वर्षभरी रहेका मुख्य छ ऋतुमध्ये वर्षा ऋतु आरम्भ भएको छ । पूर्वीय दर्शनअनुसार श्रावण र भाद्र महिनालाई वर्षा ऋतु भनिन्छ । विश्वका विभिन्न मुलुकपिच्छे ऋतुहरु फरक हुन सक्छन् । वास्तु शास्त्रको पाँच प्रमुख विषयमध्ये पानी एक प्रमुख विषय हो । पृथ्वीमा जमिनभन्दा पानीको मात्रा दुई तिहाइले बढी छ ।
सूक्ष्म ब्रह्माण्ड हाम्रो स्थूल शरीर पनि वास्तु शास्त्रकै पाँचतत्वको समिश्रण हो र पाँचतत्व मध्ये पानीको मात्रा नै यसमा अधिक रहेको छ । वाह्य संसार भन्नु माटो र पानीको खेल हो भने भित्री संसार हाम्रो शरीर र मन मस्तिष्कलाई शीतल जलको सदैव आवश्यकता हुन्छ । हाम्रो खानामा पनि पानीको मात्रा नै बढी हुन्छ । हामी बसेको जमिनमुनि पानीको अथाह जल भण्डार छ । हाल चिकित्सकहरु भन्छन्, शरीरको तौललाई २० ले भाग गर्दा हुन आउने अंक बराबर त्यति लिटर दैनिक पानी पिउने गर्नु पर्छ । अर्थात् ६० किलो वजनकोे मानिसले दिनमा ३ लिटर पानी पिउनु पर्छ ।
पुर्वीय शास्त्रले पानीको व्यवस्थापन, पानीको स्रोत र यसको निकास, पानीको उपचार पद्धति, प्रदूषणमुक्त पानीको आपूर्ति, त्यसको भण्डारण, घरभित्र र घरबाहिर पानीको आपूर्ति स्थिति देखि निष्कासन पद्धतिसम्ममा विशद चर्चा गरेको छ । घरभित्र भूमिगत पानीको व्यवस्था इनार वा धाराको स्थिति, स्नानघरको दिशा निर्धारण, पानीको बहाव अध्ययनदेखि खेती किसानी कार्यमा प्रदूषणमुक्त पानीको आपूर्तिबारे समेत चनाखो रहन निर्देश गरेको छ ।
स्वच्छ र पवित्र जलमा रहने जलचरहरुको स्थिति, तालतलैया, नदी संरक्षण, भूक्षय निवारणदेखि वृक्षरोपणसम्म, कलकारखानाबाट निस्कने विषादी तत्वयुक्त पानीबाट जलचर, स्थलचर, वायुचरहरुलाई पर्ने प्रभावदेखि विषादी पानीबाट उब्जनी भएका खाद्य बाली नालीहरुबाट मानवका लागि असाध्य र कडा क्यान्सर जस्ता रोगबाट पीडित हुनुपर्ने र घरवरिपरी, टोल, छिमेकहरुमा अस्पताल, प्रयोगशाला, चिकित्सक, औषधालयहरुको वृद्धिले मानव मनस्थिति आक्रान्त बन्न सक्छ !
पानीको बहावस्थिति, यसको वैज्ञानिक अध्ययन र विश्लेषण एवं समुचित प्रबन्ध हुन नसक्दा ठूला नदीहरुबाट पर्ने दुष्प्रभावका कारण कतिपय हामी घरबार बिहीनसम्म बन्न पुगेका छौँ भने वर्षेनी मलिलो माटो र नवीनतम ऊर्जालाई खेर फालिरहेका छौंँ । काठमाडौंँ उपत्यकास्थित पवित्र वागमती, विष्णुमती, इक्षुमती, रुद्रमतीमा अब पानीको बहाव होइन ढलको बहाव मात्र भेटिन्छ । विषादीका कारण वागमतीमा वर्षमा आठ महिना ढल बग्ने गर्छ भने बाँकी चारमहिना वर्षे मैलो भेल बग्ने गर्छ । त्यसकारण जलचरहरु नरहने विषयुक्त नदीमा स्नान गर्न हुन्न ।
शास्त्रीय दृष्टिले घरभित्रको पानी निस्काशन गर्दा पूर्वतर्फ, उत्तरतर्फ वा ईशानकोण तर्फबाट निस्कासन गर्नुपर्ने हुन्छ । घरको पश्चिमतर्फबाट पानी निस्कासन गर्नाले बढी आर्थिक क्षति हुन्छ भने दक्षिणतर्फबाट निस्कासन गरेमा परिवारमा अनावश्यक स्वास्थ्य सम्वन्धी समस्या देखापर्ने गर्छ । घरको पानी र सेफ्टी टयांकीको पानी एकैसाथ निष्कासन गर्नु पनि हुँदैन । छानामाथिको पानी वा खाली जमिनको पानी वा आँगन, चोक, बारी आदिको पानीको निस्कासन पद्धति पनि यस्तै किसिमको हुनुपर्छ ।
घरको ठीक ईशान दिशामा इनार वा बोरिङ्ग वा हल्का गहिरो क्षेत्र शास्त्रीय दृष्टिले शुभ मानिन्छ । ठीक ईशान दिशामा संभव नभए पूर्व या उत्तर पनि इनारको लागि शुभ मानिन्छ तर दक्षिण, नैऋत्य दिशामा रहेको इनारले रोग, अशान्ति, धनको हानि शरीर पीडा आदिको संकेत प्राप्त हुन्छ । वायव्य वा पश्चिम दिशामा पनि इनार शुभ हुँदैन । अग्निभय, शत्रु पीडा, सन्ततिक्षय र आर्थिक संकट आदि घरको इनार नमिलेकै कारण हुने गर्छ । त्यसैगरी भूमिगत टयांकी पनि सर्वोत्तम क्षेत्र घरको इशानदिशा नै हो । इशानकोण संभव नभए उत्तर या पूर्वतर्फ पनि उत्तम हुन्छ ।
जमीन सतहभन्दा अग्लो हुनेगरी भने ट्यांकी बनाउनु हुँदैन । हिजोआज घरभित्र र त्यसमा पनि कोण पर्खालमा पर्नेगरी भूमिगत ट्यांकी निर्माण गर्ने गरेको देखिन्छ, त्यो शुभ लक्षण होइन । छानामाथिको ट्यांकी भने नैऋत्य दिशा सर्वोत्तम हो । नैऋत्य दिशामा संभावना नरहे वायव्य दिशामा छतको ट्यांकी राख्न सकिन्छ । घरभित्र स्नान गृह भने घरको पूर्वदिशा सर्वोत्तम हुन्छ । अन्य दिशातर्फ पनि स्नान गृह बनाउन सकिन्छ ।
तर स्नान गर्दा, हात-मुख, धुँदा जहिले पनि सकेसम्म पूर्व या उत्तर वा पूर्वोत्तर फर्कनुपर्ने हुन्छ । गीजरको प्रवन्ध भने स्नान गृहको पूर्व दक्षिण कुनामा गर्नुपर्ने हुन्छ भने वासबेसिन, ऐना आदिको प्रवन्ध उत्तर-पूर्व मा नै गर्नुपर्ने हुन्छ । घरबाहिरको स्नान गृह अन्य दिशामा पनि राख्न सकिन्छ तर घर-भवनको भित्तामा टाँस्नु भने हुँदैन । ठूला महलहरुमा पानीको प्रबन्ध हरेक तला पिच्छे छुट्टाछुट्टै गर्नुपर्छ र यसो गर्दा उत्तर-पूर्व तर्फ नै पिउने पानीको प्रबन्ध गर्नुपर्छ ।
वर्षा ऋतुमा वृक्षरोपण गरी सदैव हरियाली निर्माण गर्न सके समस्त दिवंगत पितृहरु खुसी हुन्छन् । वृक्षरोपण गर्नु भनेको पितृयज्ञ नै हो । घाम झुल्किए झैं झुल्केको मेलम्ची हाल त बेलैमा अस्ताएको छ, काठमाडौँबासी काकाकुल बनेका छन् । स्वदेशी विदेशीहरु रानीपोखरीमा पानी चाहन्छन्, त्यसैले टँंकरबाट खन्याइएको छ । वृक्ष वरिपरी नै पानी बढी हुन्छ । अरुको लागि पानीको प्रबन्ध गर्नु भनेको महा-पुण्यप्राप्ति गर्नु हो ।
जहाँ सीमसार क्षेत्र वा जलाशय हुन्छ त्यहाँको प्रकृति रमणीय हुन्छ र जलचरहरु संरक्षित महसूस गर्न सक्छन् । जलचर हाम्रा अभिन्न मित्र नै हुन् । जीवमात्रको कल्याण मानिसको ठूलो धर्म हो । मानिसले केवल आफू नालागि मात्र पानीको प्रबन्ध गरेर हुँदैन अरुको लागि पनि गर्नुपर्छ । कुवा, तलाउ, धारा निर्माण गर्ने मानिसले जीवनमा अन्य बस्तु दान गर्नु पर्दैन भनिएको छ । आफूले निर्माण गरेको कुवा, तलाउ क्षेत्रमा सधैभरी पानी रह्यो भने उसलाई विषम संकटको घडी कहिल्यै देखापर्दैन ।
वर्षा ऋतुमा निर्माण भएका कुवा आदिमा शरद ऋतुसम्म पानी रह्यो भने त्यस्तो व्यक्तिले एकहजार गोदानको पुण्य प्राप्ति गर्न सक्छ । वर्षा ऋतुमा निर्माण गराएको ईनार, कुवामा हेमन्त वा शिशिर ऋतुसम्म पानी रहेमा धेरै स्वर्णमुद्रा दान गरेको पुण्य मिल्छ । हिजोआज असारे विकासले घरवरिपरी, बाटोघाटो सबै पीच गर्ने परिपाटीले वर्षाको पानी जपमनभित्र जान सकेको छैन र भूमिगत पानीको हालत हामीलाई थाहै छ । ईनार, जलाशय, नदी, कुवा, निर्माण गर्ने क्षेत्र प्राय शहरीक्षेत्रमा देखापर्दैन तर पनि सत्यरुपी तीर्थ नै विशाल, सिद्ध र पवित्र जलाशय हो यसमा योगाभ्यास गरी मनद्वारा सात्विक र प्रदूषणमुक्त स्नान गर्न सके माथिको पुण्य प्राप्त गर्न कठिन छैन ।
पिपल र तुलसीले धेरै पानी बोक्छ । तुलसीको विशेष पर्व आषाढ शुक्ल एकादशी अर्थात् चतुर्मासको आरम्भ भइसकेको छ । प्रत्येक तिथि र बारका स्वामीहरु अलग अलग रहेकाछन् । द्वादशीका स्वामी विष्णु हुन्, विष्णु भन्नु तुलसी नै हो । तुलसीको शाब्दिक अर्थ ‘तु’ भन्नाले तुरीय अवस्था मानवको मस्तिष्क ज्ञानको अभिव्यक्ति बुझिन्छ । ‘ल’ को अर्थ वैराग्यको प्रतीक हाम्रो स्थूलशरीर भाग शेष अर्थात् ‘लक्ष्मण’ बुझिन्छ र ‘सी’ को अर्थ हुन्छ हाम्रो हृदयको प्रतीक भक्ति ‘सीता’ हो ! हाम्रो मस्तिष्कमा ज्ञान र विज्ञान, हृदयमा भक्ति र वाह्य शरीरमा वैराग्यको त्रिवेणी भन्नु नै तुलसी उपासनाको मूल ध्येय हो ।
घर, महल, मठ, मन्दिरहरुमा र चतुर्मास अवधि आषाढदेखि कार्तिकसम्ममा तुलसीको विशेष चिन्तन हुने गर्छ । तुलसी वृक्ष, उपासना वा मोठ भएका घरमा वास्तुदोष पनि रहँदैन । आवास गृहहरुमा अन्य वृक्ष, रुखहरुले छायाँ परेका भए वास्तु दोष मानिन्छ भने तुलसी वृक्षको छायाँ परेमा वास्तुदोष मेटिन्छ । शास्त्र अनुसार तुलसीको मोठ गमला आदि सजाउने कार्य उत्तर, पूर्व या पूर्वोत्तर गर्नुपर्छ । तुलसी वृक्षबाट विघ्न, बाधाहरु हट्छन् । मनको भय, अशान्तिहरु दूर हुन्छन् ।
रोगनाशक शक्ति हुन्छ तुलसीमा ! आपत उद्वारक बीज शक्ति तुलसीको उपासना गरेरै अपहरित सीतालाई रावणरुपी क्रोध, भय, हिंसाको अनि तनावको स्थितिबाट मुक्त गर्नु भएको थियो श्रीरामले ! पञ्चवटी क्षेत्रमा आफ्नै हातले जलसेचन गर्दै तुलसी प्रार्थना गरेको र उनै राम द्वापरयुगमा कृष्ण भई धर्ती अवतरित भएर वृन्दावन सुरम्य भएको हो । वृन्दा भन्नु तुलसी नै हो, यसको विशालताले त्यो क्षेत्र वृन्दावन भएको हो । तुलसी वृक्षक्षेत्र आपैmमा पवित्र हुन्छ, नयाँ ऊर्जा पनि दिन्छ । मृत्युशैयामा पुग्न लागेकाहरुलाई यसले ‘मृतसञ्जीवनी’को काम गर्छ ।
तुलसी दर्शनले शरीरको सबै प्रकारको अभिष्टफल प्राप्त हुन्छ । घरघरमा तुलसीको स्थापना गर्नाले परमेश्वर सदा शिव सदैव प्रसन्न हुनुहुन्छ । तुलसी दललाई वैधृतियोग, व्यतीपातयोग, भृगुबार, मङ्गलबार, औँसी, पूर्णिमातिथि, द्वादशी, आशौचसमय र सूतकमा टिप्नु हुँदैन । तुलसीका सुप्रसिद्ध आठ नामहरु मध्ये–‘वृन्दा’, ‘वृन्दावनी’, ‘पुष्पसारा’ ‘नन्दिनी’ हो जसको अर्थ हुन्छ–सारा विश्वलाई पवित्रतम बनाउने ! विश्व ब्रह्माण्डको उदय धर्तीको मूल तत्व पाँच भौतिक पदार्थ हो । वास्तु शास्त्रको स्रोत अग्निपुराण, अथर्र्ववेद, उपनिषदहरुदेखि मत्स्य पुराणसम्म र अनेकौँ पूर्वीय धरोहर, साहित्य नै हुन् ।
यसै अन्तर्गतको छुट्टै पुराण ब्रह्मवैवर्त पुराणले तुलसीको व्यापक चर्चा गरेको छ । तुलसीसँग वायुप्रदूषण मुक्त गर्ने क्षमताको साथै जल प्रदूषणको मुक्तिको क्षमतासमेत रहेको छ । यमुना तटमा द्वापर युगमा तुलसी वृक्ष भए पनि हाल कलियुगका नदी किनारमा तुलसी वृक्ष निषेध छ । जीवनका सञ्चालक जलशायी विष्णु र विष्णुको प्रतीक तुलसी अनि वर्षा ऋतुसँग घनिष्ट सम्बन्ध छ । वर्षाको पूर्वाभ्यास सँगसँगै अन्नको मूलस्रा्रेत जल भण्डार वितरण यसै आषाढदेखि नै हुने गर्छ ।
विस्तारै जलको वर्षा कमहुँदै जीवनको मूल स्रोत अन्न भण्डारको थालनी कार्तिक मार्गसँगै तुलसीको पूजा समापन हुने गर्छ । जीवनको उदय भनौँ सृष्टि जलबाटै हुने हो र रक्षा अन्नबाटै हुने हो । जल र अन्न दुवैका लागि वायु र माटो आवश्यक छ । जीवन पनि वस्तुकै पर्याय हो । यसर्थ जीवन र हाम्रो समस्त जगत व्यवस्थित सञ्चालनका लागि प्राप्त पूर्वीय चिन्तन मुताविक आफूलाई सहज ग्रहण गर्ने क्षमता राख्दा आफू, आफ्नो परिवार, समूह, समाज, राष्ट्र र पूरै विश्व एउटा परिवारमय हुनपुग्छ ।