काठमाडौँ । आज साउन १४ गते अर्थात अंग्रेजी मिति अनुसार जुलाई २९ तारिख । यस दिनलाई अन्तराष्ट्रिय बाघ दिवसको रुपमा संसारभर मनाउने गरिन्छ । यस वर्षको बाघ दिवसको नाराको रुपमा ‘बाघको अस्तित्वःमानवको दायित्व’ भन्नेका साथ बाघको अस्तित्व जोगाउने संकल्प गरेर नेपाल तथा संसारभर यो दिवस मनाउन लागिएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका अनुसार नेपालमा केन्द्रीय र स्थानीय स्तरमा विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउन लागिएको छ ।
बाघ भन्नाले पाटेबाघ जसलाई अंग्रेजीमा Royal Bengal Tiger भनिन्छ । यो बाघ संसारका १३ देशमा मात्रै पाइन्छ । संसारमा बाघ पाइने १३ देशका प्रतिनिधिहरुको रुसको लेलिनग्राद शहरमा सन् २०१० मा भएको अन्तरराष्ट्रिय सम्मेलनले संसारमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता घोषणा गरेको थियो ।
नेपालले अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर प्रतिवद्धता जनाए अनुसार तत्कालिन नेपालमा रहेका पाटेबाघको संख्या १२१ बाट बढाएर दोब्बर भन्दा बढी २५० वयस्क बाघ पुर्याउने प्रतिवद्धता गरेको थियो । आफ्नो लक्ष्यको नजिक हाम्रो देश नेपाल रहेको बताइएको छ । लक्ष्य अनुसार नेपाल सरकारले कार्यक्रमलाई तिब्रता दिएको छ ।
नेपालमा बाघको संख्या कति छ ?
हाल नेपालमा सो पाटेबाघको संख्या २३५ रहेको छ । पाटेबाघ खासगरी नेपालमा तराई एरियामा पाइन्छ । सन् २०१७ को डिसेम्बर १ देखि २०१८ को अप्रिल ३ सम्म नेपालमा पछिल्लो पटक नेपालमा पाटेबाघको गणना गरिएको थियो । सो गणना अनुसार नेपालमा सो बाघको संख्या त्यति देखिएको हो । पाटेबाघ गणनाको तथ्याङ्क अनुसार नेपालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र वरिपरी १६, पर्सा राष्ट्रिय निकुञ्जमा १८, बाँके राष्ट्रिय निकुञ्जमा २१, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा पाटेबाघ रहेका छन् । त्यसयता पनि बाघको संख्या बढेको हुनसक्ने अनुमान रहेको छ ।
नेपालमा विस २०६७ सालदेखि बाघ दिवस मनाउँदै र बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार सन् १९९५ मा नेपालामा ९८ वटा, २००० मा १०९ वटा, २००५ मा १२६ वटा, २००९ मा १२१ वटा र सन् २०१३ मा १९८ वटा पाटेबाघ रहेका थिए ।
पाटेबाघ पाइने देशहरु
संसारमा नेपाल सहित १३ वटा देशमा मात्र पाटेबाघ पाइन्छ । पाटेबाघ पाइने देशहरु नेपाल बाहेक भारत, चीन, भूटान, थाइल्याण्ड, इण्डोनेशिया, बंगलादेश, कम्बोडिया, भियतनाम, म्यान्मार, मलेसिया, लाओस र रसिया रहेका छन् । पाटेबाघ पाइने संसारका यी १३ देशहरुमा पाटेबाघको संख्या जम्मा ३,८९० वटा रहेको छ । सन् २०१६ को विश्वको रेकर्ड अनुसार पाटेबाघको संख्या सबैभन्दा बढी भारतमा २,२२६ रहेको छ भने सबैभन्दा कम लाओसमा सो बाघको संख्या २ वटा रहेको छ ।
मानवसँग पाटेबाघको बढ्दो द्वन्द
बाघ पृथ्वीको पारिस्थितिक प्रणाली सन्तुलनको एक महत्वपूर्ण हिस्सा हो । बाघ जंगली जनावर हो, यसलाई खान, खेल्न र बाँच्न प्रयाप्त जंगल चाहिन्छ । संसारमा मात्रै होइन नेपालमा पनि मानव बस्ती फैलँदै गएको छ तर उनीहरु बस्ने वन विनास हुँदै गएको छ । वनको विनासको कारण बाघको बस्ती खुम्चिँदै गएको समेत छ । वन संकुचित हुँदा बाघको आहाराको रुपमा रहेका अन्य वन्यजन्तुहरु जस्तैः मृग र हरिण लगायतका जन्तुहरु लोप हुँदै जान थालेका छन् ।
त्यसकारण आफ्नो आहाराको खोजीमा पाटेबाघ मानवबस्तीमा समेत पस्ने गरेका घटना घटने गरेका छन् । उता बाघको संख्या बढ्ने तर उनीहरुको आहाराको रुपमा रहेका अन्य वन्यजन्तुको संख्या घटने हुँदा बाघको आराहामा चुनौती आउने हुनाले आफ्नो आहारको खोजीमा बाघ मानव बस्तीमा पस्ने गर्छ । त्यसकारण मानवसँगको बाघको द्वन्द व्यवस्थापन अहिले चुनौतीको रुपमा देखिँदै आएको छ । यसो हुँदा बाघ संरक्षण समेत चुनौतीपूर्ण बन्दै गएको छ ।
बितेको आर्थिक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्ज र सो आसपासको क्षेत्रमा मात्र बाघको आक्रमणमा परी करिब एक दर्जन मानिसको ज्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए । त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा बाघको आक्रमणमा परी पाँच जनाको ज्यान गएको थियो भने पर्सा राष्ट्रिय निकुञ्ज तथा बर्दियामा यातायात दुर्घटनामा परी दुईवटा बाघको मृत्यु भएको थियो । अझ सल्यान, इलाम र डडेल्धुरा लगायतका केही पहाडी जिल्लामा पनि पाटेबाघ देखिन थालेपछि ती क्षेत्रमा संरक्षित क्षेत्र नभएकोले बाघको संरक्षण र व्यवस्थापनमा कठिनाई आउँदै गरेको समेत छ । यसका साथै बाघको चोरी शिकारी हुनु पनि बाघ संरक्षणको अर्को चुनौती हो ।
पाटेबाघबारे केही रोचक तथ्य
१) पाटेबाघ एउटा तिब्रगतिमा दौड्न सक्ने जनावर हो । यो ६० किलोमिटर प्रतिघण्टाको गतिमा दौड्न सक्छ ।
२) एउटा जवान पाटेबाघको तौल ९०–३०० किलोसम्मको हुन्छ ।
३) बाघ एकदमै बलशाली हुन्छ । यो कति बलियो हुन्छ भने यसको पञ्जाले बलियोसँग हानेको एक थप्पडमा नै एक जवान मानिसको मृत्यु हुनसक्छ ।
४) पाटेबाघ एक कुशल पौडीबाज हो । यसलाई पानीमा पौडिन वा खेल्न एकदमै मन पर्ने गर्छ ।
५) पाटेबाघको जिब्रोबाट निस्कने र्यालमा विषाणुनासक तत्व रहेको हुन्छ । जसको कारण आफूले खाएको कुनैपनि जनावरको मासु यसले पचाउन सक्छ ।
६) पाटेबाघको आयू न्यनतम ६ वर्ष र अधिकतम १० वर्षको हुने गर्छ ।
७) पाटेबाघको जन्मदा आँखा बन्द रहेको हुन्छ । अर्थात यो जन्मने समयमा अन्धो जन्मने गर्छ । पाटेबाघ जोडले करायो भने १८ हर्ष पावर बराबरको आवाज निकाल्न सक्छ ।
८) बाहिरबाट झट्ट हेर्दा सबै पाटेबाघहरुका शरीरका पाटेधर्साहरु एकै खालका देख्न सक्छन तर कुनै पनि पाटेबाघको शरीरमा रहेका पाटेधर्साहरु अर्को बाघका शरीरका धर्सासँग फरक हुन्छन् ।