चुनावभन्दा एक दुई दिनअगि काठमाडौँमा कम्युनिस्टहरुले विशाल जुलुस निकाले । वामपन्थी नेता नारायणमान जुलुसमा सहभागी हुन चाहन्थे तर उनीसँग एक मोहर मात्र थियो । भक्तपुरबाट काठमाडौँ आउन बसलाई एकतर्फी एक मोहर भाडा तिर्नुपर्ने, फर्किन र खाजाका लागि थप अरु दुई मोहर थिएन । उनी ढिलो पुगे । बाटोभरि अबिर छ होली जस्तो । अब कता जाने, थाहै भएन । जता धेरै अबिर थियो, त्यतै गए विजुक्छे ।
कांग्रेस नेता गणेशमान सिंहका प्रतिस्पर्धी सहिद गङगालाल श्रेष्ठका भाई पुष्पलाल थिए । जनतामा राणा विरोधी भावना थियो । पुष्पलाल राम्रा वक्ता थिए । नेपाली र नेवारी भाषामा टोलटोलमा भाषण गर्थे । विजुक्छे भन्छन्,‘अहिले जस्तो नेताले पैसा खाए भन्ने पनि थिएन । राम्रो छवि थियो । कांग्रेस र कम्युनिष्टबीच हिजोआज जस्तो कटुता थिएन, सैद्धान्तिक बहस भने राम्रैसँग हुन्थ्यो ।
पुष्पलालसँग चुनाव लडेको भए पनि थुप्रै भोट ल्याएर जित्छु भन्ने विस्वास थियो गणेशमानलाई । उनी आफूलाई जनताको नेता भनेर गर्व गर्थे ।’
राजनीतिक अडानमा कडा भए पनि सिंहलाई असाध्यै हँसिमजाक गर्नुपर्ने । भाषण पनि हँस्यौली पाराबाट गर्थे । विजुक्छे सम्झन्छन्,‘गणेशमानजी अलि कडा बोल्नुहुन्थ्यो र हँसाउनु पनि हुन्थ्यो । भन्नुहुन्थ्यो ‘हेर कम्युनिस्ट आयो भने दाल, भात, तरकारी सबै कुरा सरकारी हुन्छ ।
पूर्वप्रधानमन्त्री डा. केआई सिंह पनि कांग्रेस र कम्युनिस्ट दुवैलाई छेड्छाड गर्थे । त्यो टङ्कप्रसाद आचार्य केको नेता, त्यो त सिमेन्टको बोरा हो भनेर मान्छे हसाउँथे । गणेशमानमाथि व्यङ्ग्य गर्दै सिंह भन्ने गर्थे, गणेशमान, त्यो जिउभरि गु लाएर भाग्ने मान्छे केको वीर ? सिंहदरबारलाई २४ घण्टा कब्जा गर्ने म केआई सिंह पो वीर ! उनी मञ्चमै गीत गाउँथे (धनको बाला, सिंहको चुनाव चिह्र, झुल्यो हजुर देशै रमाइलो ।) सिंह कांग्रेसको खुब विरोध गर्थे । सेनामा निकै लोकप्रिय थिए ।
कांग्रेस, कम्युनिस्ट पार्टीको जुलुसमा विद्यार्थी, बुद्धिजीवी बढी देखिन्थे तर सिंहको जुलुसमा पूर्व सैनिक र पाका मानिसहरु हुन्थे । हिजोआज जस्तो तल्लो स्तरको आलोचना कहिल्यै भएन । अचेल जस्तो जागिर दिन्छु, बाटो बनाइदिन्छु, विकास गर्छु, ठेक्का मिलाइदिन्छु भन्ने आश्वासन दिएर कसैले भोट मागेको सुनिएन । चुनावको शैली असाध्य राम्रो थियो ।
मतगणनाका लागि गाउँगाउँबाट बाकस काठमाडौँतर्फ ल्याउने काम भइरहँदा विजुक्छे शम्भुराम श्रेष्ठको निवासमा गए । त्यहाँ नेताहरू हामी जित्छौँ भन्दै थिए तर आफू एजेन्ट बसेको धर्मस्थलीमा त साह्रै कम मत आउने रिपोर्ट विजुक्छेले सुनाए ।
काठमाडौँमा कांग्रेस नेता गणेशमान सिंह र वामनेता पुष्पलाल श्रेष्ठबिचको प्रतिस्पर्धालाई निक्कै चासोका साथ हेरिएको थियो । सुरुका दिनमा कांग्रेससँग आबद्ध पुष्पलालले नै २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । गणेशमानका प्रतिस्पर्धी श्रेष्ठ गलमा माला लाएर काठमाडौँका चोक र गल्लीहरुमा पुग्दा पुष्पलाल जित्यो जित्यो ।
‘गणेशमान हरियो हरियो’ भन्ने नाराबाजी हुने गरेको थियो । उम्मेदारी दर्ता गर्ने समयमा सिंहका कार्यकर्ताहरुले भनेका थिए (गणेशमान दाइले दुई (चारवटा आमसभालाई सम्बोधन गरिदिए हुन्छ । अरु हामी समाल्छौँ । तपाईं देशभर पार्टीको चुनावी अभियानमा जानुहोला । चुनाव जिताउने कम हाम्रो हो तर चुनाव आउन थालेपछि सहरभरी गणेशमान हार्दै छन् भन्ने हल्ला चल्यो । सिंह मत माग्न टोल टोलमा पुगे । अन्तिम समयमा त उनले हरेक घरका ढोकाचोटासम्म पुग्नुपर्यो । पार्टीको पक्षमा माहोल बनाउन देशभर घुम्ने चाहना थियो सिंहको तर उनी आफ्नो क्षेत्र बाहिर जानै सकेनन् । बीपीले भनेका छन्,‘गणेशमानजी चुनावी अभियानमा सक्रिय थिए तर उनी आफ्नो चुनावी क्षेत्रबाट प्रतिष्ठाको लडाईंमा उत्रिएका थिए । त्यसैले उनीसँग चुनावी अभियानमा जिल्ला जिल्ला घुम्ने समय नै भएन । गणेशमानजी जस्तै अरू ठूला नेता पनि चुनावमा उठेका थिए । उनीहरु पनि आफ्नै क्षेत्रमा व्यस्त भए ।’ (कोइराला,२०७१, १०९)
सिंह हार्छु कि भनेर असुरक्षित महसुस गरिरहेका थिए । ज्यानको बाजी लगाएर राणा विरुद्ध सङघर्ष गर्ने गणेशमान, मतदान सकिएपछि हारियो भने त साह्रै बेइज्जत हुन्छ भनेर मतगणना अवधिभर उनी बनेपा गएर बसे, काठमाडौँबाट चुनाव जितेको खबर सहित जिप पठाएपछि मात्र उनी उतैबाट विजय जुलुसका साथ काठमाडौँ आए । काठमाडौँमा रत्नपार्कस्थित हाल विद्युत प्राधिकरणको मुख्यालय रहेको स्थानमा सिंहका समर्थकहरूले विजय सभा आयोजना गरेका थिए ।
बनेपाबाट आएर सिंहले सिधै त्यही सभालाई सम्बोधन गर्दै आक्रोशित मुद्रामा भने ‘काठमाडौँको जनता दास नै हो । मैले यही जनताको मुक्तिका लागि ज्यानको बाजी लगाएर राणासँग लडें तर आज म झन्डै हारेको त्रिपक्ष्ीाय भिडन्त भएका कारण केही मत अन्तरमा मात्र जितें ।’ त्यसदिन उनी भक्कानिए । निर्वाचनमा गणेशमानले १०,९८६ , पुष्पलालले ७,८४८ र प्रेबहादुर शाक्यले ७,१७७ मत पाएका थिए । काठमाडौँ उपत्यकाको क्षेत्र नं १ २७,३९४ मत खसेको थियो । त्रिपक्षीय प्रतिस्पर्धा भएकाले उनी तिन हजार मतको अन्तरमा विजयी त भए तैपनि कम मतको अन्तरमा जित्दा सिंहलाई फिटिक्कै चित्त बुझेको थिएन ।
उनी जति बेला पनि फतफताइ रहन्थे ‘मामपाकाहरु , स्वागत गर्ने बेलामा पचास हजार मान्छे आउँछ, भोटचाहीँ दश हजार ।’ कम्युनिष्टहरुले २००७ सालको क्रान्तिलाई धोकाको संक्षा दिएका थिए । राणाशाहीबाट जनतालाई मुक्त बनाउने आन्दोलनबारे उनीहरुको मुल्याङ्कन त्यति विश्वासिलो थिएन । वामनेता विष्णुबहादुर मानन्धर भन्छन्,पछि हामीले महसुस गर्यौं, वास्तवमा त्यो धोका थिएन । त्यसकारण पनि हामीले कम मत आयो र हामी हार्यौं । हाम्रा नेताहरुले जति कुरा गरेका थिए । त्यस अनुरूप सङ्गठन विस्तार र काम हामीले गर्न सकेका थिएनौं ।
बारा रौतहटजस्ता तराईका जिल्लामा भएका किसान आन्दोलनले वामपन्थीहरुप्रति आकर्षण बढेको थियो । फलानो ठाउँमा जम्मा हुने भनेर पार्टीले चिठी लेख्यो भने एकै पटक दशौं हजार किसान जम्मा हुन्थे । अनियन्त्रित भिडलाई नियन्त्रण गर्ने परिपक्व नेतृत्व थिएन ।
अनि ठाउँठाउँमा तोड्फोड र लुटपाट भयो । रौतहटको आन्दोलनमा विरगञ्जबाट गएको प्रहरीले दमन गर्यो । ७ जना घाइते भए । २२ जनालाई पक्राउ परी नक्खु जेल चलान भए । सो घटना हुँदा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री थिए ।
उनले राजीनामा गरेपछि राजाले केआई सिंहलाई प्रधानमन्त्री बनाए । सिंहले आफै नक्खु जेल पुगेर बन्दीहरुलाई रिहा गरिदिए । त्यहाँ उनले भाषण पनि गरे । ‘यिनीरु केको कम्युनिष्ट । यी नक्कली हुन् । खास वामपन्थी त म हुँ । सिंहदरबार कब्जा गर्ने क्रान्तिकारी मै हो । हिमालय पारगरी चीनमा चार वर्ष प्रवासी जीवन मैले बिताएँ । खै के गरे यिनीहरुले ? त्यसैले म हो सच्चा कम्युनिष्ट ।’
केआई सिंहको भाषणबाट प्रभावित भएर धेरै वाम कार्यकर्ताले पार्टी छोडेर उनलाई साथ दिए । मानन्धर भन्छन्,‘त्यही कारण काठमाडौँ १ मा पुष्पलाल चुनाव हारे । रौतहटमा पनि हामीले एक सिट गुमाउनु पर्यो । अर्कोतर्फ रौतहटमा चुनाव हुनुअघि कांग्रेसले बहुमत सिट जितिसकेको थियो । मानिसहरु भन्न थाले ‘यिनको भोट देकर क्या होगा ? कम्युनिष्ट पार्टीकै कार्यकर्ताहरुले समेत हार्नेलाई के भोट दिने ? भनेर आधा भोट कांग्रेसर आधा गोर्खा परिषदलाई बेचिसकेका थिए । त्यो कुरा थाहा पाएर वामपन्थी नेता तुलसीलाल रातारात रौतहट पुगे । राति १२ बजे अमात्यले गौरमा भेला बोलाएर सबैलाई हकारे ‘तपाईंहरुले के गरेको ? कहीँ भोट पनि बेच्ने कुरा हो ?
किसान आन्दोलनका कारण रौतहटमा अमात्यको राम्रो छवी थियो । मत बेचिसकेका वाम कार्यकर्ताले मतदान बेला पार्टीलाई नै मत खसाले । जसका कारण रौतहटमा दुई सिटमा कम्युनिष्ट उम्मेदवार विजयी हुन सके । त्यति बेला हिजोआज जस्तो बुथ क्याप्चर गर्ने चलन थिएन । मतपत्र थियो, भिजिटिङ कार्ड जस्तो सादा कागज ।
मानन्धर भन्छन्, ‘कांग्रेस र गोर्खा परिषदका उम्मेदवारहरुले मज्जाले भोट किने मतपत्र
ल्याएर दिने मतदातालाई १० देखि ५० रुपैयाँ दिएको हामीले थाहा पायौं । मतदाता लाइनबाट मतपेटिकासम्म पुग्थे र मतपत्र खल्तीमा हालेर फर्किन्थे । अनि जसले किन्ने भनेको छ । पैसा लिएर उसैलाई दिन्थे । मत किन्नेहरू ती मतपत्र आफ्ना विश्वासिला म, मानिसलाई मतपेटिकामा हाल्न लगाउँथे ।’
जगत नेपालद्धारा लिखित ‘पहिलो संसद, बीपी-महेन्द्र टकराव’ पुस्तकबाट ।