नेपालको हालको तरल राजनीतिले जनतालाई दिक्क पारेको छ । अरुलाई नैतिकता र इमानको पाठ सिकाउने नेताले आफै इमान गुमाएर बेइमान बन्न थालेपछि पछिल्लो पुस्ताले यिनीहरुबाट के सिक्ने होला ? यसमा व्यक्तिगतरुपमा कसैलाई आरोप लगाउन खोजिएको छैन तर हाल नेपाली राजनीतिक परिदृश्यमा देखिएका जे जति विकृतिहरु छन् तीनलाई उजागर गर्न खोज्दा पक्कैपनि यस्ता खाले प्रश्नहरु आउँछन् ।
‘जो अगुवा उही बाटोमा हगुवा’ भन्ने
नेपाली उखान यतिबेला नेपालको राजनीतिमा लागु भएको आभाष धेरैलाई भएको छ । नेता, मन्त्री, सांसद तथा देशका प्रतिष्ठित र जनताको सेवामा स्थापना गरिएका संस्थामा रहेका व्यक्तिहरुका हकमा कुरा गर्दा उनीहरुमाथी जनताले धेरै नै प्रश्न उठाएका छन् । भ्रष्टाचार, अनियमितता, दलाली, नक्कली नागरिकता, सीमा विवाद, नदीनालाको विक्री जस्ता कामले गर्दा देशको मूल नेतृत्व नै देशघाती काममा लागेको स्ष्ट भइसकेको छ । तर पनि नेपाली जनता यति इमानदार रहे की पटक पटक तिनै देशघाती काम गर्ने नेतालाई नै चुनावमा मत दिएर जिताइरहे, जिताइरहेका छन् र भोली पनि जिताउने छन् । भोली पनि किन जिताउँछन् भने बद्मासीलाई क्षमा दिनसक्ने मनोविज्ञान नेपालीमा धेरै नै छ ।
इमानदारीताको पनि हद हुनुपर्ने हो तर चुनावका मुखमा छर्ने खर्चपर्चको चारो र गुलिया भाषणमा नेपाली सोझा जनता नेताका सामु लथ्रक्कै भइहाल्छन् । हिजो गल्ती गर्नेलाई आज दण्ड दिनुपर्छ भन्ने चेत नेपालीमा लगभग हराइसकेको छ । किन की उनीहरु कमजोर बनाइएका छन् । परजीवी बनाइएको छ र आज नेतालाई गाली गर्दा वा भोट नदिँदा समस्या परेका बेला कसले हेर्ला ? भनेर चिन्ता मान्नु पर्ने अवस्था रहेका कारण जनताले बद्मासी गर्नेलाई दण्ड दिन सकेका छैनन् बरु उसैलाई पटकपटक भोट दिएर सांसद, मन्त्री बनाइरहेका छन् ।
नेपालमा प्रधानमन्त्री, मन्त्री, सांसद तथा सरकारी हाकीमसाव’हरुले बोलेका कुरा कहिल्यै पूराका पूरा लागू भएनन् । र वचन पूरा नभएकोमा उनीहरुलाई कुनै पश्चाताप पनि छैन । किन की जनताले उनीहरुलाई सजाय गर्दैनन् । यति इमानदार जनतालाई ढाँट र छल गरेर शासन गर्न पाएपछि नेता छाडा र उत्ताउलो बन्दैनन् त ?
पछिल्लो एकवर्षमा नेपालको सत्ता राजनीति निकै गिजोलिएको छ । आपसमा घोंचपेच गर्ने, एकले अर्कोलाई खुइल्याउने, ताछ्ने, खेद्ने र नङ्ग्याउने कामहरु ठूलो मात्रामा भएको देखिन्छ । के नेपालमा स्थापना गरिएको प्रजातन्त्रको मोडेल यस्तै हो ? जहाँको संविधानमा जनताका लागि मौलिक अधिकारहरुको थुप्रो लगाइन्छ तर लागू गर्न पर्दैन । खान, लाउन, पढ्न, उपचार जस्ता अतिआवश्यक कुराहरु पूरा गर्नतिर भन्दा बोलेरै मै ठूलो हूँ, अरु चाहीँ केही पनि होइनन् भन्ने सोच्ने प्रजातन्त्र पो स्थापना भएछ नेपालमा त । यस्तो खान र लाउन नपाइने तर बोल्न भने जति पनि पाइने प्रजातन्त्र कुन देशबाट नक्कल गरेर ल्याएको होला ? प्रश्न छ । तर यो प्रश्नको हल दिने तरिका भने देखिँदैन ।
राज्ययन्त्रमा रहेका मानिसहरु छाडा हुनाले आज जताततै छाडापन देखिएको छ । दिनदहाडै मानिस मारिन्छन् । कुरा नमिले मारेपनि हुन्छ भनेर मानिसको मनमा सोच कसरी आउँछ ? बलात्कार गरेर खोलामा मिल्काएपनि हुन्छ भन्ने विचार मनमा कसरी आइरहेको छ ? नानी पाउने तयारी अवस्थामा पुगेको महिलाको भुँडी देखाउनुलाई स्वतन्त्रता ठान्ने चिन्तन कसरी र कहाँबाट आयो ? यो चिन्तनको स्रोत के हो ? राजनीतिमा लागेकाले जे बोलेपनि हुने संस्कार, प्रवृति र गर्भावस्थाको भुँडी देखाउँदै हिँड्ने प्रवृति उस्तै हुन की होइनन् ?
हो मानिस स्वतन्त्र भएर आफ्नो जीन्दगी बिताउन चाहन्छ । तर समाजमा स्वतन्त्रताको हद कति हो ? आवश्यकताको मात्रा कति हो ? समाज हिजोभन्दा आज विकसित भएको छ । यसको नापो के हो ? के जति सक्दो अनैतिक हुनु राजनीति हो ? के सकेसम्म नाङ्गो हुनु संस्कार हो ? विकास हो ? जतिसक्दो अनैतिक हुनका लागि राजनीति नै गर्न पर्छ ? के म स्वतन्त्र छु भनेर देखाउनका लागि गर्भावस्थाको भूँडी देखाउनै पर्छ ? उसो भए सबैले सबै देखाउँदै हिँडौ न त के हुन्छ ? के त्यसो गर्दा हामी मानव हुनुको नाता रहन्छ ? त्यसो गर्दा हामी कुन दर्जाका मानव हुन्छौं ?
के यसको हिसाव किताव कसैले गरेको छ ? त्यसकारण हो हिसाव किताव सबैले सबैको गर्नुपर्छ तर अनुशासन, निष्ठा, मानवीय संस्कार, सामाजिक नैतिकताको मूल्य र मान्यता सबै त्यागेर मानव समाजलाई उल्टो दिशातिर लैजाने कोशिस कसैले गर्नु हुँदैन । यदि कसैले यस्तो गर्छ भने राज्यले उलाई कारबाहीको दायरामा ल्याउनु पर्छ । यदि राज्यमा रहेकाले पनि यस्तै कृयाकलाप गर्छ भने जनताले तिनलाई दण्ड दिनु पर्छ ।