• फाल्गुन २७ २०८२, बुधबार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल  र रानाबीच चर्काचर्की

श्रावण १० २०७८, आईतवार

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आज विवादै विवाद चलेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक बसेको समितिको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सांसद नारदमुनि रानाबीच चर्काचर्की चलेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा गरेको कामको समीक्षा हुँदै थियो । तर बैठकमा सांसदहरुबीच भने भनाभन चलिरहेको थियो ।

एमाले सांसद रानाले नेता नेपाललाई आफ्नै सरकार ढालेको भनेर  आक्षेप लगाउदै  यो संसद जनादेशबाट नभई परमादेशबाट आएको टिप्पणी गरे ।

आफ्नै पार्टीका प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा सुतेर बसेर आफ्नै सरकार ढाल्ने भन्दै नेपाललाई अहिले पार्टी विवादको मुख्य दोषी माधव नेपाल रहेको भन्दै यसको जिम्मा उनैले लिनुपर्ने बताए ।

आफूमाथि निरन्तर खनिएपछि नेता नेपालले प्रतिगमनको मतियार बनेर बैठकमा बोल्न नपाइने बताए  । उनले रानातिर चोर औला ठड्याउँदै भने, ‘प्रतिगमनको मतियार भएर यहाँ बोल्न पाइँदैन । अहिले राजीनामा दिनुस्, गइहाल्नुस् ।’

समिति सभापति पवित्रा निरौला खरेलले समितिको विषयमा बोल्न रुलिङ गरिन् । ‘पार्टीको कुरा पार्टीमा गर्नुस्, समितिमा समितिकै विषयमा बोल्नुस्’ उनले भनिन् ।