• मंसिर १२ २०८१, बुधबार

सक्कली गुरु को हो ? छुट्याउनै गाह्रो भो !

श्रावण १४ २०७८, बिहीबार

गुरुले बोक्ने बहुअर्थी वास्तविकतामा दिमाग चलाउँदा सक्कली र नक्कली भनेर खोज्नुपर्ने बाध्यता सिर्जना हुन्छ । श्रद्धाका लागि कि वास्तविकताका लागि भनेर घोत्लिन विवश बन्नु परिरहेको यथार्थ छ । ड्राइभरले गुरुको संज्ञा पाउँछन् । साथीभाईले पनि गुरुकै नाममा सम्बोधन पाउन थालेको परिवेशसम्म पुग्दा इतिहासको वास्तविकता खोतल्नु सान्दर्भिक हुन्छ । गुरुपूजाका दिन विद्यार्थीद्वारा श्रद्धापूर्वक आफ्ना गुरुजनलाई सम्मान प्रकट गरिन्छ । पौराणिक इतिहासदेखि महर्षि वेदव्यासको जन्मदिनलाई गुरुपूजाका रूपमा मनाइँदै आइएको पाइन्छ । आजभोलि यसैलाई ‘टिचर्स डे’ का रूपमा मूलतः विद्यालय स्तरका विद्यार्थीहरूले विभिन्न कार्यक्रम गरी मनाउने प्रचलन विकसित भइरहेको छ ।
वास्तवमा ‘गिरति अज्ञानं इति गुरुः’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गराउने व्यक्तिलाई गुरुको संज्ञा दिइन्छ । आफूमा ज्ञानले पूर्ण भई अरूलाई पथप्रदर्शन गर्नसक्ने खुबी भएको व्यक्तिलाई ‘गुरु’ भन्न सकिन्छ । वैदिक सारबाट हेर्दा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वर अर्थात् सृष्टि सिकाउने, जीउन सिकाउने र मृत्यु अथवा अन्तिम सत्यसम्म पुगेर जीवनको यथार्थ बोध गराउने संसार तार्ने व्यक्तिको रूपमा लिइन्छ । कबिरदासजीका अनुसार ब्रह्मा, विष्णु र महेश्वर लगायत अठासी हजार ऋषिमुनिले जुन हंसको ध्यान गर्छन् त्यो रहस्यमय ज्ञान पनि समयका सद्गुरुबाट मात्रै सम्भव हुन्छ ।

पूर्वीय प्राचीन परम्परालाई नियाल्दा वशिष्ठ ऋषि, व्यास महर्षि, वाल्मीकि, द्रोणाचार्य आदिलाई गुरुका उच्च स्थानमा राखिन्छ । देवताका गुरु बृहस्पति तथा राक्षसका गुरु शुक्राचार्यको नाम उत्तिकै सम्मानित छ । भगवान् रामले गुरु आज्ञालाई शिरोधार्य गर्थे, भगवान् कृष्ण पनि सान्दिपनि गुरुबाट दीक्षित थिए । पाण्डव जस्ता असल र सत्यवादीहरूले आफ्नै शत्रु कौरवको पक्षमा लागेर युद्ध लड्ने गुरु द्रोणाचार्यप्रति प्रकट गरेको असलपनालाई नियाल्दा शिष्यले गुरुको उच्च सम्मान गर्न जानेमा स्वयम् भगवानको साथ पाइन्छ भन्ने आशयलाई बोध गर्न सकिन्छ । गुरु निगाहबाट सर्वसफलतालाई साकार पार्न सक्नेले ईश्वरको कृपा पाउँदो रहेछ ।

नेपालकै तनहुँमा जन्मिएका महर्षि व्यासको शुभजन्मोत्सवको रूपमा सदियौँदेखि मनाइँदै आइएको गुरुसम्बन्ध र शब्दशक्तिसँग ज्ञानको बहार छ । वेदव्यास जसलाई स्वयम् भगवान् विष्णुको अवतार तथा अष्टचिरञ्जीवीमध्ये एक सम्मानित गुरुका पनि गुरुको स्थानमा राखेर हेरिन्छ । द्वैपायन नाम गरेको पर्वतमा तपस्या गर्दै जाँदा कालो भएका हुनाले उनलाई ‘कृष्ण द्वैपायन’ भनिएको हो भन्ने गरिन्छ । व्यासलाई सबैले गुरुका पनि गुरु मान्ने आधार शिष्यबाट बनेको हो भनेर बुझ्न सकिन्छ । शिक्षा र दीक्षा दिने गुरुको शक्तिमा ‘गुरुदेवो भवः’को भाव जागृत हुन्छ ।

पूर्वीय इतिहासलाई नियाल्दा राजा महाराजाहरूले राजगुरुलाई आपूmभन्दा माथिल्लो स्थानमा राखेर आज्ञा शिरोधार्य गरेका इतिहास धेरै पूराना छैनन् । शाब्दिक रहस्यलाई हेर्दा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश रहने गुरु शब्द आफैमा तेजिलो, सम्मानित र आदरभावमा सक्कली गुरुको अर्थ सुसज्जित छ । कलिलो मस्तिष्कलाई कखरादेखि व्यावहारिक रहस्यसम्म पुगेर गुरुले सचेत रहस्य खोतल्छन्–चाहे इतिहास नामबाट हुन् या अत्याधुनिकताको उत्तरआधुनिक सोचबाट नै किन नहोस् । सनातन परम्पराबाट सिकिएको भावबोध होस् या त व्यावहारिक शिक्षा होस् आखिर गुरुको महिमा हरपल, हरक्षण उच्च स्थानमा रहेको पाइन्छ । ज्ञानको ज्योति छर्ने खुबी भएका निःस्वार्थी ज्ञानी व्यक्ति मात्रै आजको परिवेशमा असल गुरु हुन्छन् :

अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया
चक्षुनमीलितम तस्मै श्री गुरवे नम : ।

सद्गुरुको कृपामा ईश्वरको साक्षात्कार सम्भव हुन्छ तर गुरु कृपाको अभावमा केही पनि सम्भव हुँदैन । हाम्रो देशलाई तपस्वीको तपोभूमि र सिद्धभूमि भनिन्छ । यहाँ शिक्षा र शैक्षिक सुधारका गौरवमय इतिहास छन् । यसर्थ, महान् ऋषि महर्षिहरूको जन्मथलोको रूपमा पुराणहरूमा व्याख्या गरिएको छ । अलिकति गहिरिएर हेर्दा ज्ञानी र ज्ञानदाताको जन्मथलो रहेछ ।  अझै गर्वको कुरा यही भूमिमा चार वेदका ज्ञाता, व्याख्याता महर्षि व्यासजस्ता महान् ज्ञाताको जन्म भएको गौरवमय इतिहास पढ्न पाइन्छ । यसर्थ व्यासको जन्मदिन अर्थात् असार महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरुपूर्णिमाका रूपमा मनाउने गरिन्छ । यसर्थ गुरु पूर्णिमालाई व्यासजयन्ति पनि भनिन्छ ।

तनहुँको दमौली आसपासमा माता सत्यवती र पिता परासर ऋषिका पुत्र व्यासको प्राज्ञिक खुबीमा जीवनको सार छ, जगतको रहस्य छ, असल आदर्श ज्ञानको अथाह भण्डार छ । व्यास एक्लैले रचेको अभूतपूर्व ज्ञान सागरमा विश्व दर्शनले बुझेर बुझ्न गाह्रो, खोजेर जान्न गाह्रो तर जान्दा सर्वश्व भेट्छ । भागवत गीताको सारभित्र लुकेको रहस्य खोतल्नेले परमात्मामा साक्षात्कार गर्न पाउँछन् । पूर्वीय सार अनुसार मोक्षको ढोका खोल्छन् अनि परमानन्दको अनुभूत गर्छन् । अतः वेद–वेदान्त, अठार पुराण, उपनिषदहरू लेखी विश्वमै प्राचीन हिन्दू सनातन साहित्यलाई उजागर गर्ने खुबी भएका व्यासको गुरुत्वलाई चिन्नु सिंगो जीवनको बोध गर्नु हो ।

गुरुपूजासँग कबिर जयन्तीको विषयलाई पनि जोडेर हेर्ने गरेको पाइन्छ । यसै दिनमा कबिरको जन्म भएको भन्ने जनविश्वास रहेको छ । कबिर वाणीमा अनन्य आत्मज्ञानका सारतत्व लुकेका छन्, जसलाई महापुरुषले दोहोर्याएर सर्वसाधारणमा प्रवाह गरिरहन्छन् । शिक्षाको जगलाई केलाउँदा गुरुकुल शिक्षा परिवर्तित हुँदै वर्तमान आधुनिक शिक्षासम्मको विकास भइरहेको छ । हिजोका आहारविहार, अनुशासन, औषधोपचार, मानवीय भावपूर्ण सार आजका लागि साँच्चै उपयोगी पनि छन् ।

कसैले जानेर, बुझेर त कतिले अरूले गरेको देखेर भएपनि गुरुको आदर गर्ने संस्कृतिभित्र अपार आनन्दको सार छ । नेपाल कैयौँ तपस्वीका ज्ञानले सिञ्चित पृथ्वीतलको पुण्यभूमिको रूपमा चिनिने सुन्दर, सुरम्य शान्त देश अवस्य हो । यहाँ जन्मिएका जनक, बुद्ध, सीताजस्ता उदाहरणीय व्यक्तित्वसँग धार्मिक सहिष्णुभावमा मानवीय आचरण विकसित हुन्छन् । शान्ति र अहिंसाले सत्कर्मलाई प्रेरणा दिएको हुन्छ । वास्तवमा अज्ञानता हटाउने खुबी एउटा असल र सबल गुरुमा मात्र हुन्छ जसले समय अनुकूल ज्ञानको बिउ देओस् ।

असल शिक्षक : असल गुरु

आजभोलि गुरुपूर्णिमालाई ‘टिचर्स डे’ भनेर मनाउँदै गर्दा पूर्वीय संस्कृतिको महत्व विस्तार भएको बोध हुन्छ । अतः गुरुलाई शिक्षक, प्रोफेसर, लेक्चर, टिचरको नाममा पुकार्ने गरिन्छ । हिजो जीवन र जगत्को वास्तविक सारसँग गुरुशक्तिलाई गाँसिन्थ्यो तर आजको दुनियाँमा स्वार्थको भावले गुरुको तास्तविकता ह्रास नभएको होइन । यहाँ सिकाइएका दैनिक जीवनका ज्ञानभन्दा आंशिक जीवनको ज्ञानभित्र सीमित बनाउने र भौतिकताले मानवता डढेको तीतो रहस्यमा सुधारको आवश्यकता पनि छ ।  आफू मद्यपान, धुमपान गरेर संस्कार सिकाउने शिक्षक असल शिक्षक बन्न सक्दैन । आजभोलि जीवन जगतको रहस्य बोध नहुँदा मानिसमा नैतिक ज्ञान मक्काउँदै गरेका लाग्छन् । गुरुले वास्तवमा त्यागको दृष्टान्त बन्न सक्नुपर्छ । यसविपरीत ढोङी धर्मगुरु र लालची शिक्षकका कर्तुतका कारण वास्तविक जीवनोपयोगी ज्ञानबाट टाढिनुपरेका पीडा छन् । यसर्थ गुरु शब्दलाई मानिसलाई घृणा गर्नु पीडाको कुरा हो । यसर्थ असल गुरु बाहिरी रूपमा होइन, ज्ञानमा महान् हुन्छन् जसले आजको वास्तविक जीवनसँग नातो गाँस्ने खुबी राख्दछन् ।

पाश्चात्य सिद्धान्ततिर पुग्दा अरस्तु, प्लेटो, रुसो, हिल्डा टावा, पेस्तालोजी जस्ता दार्शनिकले नवीन शैक्षिक अवधारणा लिएर आए । बाल मनोवैज्ञानिक शिक्षाले प्रश्रय पायो । वर्तमान युगसम्म हेर्दा दण्डरहित बालमैत्री शिक्षाले असल गुरुको कर्मलाई प्रतिबिम्बित गर्दछ । प्याबलभ, स्किनर, थर्नडाइकजस्ता विद्वानले नवीन शिक्षण पद्धतिलाई जन्माए । आजको युगमा असल शिक्षकलाई बहुल ज्ञानको खाँचो हुन्छ । अत्याधुनिकताको ज्ञानसँग दौडिनु आवश्यक हुन्छ । एउटा शिक्षक कला र विज्ञानले सजिएको अनुकरणीय व्यक्ति रहेछ । जसमा ज्ञान, गुण, कला, विज्ञानजस्ता क्षमता हुन्छन्, त्यही असल शिक्षक बन्न लायक हुन्छ । यसर्थ गुरु हुनु आफैमा चुनौतिपूर्ण छ ।

बुझ्दा र जान्दा सौभाग्यशाली व्यक्ति मात्रै गुरु बन्छ । एउटा असल शिक्षकले पाइलटलाई पढाएको हुन्छ, इन्जिनियरलाई जन्माएको हुन्छ, समाजसेवीलाई सिकाएको हुन्छ, असल नेतालाई मार्गनिर्देश गर्छ अनि असल र सबल मानिस बनाएको हुन्छ  : यसर्थ शिक्षकभन्दा ठूलो र महान कर्म अरू हुन सक्दैन । हुन त गुरु शब्दलाई आजभोलि ड्राइभरदेखि साथीभाईसँगका गफमा प्रयोगरत छन् । संगीत शिक्षक, योगा, व्यायाम गराउनेदेखि पुरेत, पण्डितजीले गुरुको सम्मान पाएका हुन्छन् । यसरी हेर्दा आजभोलि गुरु शब्दको प्रयोगसँग कर्मको समानता रहेको पाइँदैन । वास्तवमा उत्तम मस्तिष्क र कला भएका व्यक्ति मात्र गुरु बन्न योग्य हुन्छन्, जसले यो संसारको अन्धकारबाट आपूm तरेर अरूलाई तार्न सक्दछ ।  आफू अज्ञानबाट उम्केर अरूलाई प्रकाश प्रदान गर्दछ ।

राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, रुचि र उत्साह, धैर्य र सहनशील, नैतिक र चरित्रवान्, प्रेम र सहानुभूतिले भरिपूर्ण आत्मविश्वासमा सबल व्यक्तिगत गुण असल शिक्षकमा हुनु आवश्यक मानिन्छ । सामाजिक गुणअन्तर्गत पक्षपातरहित, स्पष्टवक्ता, मानवीय सम्बन्ध कायम राख्ने, सेवाभाव भएको, विनोदप्रिय, विनयशील, नेतृत्व क्षमता राख्ने र समुदायको ज्ञान भएको हुनुपर्ने हुन्छ । त्यस्तै गरेर विषयवस्तुको उच्च ज्ञान, शिक्षण पद्धति र विधि–प्रविधिको ज्ञान भएको, शिक्षण कौशल र बालमनोविज्ञान बुझ्ने, उत्तरदायित्व बोध गर्ने, जिज्ञासु तथा अध्ययनशील, नवीनतम् खोजमा जागरुक हुने पेसागत गुणको समष्टि सामथ्र्यबाट एउटा असल शिक्षकको परिचय स्थापित हुन्छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि समर्पित व्यक्तिले गुरुको पदलाई ओगट्न सक्छ ।

भोजनको मिठासतामा भान्सेको ठूलो हात हुन्छ । यसर्थ गुरु केवल नाम र परिचयपत्र बोकेर पेसामा अल्झेको पेटको समस्या हल गर्न चाहने व्यक्ति नभएर शिक्षा र सिकारूप्रति सचेत महान् व्यक्ति रहेछन् । समयानुकूल अद्यावधिक बन्न सक्ने आधुनिक व्यक्तित्व रहेछन् । कुमालेले काँचो माटोलाई आकार दिए  झैं, मूर्तिकारले ढुंगोलाई कुँदे झैं शिक्षकले कच्चा मान्छेलाई सच्चा मान्छेमा परिणत गराउने मार्गदर्शक रहेछन् । समाजका लागि सम्मानित नाम गुरुलाई आज शिक्षक, प्राध्यापक वा अन्य नाममा लिने गरिन्छ । आज गुरुका नाममा भइरहेका कलङ्क र लालची व्यापारिक प्रवृत्तिले सही र गलतको श्रेणी बनाउनु परेका तीता यथार्थ छन् ।

बोक्रे ज्ञानका आधारमा गुरुको उपनाम भिर्ने लोभीपापी प्रवृत्तिका कारण कपडा र बाहिरी रूपमा गुरुलाई तोल्न थालिएका छन् । कैयौँ छद्मभेषी धर्मगुरु र शिक्षण पेसामा संलग्नहरूले सोझा र आस्थावान् मानवका आस्था, विश्वास र प्राज्ञिक विकासमा प्रहार गरेका लज्जास्पद घटना घृणित लाग्छन् । अतः असल शिक्षक वा सक्कली गुरुमा शिक्षार्थीका लागि पूजनीय उदाहरण बन्ने आचरणजन्य खुबी हुनु आवश्यक छ ।