काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको हो।
मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेको जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताइन् ।
चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनु परेको उल्लेख गर्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गरेकी छिन् ।
चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गर्दै नेपालको विकासमा चीनले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी छिन् । आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरेकी छिन् ।
चिनियाँ पावर कन्स्ट्रक्सन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशुली थ्रि ‘ए’लगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।