काठमाडौँ। मानिसको जीवनमा कुनै न कुनै बेला यस्तो क्षण आउँछ, त्यो क्षणमा मानिस निरास बन्न पुग्छ । निरास मनलाई हौसला दिने कोही नहुँदा आफूले आफैलाई सम्हाल्न जो कोहीलाई गाह्रो हुने गर्छ । खासगरी कोमल मन र ह्रदय भएका महिलाहरुलाई यस्तो कुराले छिटो प्रभाव पार्ने कुरा पनि सुन्नमा आउँछन् । तर सानो कुरामा निरास नहुनुस् जहाँ तपाईं एक्लै हुँदा पनि कुनै विषय वा कसैको जीवनको संघर्षबाट प्रेरणा लिएर अगाडी बढ्न सक्नुहुन्छ । त्यस्ता प्रेरणादायी पात्रहरु हाम्रै सामाज वरिपरी समेत हुन सक्छन् । वा तपाईंले संघर्ष गरेर देशकै लागि प्रेरणा बनेका कयौं मानिसहरुको कथा र व्यथा बुझ्नु भयोभने तपाईंलाई थप हौसला प्रदान हुनसक्छ । आज हामी नेपालका तीन प्रेरणादायी महिलाको बारेमा बुझ्न गइरहेका छौं । आउनुहोस् जानौं ती तीन प्रेरणादायी महिलाहरुको बारेमा ।
१) हिमाल आरोही पासाङ ल्हामू शेर्पा
परिचित नै विषय हो कि पासाङ ल्हामु शेर्पा एक विश्व प्रख्यात हिमाल आरोही हुन् । उनी यस कारणले प्रख्यात भइन् कि उनी विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुन् । नेपाली महिलाहरु पनि पुरुष सरह हिमाल आरोहण जस्तो गाह्रो मानिएको काम गर्न सक्षम छन् भनेर सन्देश दिने शेर्पा नेपाली महिलाहरुको कम्ति प्रेरणाको स्रोत होइनन् । १४ वर्षको कलिलो उमेरदेखि सगरमाथा चढ्न आउने आरोहीहरुको झोला बोकेर हिमालको काखमा पुगेकी शेर्पा हिमालकै फेदमा जन्मिएकी थिइन् ।
तीन पटक सम्मको प्रयासमा पनि सगरमाथाको सफल आरोहण गर्न नसक्दा समेत हरेश नखाई अन्तिममा चौथो पटकको प्रयासमा उनले सगरमाथाको चुचुरोमा नेपाली झण्डा गाडेरै छाडिन् । नेपालको पितृसतात्मक सोच भएको समाजमा जन्मिएपनि त्यसलाई आफ्नो उद्धेश्य प्राप्तिमा पासाङले कहिल्यै अवरोधको रुपमा लिइनन् । आफ्नो निरन्तर प्रयासको कारण उनले सगरमाथा आरोहण गर्ने काममा सफलता पाएर देशको नाम संसारभर चिनाइन् भने आफूलाई नेपालको राष्ट्रिय विभूती बनाउन सफल भइन् । आज पासाङ नेपाली महिलाहरुको साहस र वीरताको प्रयायावाचीको रुपमा समेत चिनिएकी छिन् । उनी नेपाली महिलाको गौरवको विषय हो ।
२) कृति राज्यलक्ष्मी
कृति राज्यलक्ष्मी, सायद तपाईंले पहिलोपल्ट सुनेको नाम समेत हुन सक्छ । हो नेपालको इतिहासमा कृति राज्यलक्ष्मी एक विराङ्गना हुन् । उनी नेपाल एकीकरण हुनुभन्दा पहिले नै नेपाली भूमिमा महिलाले पनि युद्ध लड्न सक्छन् भनेर उदाहरण बनेकी एक साहसी महिला पात्र हुन् । तपाईंलाई थाहा नै होला पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा सबैभन्दा कठिन भएको लडाईं भनेको कृतिपुरलाई जित्नु नै थियो । गोर्खाली फौजले कृतिपुरमा दुई दुई पटक हार खाएको थियो । पुरै नेपाल नै एकीकरण गर्ने महान लक्ष्य लिएको गोर्खाली फौजलाई कृतिपुरमै दुई चोटी धुलो चटाउने कृतिपुर राज्यकी राजकुमारी कृतिराज्यलक्ष्मी नै थिइन् ।
वास्तवमा हारेका मानिसहरुको इतिहास जितेकाले नष्ट गर्ने एउटा गलत परम्परा नभई दिएको भए सायद आज संसारमा कृति राज्यलक्ष्मी धेरै प्रख्यात हुने थिइन् होला । किनकी कयौं देशहरु बनि नसकेको त्यो समयमा महिलाले युद्धमा सामेल भएर सेनापतिको रुपमा दुश्मनको पुरै फौजलाई लडाईंको मोर्चामा धुलो चटाउने क्षमता राख्ने महिला नेपालमा मात्रै थिइन् त्यो समयमा । उनले आफ्नो कृतिपुर राज्यको लागि ठूलो योगदान दिइन् । राज्यको रक्षा र संरक्षण छोराहरुले मात्र गर्न सक्छन भन्ने मान्यतालाई पुरै तोडेर छोरीले पनि देशको लागि, राज्यको लागि ठुलो योगदान दिन सक्छिन भन्ने संसारको पहिलो उदाहरण सायद उनी नै थिइन् । नेपालको इतिहासमा त उनीभन्दा पहिले महिलाले युद्ध लडेको कहिँ कतै देखिँदैन नै । सम्भवत संसारमै यस्तो छैन होला । उनको बारेमा बुझ्दा डराएर होइन साहस लिएर मात्रै अगाडी बढ्न सकिन्छ भन्ने सन्देश लिन सकिन्छ । ‘कृतिपुर’नामको नेपाली कथानक चलचित्रमा कृति राज्यलक्ष्मीको वीरताको बारेका हेर्न समेत सकिन्छ ।
३) झमक घिमिरे
झमक घिमिरे नाम कथमकदाचित तपाईंले सुन्नु भएको नभए पक्कै पनि तपाईंले ‘जीवन काँडा कि फूल’ भन्ने शब्द त सुन्नु भएकै होला । ‘जीवन काँडा कि फूल’ नामको पुस्तककी लेखिका हुन् झमक घिमिरे । घिमिरे केवल एक लेखिका मात्रै नभएर संसार भरिकै मानिसहरुको लागि एक प्रेरणाको खानी नै हुन् । अशक्त र अपाङ्गहरुले जीवनमा केही गर्न सक्दैनन् भन्नेहरुलाई आफ्नो प्रेरणात्मक कामले मुखभरिको जवाफ दिने एक अपाङ्ग तर सफल नारी हुन् झमक झिमिरे । लुलो हातखुट्टा र विकलाङ्ग शरीर लिएर जन्म लिएकी घिमिरे एक गरिब परिवारमा जन्मिएकी हुन् । परिवार गरिब त्यसमा उनी अपाङ्ग । बाल्यकालमा उनलाई दुई छाक खान समेत मुस्किल हुन्थ्यो । अपाङ्ग भएर जन्मिएको हुनाले उनलाई सबैले व्यवास्ता गरे तर उनकी हजुरआमाले पाँच वर्षसम्म उनलाई हुर्काइन बढाइन् ।
अपाङ्ग भएकोले उनलाई विद्यालय जानबाट समेत बञ्चित हुनुपर्यो तर आफ्नी बहिनीका पुराना पुस्तकहरुबाट उनले अक्षर चिनिन् । बहिनीले पनि उनलाई सक्दो सहयोग गरिन् । उनको जीवनमा अर्को बिडम्बना उनको हेरचाह गर्ने उनकी हजुरआमा उनी पाँच वर्षको हुँदा नै यो संसारबाट बिदा भईन् । हजुरआमा नहुँदा उनलाई फेरि सबैले हेलाको व्यवहार गर्न थाले । समाजले उनलाई अलच्छिना, आफन्त टोकुवा भनेर समेत लान्छना लगाए । कतिले त उनलाई पूर्वजन्मको पापले अहिलेको जन्ममा अपाङ्ग भएर जन्मिएको समेत भने । उनलाई कतिसम्म अपहेलना गरियो भने उनका आफन्त र ठूलाबडाहरुले दशैंमा टिका लगाएर आशिर्वाद दिँदा समेत उनलाई चाडै मरेस भनेर आशिर्वाद दिन्थे । आफ्नी हजुरआमाको निधनपछि उनले हात नचल्दा आफ्ने खुट्टाले मुछेर पनि खाना खाइन् । कालान्तरमा उनले आफ्ना दुःखका कथा व्यथा समेटेर एउटा किताब लेखिन जसको नाम हो ‘जीवन काँडा कि फूल’ । २०६७ सालमा उनको सो पुस्तकले नेपाली साहित्यमा चर्चित मदन पुरस्कार पायो । उनी नेपाली साहित्यकी प्रतिभाशाली लेखिका रुपमा गनिइन् ।