दिएको छ । नागरिकलाई सजिलो बनाउने तर्फ ध्यान दिएको छ भन्ने प्रमाण बनेको छ ।