काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमा आत्मालोचना गरेर आए पार्टीमा रहनेबारे सोच्न सकिने बताएका छन् । निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गल्ती स्वीकारेर आए पार्टीले विचार गर्ने बताए ।
‘हामीले कसैलाई घोक्र्याएर निकालेका होइनौं,’ उनले भने, ‘आफै बाटो बिराएर आफै जानुभयो । मौका दिएकै हो । अध्यक्ष पनि बनाएकै हो । प्रतिगमनकारीलाई साथ दिनु गलत थियो । त्यो कार्य गरेको सार्वजनिक रूपमा आत्मालोचना गरेर आउनु भयो भने पार्टीले विचार गर्छ ।’
उनले आफूहरू पक्षमा दुई तिहाइ सदस्यले सनाखत गरेकोसमेत दाबी गरे ।
आयोगले आज जसपाका नेताहरूको सनाखतपछि आयोगको इजलास बसेर आधिकारिकताबारे निर्णय गर्नेछ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।