काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको बताएका हुन् ।
उनले भने, ‘माधव नेपालजस्ता आन्दोलन विरोधीहरु जस्तालाई कुनै पनि ठाउँ छैन । आफ्नो पार्टीको अध्यक्ष र प्राधनमन्त्रीले विश्वासको मत माग्दा २२ जना सांसद बाहिर लिएर जाने तर, दक्षिणपन्थी सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’
पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।