• मंसिर ८ २०८१, शनिबार

नेपाली आकाशमा आफ्नै ‘क्वान्टम’ रकेट

श्रावण १५ २०७८, शुक्रबार

काठमाडौं । नेपाली विद्यार्थीले बनाएको ‘क्वान्टम’ रकेटको परीक्षण सफल भएको छ । यो रकेटले नेपाली आकाशमा २.१ किलोमिटरको दुरी पार गरेर आफ्नो परीक्षणको सफलता चुमेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीले बनाएको रकेटको ‘सुपर सोनिक टेस्ट’ का क्रममा यसलाई जमिनबाट आकाशमा पठाइएको हो ।

काठमाडौंको थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा यो रकेट उडान परीक्षण गरिएको हो । पाँचौ पटकको प्रयास सफल भएपछि क्वान्टम रकेटले नेपाली आकाशमा उडान भर्न सकेको हो ।

निर्माण टिमका प्रमुख मोहन तामाङकै शब्दमा यो ‘म्याक–२ स्पिड हो ।’ सफलता हात लागेपछि यो टिम अहिले निकै उत्साहित छ । सुपर सोनिक टेस्ट प्रक्षेपणसँगै क्वान्टम रकेट ८७८ मिटर प्रतिसेकेन्डको रफ्तारमा आकाशमा उडान भर्न सफल भएको थियो ।

प्रक्षेपित क्वान्टम रकेटको उचाइ ६.१ फिट रहेको छ । यसको तौल ९ किलो रहेको छ । सफलतापूर्वक उडान भरेको यो रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिडलाई इन्धनको रुपमा प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको कूल फ्यूलको तौल १.२ केजी रहेको छ ।

जमिनबाट आकाशमा उडान भर्दा उडान भर्ने रकेटको तौलअनुसार लाग्ने गुरुत्वबलबाट उछिट्टिएर आकाशतिर जाने बढी बलशाली उर्जा उत्पादन हुनुपर्छ । प्रक्षेपित क्वान्टम रकेट उडानका क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिइएको थियो । जब कि उडान भर्नका लागि न्यूनतम ९ सय न्यूटन थ्रस्ट आवश्यक पर्ने टिम प्रमुख तामाङको भनाइ रहेको छ ।

प्रक्षेपित रकेट २.१ किलोमिटर माथि आकाशमा पुगेको थियो । यसलाई प्यारास्युटको मद्दतबाट जमिनमा अवतरण गराइएको थियो । निर्माण टिमका अनुसार प्यारासुट रिकभरिका लागि मात्र प्रयोग गरिएको थियो । अवतरित रकेटलाई फेरि उडाउन सकियोस् भनेर यसो गरिएको हो । रकेट निर्माणमा फाइबर ग्लास प्रयोग गरिएको छ । रकेटमा विभिन्न सेन्सरको प्रयोग गरिएको छ ।

रकेट निर्माणकर्ता टिममा आवद्ध विद्यार्थीहरु काठमाडौं विश्वविद्यालय, थापाथली इन्जिनियरिङ क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, अक्सफोर्ड इन्जिनियरिङ कलेज र कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङमा आबद्ध छन् ।