• असार २३ २०८१, शनिबार

लुम्बिनीका यी ४ जिल्ला जसले आफूले खाने अन्न आफै उत्पादन गर्न सकेनन्

श्रावण १३ २०७८, बुधबार

दाङ, १३ साउन ।
लुम्बिनी प्रदेशमा अवस्थित ४ वटा जिल्लाले आफ्नो जिल्लालाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न नसकेको तथ्यांक सार्वजनिक भएको छ । प्रदेश सरकारले यसरी आफ्नो जिल्लाको लागि आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न नसकी आयात गर्नुपर्ने जिल्लाहरूलाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको कार्यक्रम सुरुवात गरेको भूमि–व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

भूमि–व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश योजना तथा अनुगमन महाशाखा प्रमुख वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेका अनुसार प्युठान, रोल्पा, बाँके र पश्चिम नवलपरासी जिल्लामा उत्पादन भएको खाद्यान्नको अनुपात र जनसंख्याको अनुपातमा संयोजन गरी उक्त तथ्यांक निकालिएको हो ।

जसअनुसार सबै भन्दा कमजोर जिल्लाको रुपमा नवलपरासी जिल्ला (पश्चिम नवलपरासी) देखिएको छ । पश्चिम नवलपरासी जिल्लामा कुल ३४ लाख ४० हजार ५० जनसंख्या रहेको छ भने खानयोग्य उत्पादन वार्षिक रूपमा ४४ हजार १ सय ४३ मेट्रिक टन उत्पादन हुने गरेको छ । जसलाई जनसंख्याको अनुपातमा रूपान्तरण गर्दा कुल आवश्यक खाद्यान्न ६२ हजार २ सय ७३ मेट्रिक टन खाद्यान्न आवश्यक छ ।

तथ्यांक अनुसार ६ हजार २ सय ५ मेट्रिक टन खाद्यान्न आझै अपुग रहेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार साविक राप्तीको रोल्पा पनि कमजोर जिल्लाको रुपमा रहेको छ । उक्त जिल्लामा कुल जनसंख्या २३ लाख २ हजार १ सय ५४ जनसंख्या रहेको छ भने जिल्लामा कुल खान योग्य खाद्यान्न ४४ हजार १ सय ४३ मेट्रिक टन खाद्यान्न प्रतिवर्ष उत्पादन हुँदै आएको देखिएको छ । जसलाई जनसंख्या अनुपातमा रूपान्तरण गर्दा कुल २ हजार ५ सय २० मेट्रिक टन खाद्यान्न रोल्पा जिल्लामा अपुग छ ।

यस्तै बाँके जिल्लामा हाल प्रति बवर्ष ९८ हजार ९ सय ९९ मेट्रिक टन खाद्यान्न उत्पादन हुँदै आएकोमा जिल्लामा कुल ४६ हजार ६ सय ६३ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । बाँके जिल्ला अहिले पनि कुल १ हजार ७ सय ६७ मेट्रिक टन खाद्यान्न अपुग रहेको छ । यस्तै प्यूठान जिल्लामा कुल ४५ हजार ७ सय ७५ मेट्रिक टन वार्षिक रुपमा खाद्यान्न उत्पादन  हुँदै आएकोमा अझै १ हजार ७ सय ३० मेट्रिक टन खाद्यान्न अभाव रहेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अनुसार अद्यावधिक गरिएको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा कुल भूमी क्षेत्र १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर रहेको छ ।

जसमा कुल खेतीयोग्य क्षेत्रफल ६ लाख ९७ हजार ३ सय ३१ हेक्टर रहेको छ । हाल यो प्रदेशमा कुल खेतीयोग्य क्षेत्रको ७७.३५५ प्रतिशतमा खेती गरिएको छ भने सिंचित क्षेत्र ३९.६९५ प्रतिशत मात्रै रहेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना अथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेका अनुसार यसरी खाद्यान्न उत्पादनमा कमजोर देखिएका प्रदेश का ४ वटा प्यूठान, बाँके, रोल्पा र नवलपरासीमा थप खाद्यान्नको उत्पादकत्व वृद्धि गर्ने प्रकृतिको योजनाहरु मन्त्रालयले बनाएर लागू गर्दै छ ।

नवलपरासी जिल्लामा कृषि ज्ञान केन्द्र समेत स्थापना गरिएको छ । जसले उक्त क्षेत्रको थप उत्पादकत्व वृद्धिको लागि कार्य गर्ने मन्त्रालयको योजना रहेको छ । लुम्बिनी प्रदेशमै खाद्यान्न उत्पादनमा अब्बल जिल्लाको रूपमा बर्दिया जिल्ला देखिएको छ । जसमा कुल ४ लाख ५० हजार ४ सय ७० जनसंख्या रहेको छ । जसमा कुल १ लाख ४३ हजार २ सय २८ मेट्रिक टन खाद्यान्न उत्पादन हुँदै आएको छ ।

जुन जिल्लाले आफुलाई चहिने खाद्यान्न परिपूर्ती गरी अन्य जिल्लामा पनि निर्यात गर्दै आएको छ । कुल ६१ हजार ६ सय ९३ मेट्रिक टन खाद्यान्न अन्य जिल्लामा निर्यात गर्ने गरेको मन्त्रालयको तथ्यांक रहेको छ । यस्तै दोस्रो अब्बल जिल्लामा रूपन्देही देखिएको छ । रूपन्देही जिल्लाले कुल २१ लाख ४ हजार ९ सय मेट्रिक टन उत्पादन गरेको छ ।

जसले कुल ३७ हजार ३ सय २६ मेट्रिक टन खाद्यान्न निर्यात गर्ने गरेको छ । यस्तै कपिलवस्तु जिल्लाले प्रतिवर्ष कुल २६ हजार ५ सय २, अर्घाखाँची जिल्लाले २२ हजार २८, गुल्मीले १२ हजार २ सय २, दाङ्ग जिल्लाले ७ हजार ५६, पुर्वी रुकुमले ३ हजार १ सय २१ र पाल्पा जिल्लाले कुल ५ हजार ९ सय ४२ मेट्रिक टन खाद्यान्न निर्यात गर्दै आएका छन् ।

लुम्बिनी प्रदेशको कूल खाद्यान्न उत्पादन २२ लाख ७४ हजार ६ सय ३२ मेट्रिक टन रहेको छ । लुम्बिनी प्रदेशमा दलहन ६ सय ४२ लाख ७ हजार २ सय ९३ मेट्रिक टन , तेलहनबाली ६२ हजार ३ सय ३६ मेट्रिक टन, तरकारी ५ लाख १ हजार ९ सय ३७ मेट्रिक टन, आलु २ लाख ८० हजार ८ सय ५० मेट्रिक टन, उखु ६ लाख ५२ हजार १ सय ७२ मेट्रिक टन, फलफूल ९१ हजार २ सय ८७ मे.टन र मसला बाली ९१ हजार १ सय ७२ मेट्रिक टन उत्पादन रहेको छ ।