• मंसिर १० २०८१, सोमबार

खनाललाई दोस्रो अध्यक्ष बनाउन नेपालको प्रस्ताव

श्रावण १३ २०७८, बुधबार

काठमाडौं । प्रमुख विपक्षी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् ।

अध्यक्ष केपी ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरुले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि सारेका हुन् । उनले नयाँ पुस्ताका कुनै नेतालाई यो जिम्मेवारी दिए पनि मान्य हुने बताएका छन् ।

‘मैले केपीको भनाइ बुझिसकेको छु,’ नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘उनी दिन तयार छन् भने जेएन कमरेड वा तपाईंहरू दोस्रो पुस्तामध्येबाट कोही अध्यक्ष भए पनि मलाई मान्य छ ।’

खासगरी दोस्रो पुस्ताका नेताहरूले ओलीसँग मिल्न निरन्तर आग्रह गरेपछि नेपालले आफूलाई दोस्रो अध्यक्ष नचाहिने र ओलीले दिन्छन् भन्ने विश्वास पनि नभएको बताए । दोस्रो पुस्ताका नेताहरूले ओलीले कागज गरेरै दोस्रो अध्यक्ष दिने बताए पनि नेपाल पत्याउन तयार भएका छैनन् ।

एमाले महाधिवेशन २०७१ असारमा सम्पन्न भएको हिसाबले पनि सात वर्ष पुगिसकेको छ । विगतमा पाँच–पाँच वर्षमा महाधिवेशन हुने गरेकोमा अहिले दुई वर्ष कटिसकेको हुँदा ओली अध्यक्ष बनिरहन नसुहाउने समेत नेपालले बताउँदै आएका छन् । एमाले विधानमा ७० वर्ष उमेर पुगेका नेताले दलबाट अवकाश लिनुपर्ने प्रावधान छ ।

यस हिसाबले पनि ओली अध्यक्षको जिम्मेवारीबाट अलग्गिनुपर्ने आवाज उठ्दै आएको छ । विधानको उक्त प्रावधान ओलीले आफूलाई अनुकूल हुनेगरी संशोधन गराए पनि नेपाल पक्षले आफ्नो संलग्नताबेगर भएको संशोधन अस्वीकार गरेको छ ।

नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले ओली नरम भएका र निकै सच्चिएको बताउँदै आएका छन् तर, ओलीले हालै नेपाल पक्षलाई लक्षित गर्दै पार्टीमा अनुशासनहीन काम गर्नेलाई ‘एम्नेस्टी ग्रान्टेड’ भनेका थिए ।

त्यसबाट नेता नेपाल झनै आक्रोशित भएका छन् । नेपालले ‘महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, आममाफी दिइएको छ’ भन्दै ओलीको उक्त अभिव्यक्तिको विरोध गरेका थिए । त्यसपछि ओलीले माफी आफूले दिने नभई पार्टीले दिने भनेर स्पष्टीकरण दिएका थिए । यो समाचार नागरिक दैनिकमा छ ।