• मंसिर ११ २०८१, मंगलवार

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्‍याउनेछ : राष्ट्रपति भण्डारी

श्रावण १३ २०७८, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्‍याउने बताएकी छन् ।

सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उनले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइन् ।

उनले पर्यटनका माध्यमबाट सानो अर्थतन्त्र चलायमान हुने र उत्पादकत्व वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति घट्न सक्ने बताउँदै यस्ता गतिविधिले मुलुकमा चुलिएको व्यापारघाटा कम गर्न मद्दत पुग्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न टेवा पुग्ने विचार व्यक्त गरिन् ।

उनले भनिन्, “आजभन्दा करिब अढाई सय वर्षपहिले आक्रमण गर्न आएको विदेशी सेनालाई नेपाली सेना र जनताको वीरतापूर्ण प्रतिरोधबाट परास्त गरी नेपालले विजय हासिल गरेको थियो ।” उनले स्वतन्त्र र स्वाधीन राष्ट्रको पहिचान कायम राख्न ऐतिहासिक घटनाको विशिष्ट स्थान रहेको बताइन् ।

सिन्धुलीगढीलाई विश्वसामु चिनाउन भइरहेका प्रयासबाट सम्पूर्ण नेपाली गौरवान्वित भएका तथा युद्ध सङ्ग्रहालयको निर्माणले ऐतिहासिक सम्पदाको संरक्षण हुनाका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबीच पनि नेपाली सेनाले प्राप्त बजेटबाट सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय बनाएकामा प्रशंसा समेत गरिन् । नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा स्थापित सङ्ग्रहालयले देशका अन्य स्थानमा समेत यस्ता ऐतिहासिक धरोहरको निर्माणमा प्रेरणा मिल्ने उनको भनाई छ ।