नेपालको राजनीतिक यात्रा अब ‘वाम’बाट ‘डेमोक्र्याट’तर्फ सर्दै गएको छ । ओली सरकारको ‘अन्त्य’ र देउवा सरकारको ‘उदय’ आफैमा क्रान्ति वा महापरिवर्तन त होइन, त्योसँगै यो ‘पश्चगमन’ र ‘कु’ पनि होइन । यो सामान्य सरकार परिवर्तन हो, नेपाली आँखामा ।
तर विदेशी शक्ति स्वार्थ, खिचातानी र शीतयुद्धका हिसाबले यो ठूलै परिवर्तन हो । यो मूलतः ध्रुव परिवर्तन हो । रणनीतिक हिसाबले यसले भिन्न दिशा, बाटो र यात्रा तय गरेको छ ।
यो दिशा र यात्राले ‘वाम’ ध्रुवको स्थानमा ‘डेमोक्र्याट’ लाई अग्रणीका रुपमा स्थापित गराउँदै लैजाने छ । वाम त्यसका सहयोगीका रुपमा रहने छन् । यसलाई आफैमा बाध्यात्मक र स्वाभाविक बनाउँदै लैजान थालिएको छ ।
यो ध्रुवीकरणको खेलपछि मन नलागी नलागी बोलेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कथित वाम ध्रुवीकरणको कुुरा त गर्न पुगे पनि उनी आफै ‘डबल रोल’मा छन् ।
‘गद्दीको गुलाम’का रुपमा समर्पित दक्षिणी भारतको चर्चित फिल्म बाहुबलीका दोस्रो प्रमुख पात्र कटप्पा भनौं वा महाभारतकालीन हस्तिनापुर रक्षाका लागि प्रतिज्ञारत भीष्मपितामह झैं उनी यो प्रक्रियाप्रति प्रतिबद्ध छन् ।
माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव वा निकै साना पार्टीका नेता जस्तै मोहनविक्रम सिंहहरु पनि ध्रुव परिवर्तनप्रति ‘मःमः’ को अवस्थामा छन् । नेपाली वामपन्थीहरुमा आएको सैद्धान्तिक विचलन र सेफ ल्यान्डिङको खोजी, जनतामा फैलिएको निराशा र विकल्पको अपेक्षा आदिका माझ कूटअस्त्रका रुपमा वाम उर्वरक भूमि नेपालमा यो प्रयोग गरिएको छ ।
वाम कोणबाट हेर्दा वाम विचलनको शीर्ष तहबाट सैद्धान्तिक तथा व्यवहारिक अभिव्यक्ति दिने केपी ओली सबैभन्दा बढी दोषी छन् । किनकि अबका दिनमा वामको उचाइ ‘वाम–पुड्के’ भएर जाने छ ।
एउटा कुराको अन्त्य भनेको अर्को कुराको उदय हो । प्रजातान्त्रिक वा दक्षिणपन्थी ध्रुव अबका दिनमा वामपन्थीका सहयोग र सहभागितासँगै सबल भएर जाने देखिन्छ ।
नेपाली राजनीतिमा यसले ठूलो असर त पार्ने छैन, तर अन्तर्राष्ट्रिय राजनीतिक रङ्गमञ्चमा यसको ठूलो महत्व र असर रहने छ । त्यो भनेको हो, अन्तर्राष्ट्रिय अतिमहाशक्तिका रुपमा उदाइरहेको चीनविरुद्ध नेपाली भूमिबाट सिधासिधा भूजडित मोर्चाबन्दी निर्माण हुनजाने छ ।
यसका छनक अबका दिनमा खुल्लमखुल्ला अभिव्यक्त हुँदै जाने छन् ।