काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङसुकले आज शिष्टाचार भेट गरेका छन् ।
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।
कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारकोतर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गरे ।
“इपिएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु”, मन्त्री शर्माले भने । जवाफमा राजदूत पार्कलेले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए ।
नेपालीको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाता खुशी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूतले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।
भेटका क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताकोतर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।