• मंसिर १२ २०८१, बुधबार

एमसीसी, ओलीको बहिर्गमन र देउवाको आगमन

श्रावण १५ २०७८, शुक्रबार

भनिन्छ, समय बलवान हुन्छ, त्यो त्यही समय हो जसले ताज पनि पहिराउँछ र जुत्ताको माला पनि । समयको माग अनुसार जसले आफूलाई ढाल्न सक्छ र सहि समयको अवसरलाई सदुपयोग गर्नेहरु नै लाग्छ इतिहासमा महान कहलिन्छ्न । जसले इतिहास रच्ने अवसर प्राप्त गर्दा पनि समयको अवसरको दुरुपयोग गर्नेहरु वास्तवमा कलंकित सावित हुँदा रहेछन् ।

वर्तमान नेपाली राजनीतिमा इतिहास निर्माण गर्ने अवसर प्राप्त इतिहासकै ठूलो कम्युनिष्ट पार्टीका सुप्रिमो लगभग दुइतिहाई जनमत सहितको प्रधानमन्त्रीका रुपमा रहेका केपी ओलीको पछिल्लो राजनीतिक बहिर्गमनको यात्रालाई आज चौतर्फी कलंकको रुपमा चित्रण गरिएको छ । लामो राजनीतिक अस्थिरताले आजित नेपाली जनताले विकास, समृद्धि र राजनीतिक स्थायित्वको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताको म्यान्डेटलाई मत दिएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न यो एउटा सुनौलो अवसरका रुपमा देखिन गयो ।

तर यो कम्युनिष्ट एकता, दुईतिहाईको जनमत आज क्षतविक्षत भएको छ । न त इतिहासको ठूलो कम्युनिष्ट पार्टी नै बाँकि छ, न त दुई तिहाईको जनमत । जसको सम्पूर्ण दोष शक्ति उन्मादमा मात्तिदै तानाशाह प्रवृत्ति लाद्न खोज्ने त्यो अहँकारी शासक भन्दै केपी शर्मा ओलीलाई दोषारोपण गरिरहेका पाउँछौ । सामान्यतया पुस ५ गते पहिलोचोटि संविधानका कुनै पनि धारामा निर्दिष्ट नरही जुन जनमतको अपमान गर्दै पहिलोचोटि प्रतिनिधिसभा विघटन गरिदिएपछि लोकतान्त्रिक व्यवस्थामा केपी युगको सुरुआत भएको भन्दै उक्त कदमलाई प्रतिगमनको संज्ञा दिदै चौतर्फी विरोधी मोर्चाबन्दीको सुरुआत देखियो ।

तर पुस ५ गतेको त्यो प्रतिनिधि सभा बिघटनको त्यो कदमलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको पुनःस्थापना गरिदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताको म्यान्डेटले बनेको नेपाल कम्युनिस्ट पार्टीलाई बदर गरिदिएर उही पुरानै पार्टीगत संरचनामा फर्काइदिएपछि लामो राजनीतिक अस्थिरताबाट रुमलिएको मुलुक फेरि उहि पुरानै दिशामा पुग्यो । नेपाल कम्यूनिष्ट पार्टी एमालेमा चरम विवादले प्रश्रय पाउन थाल्यो । उही पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षधर पार्टी निर्णय, विधान अनि पार्टी हितविपरीत गतिविधि गर्दै आफ्नै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको पदबाट हटाउन अनि केपी शर्मा ओलीलाई राजनीतिक बहिर्गमन गराउनका लागि कयौं विपक्षी दलसँग मोर्चाबन्दीमा व्यस्त देखिए ।

यिनै कारणका कारण केपीमा झन सत्ता मोह, अहंकार तीब्र बढ्दै गयो र त्यही सत्ता मोहका कारण पुनःस्थापित प्रतिनिधिसभालाई फेरि दोस्रो चोटी बिघटन गराएर ताजा जनादेशका लागि अपिल गर्नुभयो । जुन कदमको चौतर्फी विरोध भयो र माधव नेपाल पक्षका २६ माननिय सहित कांग्रेस, माओवादी केन्द्र र जसपा (उपेन्द्र यादव समूह )सहित लिखित हस्ताक्षरसहित स्वयं उपस्थिति अदालतमा भएर संविधानको धारा ७६ ( ५) का आधारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्ति गरियोस र प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई बदर गरियोस् भन्दै निवेदन पेश गराए करिब करिब १४३ जना माननीयको उपस्थितिमा ।

आन्तरिक कारण कयौ होलान् तर प्रधानमन्त्रीको दुईतिहाई सहितको बालुवाटारको त्यो बाहुबलि इन्ट्रिदेखि त्यो दुईतिहाईको सडक यात्राका पछाडीको सतही कारण यही देखिन्छन् । संविधानको कुनै पनि धारामा नरहेका धारा अनि त्यो संवैधानिक क्षेत्रअधिकार बाहिर गएर गरिएको प्रधानमन्त्रीको पहिलो हुँदै दोस्रो चोटीको प्रतिनिधि सभा विघटनको त्यो कदम यदि छातीमा हात राखेर नै भन्ने हो भने लाग्छ, स्वयं केपी शर्मा ओलीलाई मैले यो कदम गलत गरेँ भनेर ।

पहिलो चोटिको प्रतिनिधि सभा बिघटनपछि पुनस्थापित भएको प्रतिनिधिसभाको त्यो परिदृश्यबाट पनि दोस्रो चोटी प्रतिनिधिसभा विघटन गर्नु अघि प्रधानमन्त्रीले पक्कै केही न केही हेक्का राखेकै होलान । नेपालीमा एउटा उखान छ नि ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ’ । किन प्रधानमन्त्रीको हकमा यस्तो भएन किन प्रधानमन्त्री ओलीले दोस्रोचोटिको प्रतिनिधि सभा बिघटनको त्यो यात्रालाई रोज्नु अगाडि पहिलाको विघटनलाई समीक्षा गरेनन् ? के दोस्रोचोटिको प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा बिघटन के मात्र व्यक्ति अहंकार, सत्ता उन्माद मात्र थियो र ? एक प्रश्न ।

इतिहासमा नै प्रधानमन्त्री परमादेशबाट भएको घटना नभएको अवस्थामा नेपालमा भने २८ घण्टा सहितको परमादेशबाट प्रधानमन्त्री नियुक्ति गरिनु पर्ने त्यो विश्वमा कहिँकतै नभएको अभ्यास नेपालमा नै किन भयो ? सर्वोच्च अदालतलाई प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार संसदलाई हुने कुराको सामान्य ज्ञान पनि थिएन होला र ? यथावत कारणका पछाडि कारण के केपी प्रवृत्ति मात्र पक्कै होइन । नेपालको सानोदेखि ठूलठूला राजनीतिक परिवर्तनका पछाडि विदेशी शक्तिको चलखेल र षड्यन्त्रले अहम भूमिका निर्वाह गर्ने त्यो सत्यबाट हामी कदापि पन्छिन सक्दैनौ । चलखेल र षड्यन्त्रको सिकारबाट नेपालबाट राजसस्था पाखा लगाइयो । नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मालम्बीहरु भएको मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्दै सानो मुलुकलाई पनि संघीयताको गोलचक्रमा पुर्याइयो । कारण यसका फाइदा तथा बेफाइदा कयौं होलान् त्यो बहसका पाटा हुनसक्छन् ।

तर प्रश्न एजेण्डा कसको र किन भन्ने नै प्रदान देखिन्छ । बाहिरबाट हेर्दा प्रतिनिधिसभा विघटन प्रतिगमन अल्पमतमा परेको देखिन्छ । सत्ता परिवर्तनमा यस्ता सतही कारण पक्कै हुनै सक्दैनन् । प्रतिगमनको हार र अग्रगमनको जितका माध्यमबाट विष्लेषण गर्नु भनेको जालीको कपडा लगाएर आफ्नो शरीरको लाज छोपेको छु भनेर भ्रममा पर्नु जतिकै हो । मुलुकमा राजसस्था जीवितै रहँदा प्रत्यक्ष रुपमा विदेशी चलखेल नदेखिएता पनि मुलुकको यथावत परिवर्तनमा कहिँ न कतै अप्रत्यक्षरुपमा विदेशीहरूको चलखेल रहेको पाइन्थ्यो । २०६२÷६३ यता जब राजसस्थाको समाप्ति पश्च्यात मुलुकको सम्पूर्ण राजनीतिक, आर्थिक अनि सामाजिक परिवर्तनको रिमोट विदेशीको हातमा रहेको पाइन्छ ।

तत्पश्चात् विदेशीहरुले मुलुकमा खुलेर हस्तक्षेप गर्न थाले । हिजो केही मात्रामा उत्तर र दक्षिणको मात्र हस्तक्षेप देखिन्थ्यो । आज विश्वका सानादेखि ठूला शक्तिहरुले नेपालमा खुलेर हस्तक्षेप गरि रहेका कयौं घटनाहरू हामी देख्न सक्छौँ । हिजो कम्युनिष्ट भन्नेबित्तिकै उत्तरबाट प्रशिक्षित जसले उत्तर केन्द्रित अवधारणामा आफूलाई केन्द्रीकृत गराएका हुन्छन् भन्ने सामान्य बुझाई थियो ।

दक्षिण भनेर आफूलाई प्रजातान्त्रिक मोडलका रुपमा केन्द्रित गराउने शक्तिलाई लिइन्थ्यो । तर आज के उत्तर के दक्षिण सम्पूर्ण पार्टीमा सबैको प्रभाव अनि दबाब पाउछौ । मुलुक विदेशीहरूको चंगुलमा यसरी नाच्छ कि यहाँ रातारात कसैलाई राष्ट्रबादी बनाइन्छ भने कोही कसैले राष्ट्रघाती । २०१५ सालतिर नेपालको नक्शामा रहेको ती लिपुलेख, लिम्पियाधुरा, कालापानी एक्कासी नेपालको नक्शाबाट हराउँछ अनि हराएको ७ दशकपछि नक्साका विषयमा लालमोहररुपी उभिन्छन् एक पात्र केपी शर्मा ओली र फेरि बनाइन्छ रातारात उनलाई राष्ट्रवादी नेता ।

राष्ट्रियताको विषय मजाकको विषय पक्कै होइन । राष्ट्रिय अखण्डताको विषयमा बोलिसकेपछि बरु शीर काट्टियोस् त्यो विषयबाट पछि हट्नु भनेको राष्ट्रियतालाई कमजोर बनाउने अभियानले गरिएको भन्ने बुझिन्छ । हामीमा पक्कै चेतना भएको कुरा हो रातारात चुच्चे नक्सा जारी गरिएको त्यो नक्सालाई कार्यान्वयन नगराउनको लागि विदेशी डेलिगेसनको अगाडी निर लज्जाका साथ उभिएको त्यो हाम्रो नेतृत्वको चरित्रलाई हामी कदापि भुल्न सक्ने छैनौ । खयर त्यो साहस लिपियाधुरा, लिपुलेख अनि कालापानी हाम्रो हो भन्नसक्नु चाहिँ महान् हो । तर महानताको गहिराइमा पुग्दा वास्तवमा नै नतमस्तक प्रमाणित भएको पाउँछौं हाम्रो पटकपटकका नेतृत्वहरु । नेपालजस्तो भू–राजनीतिले असर अनि प्रभाव पार्ने मुलुकमा यस्ता कुरा सामान्य नै मान्नुपर्छ ।

हिजो रातारात अग्रगमनका पक्षधर देशभक्त अनि राष्ट्रवादी नेता केपी शर्मा ओली कसरी अग्रगमन विरोधी भए किन रातारात उनका सम्पूर्ण कदम प्रतिगामी कदम हुन गए । जसको सुक्ष्म विश्लेषण नेपालको बदलिँदो राजनीतिक र भविष्यसँग जोडिएको हामी पाउँछौ । लाग्छ यसरी शान र मानका साथ रहेका नेपाली मनमस्तिष्कका सामु राष्ट्रवादी नेता भनेर चिनिएका केपी शर्मा ओलीको राजनीतिक बहिर्गमनको यात्रा लाग्छ हिजोको त्यो मान सम्मान दिलाउने पात्रबाटै आज एकपछि अर्को गर्दै सिध्याइँदै छ ।

लाग्छ, एकताका इतिहासकै शक्तिशाली बनाइएको त्यो पात्रलाई इतिहासकै कमजोर बनाएर खरानीमा परिणत गराउने लक्ष्यमा रहेको देखिन्छ । यस्तो हुनुमा पनि कुनै सङ्खा देखिन स्वचालित भएका भए पो कल्पना मिथ्या सावित हुन्थ्यो । अरुबाट इतिहासका कालखण्डदेखि निर्देशित र परिचालित जतिखेर पनि दुर्घटना पर्ने त्यो आकलन मात्र त्यो परिचालित गर्नेलाई मात्र थाहा हुन्छ । जसको पात्र आज केपी शर्मा ओली देखिए जुन सतही नै किन नहोस्, तर वास्तविकता हो । ओलीलाई रातारात नायक बनाएर ल्याउनेबाट रातारात खलनायकको बिल्ला भिराउनुलाई तमाम बुद्धिजीवी सर्कलहरुले गम्भीरताका साथ लिएका छन् । पछिल्लो समय एम्सीसी, धर्मनिरपेक्ष र संघीयताको विषय नै ओली सरकारको बहिर्गमनसँग अन्तरसम्बन्धित देखिन्छ ।

प्रतिनिधिसभाबाट एमसीसी पास हुने सम्भावना नदेखेपछि, ओलीबाट कहीँकतैबाट निर्देशित तवरमा नै त्यसको विघटन गरिएको र अध्यादेशबाट एमसीसी अनुमोदन गर्ने पूर्वतयारीको डिजाइन पनि हुन सक्छ । एमसीसी पास गर्ने विषयमा लगभग शीर्षस्थ नेतृत्वहरु सबै एकैठाउँमा छन् । नेतृत्वबाट पनि सबैभन्दा उपयुक्त पात्रका रुपमा केपी शर्मा ओलीलाई चयन गरिएको थियो । जसको परिणाम रातारात ओलिलाई दिलाइदिएको राष्ट्रवादी छविसँग अन्तरसम्बन्धित देखिन्छ । जब ओली सरकारको पहलमा अर्थ मन्त्रालयको डेलिगेसनले अमेरिका गएर हामी संसदबाट एमसीसी पास गर्न सक्दैनौ भनेर विश्वास गराएका घटनादेखि पछि फेरि अर्थमन्त्री युवराज खतिवडाले हामी जसरी भएपनि पास गराउँछु भनेर चिठी लेख्नु कहीँ न कही ओलीको बहिर्गमनको यात्रासँग जोडिएको छ ।

पछिल्लो समय अमेरिकाका राजदूतका रुपमा पूर्व अर्थमन्त्री युवराज खतिवडालाई नियुक्ति जस्ता कुरा सामान्यतया एमसीसी प्रकरणसँग अन्तरसम्बन्धित गरिराखेको हामी पाउँछौ । वास्तवमा भन्नुपर्दा एमसीसीको पछिल्लो समयमा चर्को दबावका कारण अप्राकृतिक भए तापनि पहिलो हुँदै दोस्रोचोटि संसद बिघटनको बाटो अपनाउनु पर्ने ओलीका लागि बाध्यात्मक रहेको हुनसक्छ । जुन उद्देश्य र कारणका साथ प्रयोग गरिएको पात्रबाट अमेरिकाको एमसीसीको उद्देश्य प्राप्तिको सम्भावनामा पटक–पटक सम्भावनाको मार्गमा कमी देखापरेका कारण ओलीको बहिर्गमनसँगै अर्को पात्रको क्याबिनेटमा आगमनले सजिलो पार्छ भनेर यो अप्राकृतिक परिवर्तन र अप्राकृतिक समीकरणको अन्तर्मनको कारण पनि हुन सक्छ । कताकता ओलीबाट एमसीसीका विषयमा, त्यसलाई पास गर्नका लागि असफल भएका कारण देउवालाई प्रधानमन्त्रीको रुपमा ल्याएको पनि बुझाइरहेको पाउँछौँ ।

माधव नेपाल र ओलीको इगोका कारणको प्रतिगमन र अग्रगमन भन्ने विषय वास्तवमा बाहिर देखिएको सतही मात्र हो । इगो नै प्रदान थियो थियो भने दोस्रो चोटीको प्रतिनिधिसभा बिघटनलाई सर्वोच्चले पुनःस्थापना गरिसकेपछि प्रधानमन्त्रीका रुपमा परमादेश पाएका शेरबहादुर देउबाले विश्वासको मत माधवबाट कदापि प्राप्त गर्दैन थिए । तर यहाँ माधव नेपालबाट देउवाले विश्वासको मत प्राप्त गर्नु सामान्य विषय पक्कै छैन ।
चरम इगो नै प्रधान कदापि हुन सक्दैन । हिजो तत्कालीन सभामुख कृष्णबहादुर महरा पनि एमसीसी विरोधी देखिएका थिए । जसका कारण एमसीसी संसदमा टेवल हुन सक्ने सम्भावना महरा हुनझेल सम्भावना नदेखिएका कारण महरा घटनालाई एम्सीसीसँग जोडेर पनि कैयौं विश्लेषकहरुले पनि हेरी रहेका तत्कालीन घटनाबाट हामी अनभिज्ञ कदापि छैनौँ । हिजो एक्कासी राम नेपालमा जन्मेका हुन् भन्दै रामको मन्दिर निर्माण गर्न पैसा खनाएका मान्छेलाई एक्कासी कुर्सी छोड्न बाध्य बनाइयो ।

यथावत घटना हेर्दाखेरि सबै यसै भएका पक्कै देखिन्न । चौतर्फी दबाबबाट पिल्सिएको ओलीबाट आफ्नो निकट र विश्वासिला पात्रबाट एक्कासी धर्मनिरपेक्षता र संघीयताको विषयमा पुर्नविचार गर्नु पर्ने हो कि ? भन्दै फालिएको पासा पनि आम जनतामाझ लोकप्रियताको लागि र सरकार छोड्दा कयौं विरोध देखा पर्नाका लागि प्रयोग गरिएको अन्तिम ब्रह्मास्त्र थियो । तर त्यो ब्रह्मास्त्रले कतै ओलीलाई लोकप्रियताको चरममा त पुर्याउने होइन भन्ने तमाम बाहिरिया नीतिका बुझाइका कारण सोचेभन्दा चाँडै ओली सरकार बाहिरिनुको कारणसँग जोड्न सकिन्छ ।

सरसर्ती बुझ्दा पछिल्लो नेपालको राजनीतिक घटना क्रममा जेजस्ता ध्रुवीकरण देखिएका छन् । वास्तवमा ती तमाम एम्सीसी लक्षित मात्र देखिन्छ । केपीको दुईतिहाईदेखि सडकको यात्रामा तमाम सतही जे देखिएता पनि भित्री एमसीसी प्रदान देखिएको हामी पाउँछौ । अक्सर नेपालको राजनीतिक इतिहासमा यसरी शीर्ष दलका नेताहरु एकै ठाउँमा एउटै विषयका लागि सहिछाप गरिएको विरलै भेटिने घटना हो । जुन एमसीसीका नाउँमा भटिएका छन् ।

सामान्यतया बुझाई एमसीसी अमेरिकाबाट प्रदान गरिने सहयोग हो, वास्तवमा उक्त सहयोग अत्याधिक रकम पनि होइन । सामान्य बुझाइले पनि यदि नेपाल सरकारले सामान्यतया एक वर्षको भ्रष्टाचार नियन्त्रण गर्ने हो भने उक्त सहयोग बराबरको दोब्बर रकम जम्मा हुनेमा कुनै शंका छैन । यो सहयोग लिने हो भने ‘इट्स् ओके’, नलिने हो भने फिर्ता । सामान्यतया सहयोगको अवधारणा यस्तै हुन्छ त किन त्यो पास गराउन दिनरात अमेरिकनदेखि बाहिरी शक्तिको कसरत ? एक प्रश्न ।

त्यसैले ओलीको बहिर्गमन र देउबाको आगमनले नेपाल र नेपाली केन्द्रित त बहाना मात्र हो मात्र एमसिसी पास गराउन असफल एकलाई बहिर्गमन गराएर अर्को असफलबाट पास गराउने डिजाइनमा आगमन गराइएको देखिन्छ देउवा सरकार । सम्भवतः चुनाव अगावै एमसीसी पास गरिने सम्भावना व्याप्त देखिन्छ । यी सरकारबाट एमसीसी पास गर्ने सम्भावना भएकै कारण भीम रावल र अमरेश सिंहको राजीनामा प्रकरण पनि कहीँ कतै अन्तरसम्बन्धित देखिन्छ । त्यसैले केपी ओलीको बहिर्गमन र देउवाको आगमन भित्रको वास्तविक रहस्य मात्र एमसीसी देखिन्छ । एमसीसी केन्द्रित बनेका वर्तमान सरकार र चाहे त्यो ओली सरकारबीच प्रतिगमन र अग्रगमनको नारा त्यो वस्तविकतामा सतही कारणमात्र हो ।

जसको साथ र सहयोगका लागि अदालत पनि कहीँ कतै मुछिएको हो कि भन्ने कयौं राजनीतिज्ञको बुझाइसम्म रहेको छ । कसैको बहिर्गमन र कसैको आगमनले खासै अर्थ राखेको देखिएको पक्कै छैन । देश र जनताप्रति जवाफदेहीताका लागि हो भन्नु मात्र भ्रम हुनेछ ।
वास्तवमा विदेशी सम्प्रभु स्वार्थका नाउँमा रहेको एउटा कठपुतली सरकारको ठाउँमा अर्को कठपुतली सरकार मात्र आएको देखिन्छ ।