• फाल्गुन २७ २०८२, बुधबार

महेश बस्नेत भन्छन्,‘न माधव कमरेडलाई थर्काएको छु न संग्रौलालाई धम्क्याएको छु’

श्रावण ११ २०७८, सोमबार

काठमाडौँ । नेकपा (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले आफूले लेखक खगेन्द्र संग्रौलालाई कुनै धम्की नदिएको दावी गरेका छन् । सोमबार सामाजिक संजालमा एक पोष्ट गर्दै बस्नेतले आफूले उनलाई धम्क्याएको भनेर संग्रौलाले गफ दिएका धाराणा व्यक्त गरेका छन् ।

लेखक संग्रौलालाई ‘बाजे’ भन्दै गाली शिरोमणिको उपमा दिँदै बस्नेतले आफूलाई भने भक्तपुरको असल परिवारमा हुर्केको मान्छे बताएका छन् । आफू राजनैतिक रुपमा जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने पार्टी एमाले र उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी भएको उल्लेख गर्दै जेष्ठ नागरिक र अग्रजहरुसँग सेवा र आदर भावका प्रस्तुत हुनु आफ्नो स्वभाव भएको बस्नेतले आफ्नो पोष्टमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले, उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।’ उनले अगाडी भनेका छन्, ‘न खगेन्द्र बाजेलाई धम्की दिएको छ, न माधव नेपाल कमरेडलाई थर्काएको छ, न त्यसो गर्न आवश्यक नै छ ।’

आफूहरुले घोषणा गरेको युथ फोर्सले ‘जाई कटक नगर्नु झिकी कटक गर्नु’ भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई पछ्याएको समेत उनले बताएका छन् । युथ फोर्सबाट एमाले पंक्ति र जनतासँग शत्रुता साँध्ने शक्ति बाहेक अरु कोही त्रसित हुन आवश्यक नभएको बस्नेतको भनाई छ ।