काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेजपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनी प्रदेशका २ जना पूर्वसांसद सर्वोच्च अदालत पुगेका छन् ।
माओवादीबाट उम्मेदवार भई सांसद भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीले आफ्नो दल त्याग गरेको भन्दै कारबाही गरेको थियो । आफूहरूलाई संविधान र माओवादीको संसदीय दलको विधान विपरीत हटाइएको दाबीसहित उनीहरु साउन ७ मा सर्वोच्च अदालत पुगेका थिए ।
आफूहरु गत चुनावमा माओवादी र एमालेको संयुक्त घोषणा पत्रका आधारमा निर्वाचन लडेको जिकीरसमेत उनीहरूले गरेका छन् । ‘जनताले चुनेका जनप्रतिनिधिलाई कानुन विपरीत हटाइयो । हटाउने पार्टीले पार्टी त्याग गरेको प्रमाणसमेत नपुर्याई हटाएका हुन्,’ न्यौपानेले भने, ‘जनताले चुनेका जनप्रतिनिधिलाई हटाउन मिल्दैन ।’
गत फागुन २३ मा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादीलाई फेरि अस्तित्वमा ल्याइदिएको थियो ।
त्यसबेला उनीहरु माओवादीमा सक्रिय नभई एमालेतर्फ सक्रिय भएका थिए । त्यसपछि माओवादीको पत्रका आधारमा सभामुख पूर्णबहादुर घर्तीले उनीहरूलाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गरिदिएका थिए ।
न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को (ख) बाट र पन्थी गुल्मी क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित भएका थिए ।
उनीहरूले माओवादी केन्द्र, लुम्बिनी प्रदेश प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा निवेदन दिएका छन् । उक्त निवेदनबारे आज अन्तरिम आदेश हुने वा नहुने टुंगो लाग्ने उनीहरूका तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता ईश्वरी भट्टराईले बताए ।