• असार २३ २०८१, शनिबार

लुम्बिनीमा सवारी दुर्घटनामा तीन वर्षमा १६ सयको मृत्यु

श्रावण १३ २०७८, बुधबार

दाङ, १३ साउन ।

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम भएको छैन । प्रदेशको भौगोलिक अवस्था, अदक्ष चालक, साँघुरो सडक लगायतका कारणले सवारी दुर्घटनाबाट वर्षेनी सयौँ नागरिकले मृत्युवरण गर्नुपरेको छ । लुम्बिनी प्रदेशमा बितेको तीन वर्षको अवधिमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्याले सवारी दुर्घटना बढ्दै गएको देखाएको छ ।

बितेको तीनवटा आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार ६ सय बढी ब्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । प्रदेशका १२ वटै जिल्लामा आर्थिक वर्ष ०७५-०७६ देखि ०७७-०७८ सम्ममा तीन वर्षको अवधिमा १ हजार ६ सय १ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको भएको क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

तीन वर्षको अवधिमा प्रदेशमा ३ हजार ३ सय ६२ सवारी दुर्घटना भएका छन् । जसबाट ३ हजार ७० जना गम्भिर घाइेते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए । उनका अनुसार तीन वर्षमा सबैभन्दा बढी बितेको वर्षमा धेरै सवारी दुर्घटना भएका छन् । बितेको अघिल्लो दुई वर्षको तथ्यांकलाई हेर्दा पछिल्लो एक वर्षमा सवारी दुर्घटना बढेको देखिएको छ भने मानवीय क्षेति केहि कम भएको देखिएको छ ।

आर्थिक वर्ष २०७५-०७६ मा १ हजार २९ सवारी दुर्घटनामा ५ सय ९२ जनाको मृत्यु भएको छ भने ९ सय ३३ जना गम्भिर घाइते भएका छन् । आर्थिक वर्ष ०७५-०७६ को तुलनामा ०७६-०७७ मा दुर्घटना बढी भएको छ । आर्थिक वर्ष २०७६-०७७ मा १ हजार १ सय २२ सवारी दुर्घटना भएका छन् । यस अवधिमा सवारी दुर्घटना बढी भएपनि मानविय क्षतिमा केहि कमि देखिएको छ । यस अवधिमा ४ सय ८३ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ भने १ हजार ५४ जना गम्भिर घाइते भएका छन् ।

यस्तै बितेको आर्थिक वर्ष ०७७-०७८ मा १ हजार २ सय ११ सवारी दुर्घटनामा ५ सय २६ जनाको मृत्यु भएको छ भने १ हजार ८३ जना गम्भिर घाइते भएका छन् । अघिल्लो वर्षको तुलनामा बितेको वर्षमा सवारी दुर्घटना पनि बढी भएका छन् भने दुर्घटनाबाट मानविय क्षति पनि बढी भएको छ । बढ्दो सवारी र गुणस्तरहिन सडक, चालकको लापरबाही लगायतका कारण प्रदेशमा वर्षेनी सवारी दुर्घटनाबाट सयौंले ज्यान गुमाउनु परेको छ । प्रदेशमा तीन वर्षको तथ्यांकलाई हेर्दा मासिक ८५ बढी सवारी दुर्घटना हुने गरेका छन् भने ४४ जनाको सवारी दुर्घटनाबाट ज्यान जाने गरेको छ ।

आर्थिक वर्ष ०७५-०७६ मा मंसिरमा सबैभन्दा बढी दुर्घटना भएको छ भने सबैभन्दा कम माघमा कम भएको छ । मंसिरमा १ सय ४ सवारी दुर्घटनामा ६८ जनाको मृत्यु भएको छ भने माघमा ६२ सवारी दुर्घटनाबाट ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी आर्थिक वर्ष ०७६-०७७ मा जेठमा सबैभन्दा बढी दुर्घटना भएको छ भने चैतमा सबैभन्दा कम देखिएको छ । जेठमा १ सय २३ सवारी दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ भने चैतमा ५२ सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको छ ।

बितेको वर्षमा मंसिरमा सबैभन्दा बढी १ सय ४४ सवारी दुर्घटनामा ५७ जनाको मृत्यु भएको छ भने जेठमा सबैभन्दा कम ५७ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । प्रदेशमा गत वर्षको साउन महिनामा १ सय ४ सवारी दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । त्यसैगरी भदौमा १ सय ११ वटा दुर्घटनामा २६, असोजमा ७३ दुर्घटनामा २४, कार्तिकमा १ सय ७ दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ । त्यसैगरी पुस महिनामा ९८ दुर्घटनामा ५५, माघमा १ सय ५ दुर्घटनामा ४४, फागुनमा ९९ दुर्घटनामा ५४, चैतमा १ सय २८ दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ । यस्तै बैशाखमा ९५ दुर्घटनामा ५७, र असारमा ९० दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ ।