• मंसिर १० २०८१, सोमबार

नेपाली लोकतन्त्र : १४ वर्षमा ९ हजार २ सय ३७ नेपाली बाकसमा फर्किए

श्रावण १० २०७८, आईतवार

काठमाडौं । दैलेखका ३३ वर्षीय लोकबहादुर शाही रोजगारीका लागि मलेसिया गएको तीन वर्ष भयो । मलेसियामा उनी सुरक्षा गार्डको काम गर्थे । एउटी छोरी र छोरालाई श्रीमती पुष्पा शाहीको जिम्मा लगाएर पैसा कमाउन उनी मलेसिया गएका थिए ।

गत असार ६ गते बिहान उनले श्रीमती पुष्पाको मेसेन्जरमा कल गरेका थिए । तर, ७ असारमा पुष्पाले कल गर्दा साथीले उठाएर लोकबहादुरको मृत्यु भएको खबर सुनाए । पुष्पा छाँगाबाट खसिन् ।

श्रीमानको मृत्यु भएको करिब एक महिना भए पनि लकडाउनका कारण शनिबार मात्रै श्रीमानको शव आइपुग्यो । शनिबार छोराछोरीलाई समेत लिएर शब बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी श्रीमती पुष्पा आफैँ सम्हालिन सकिनन्, छोराछोरीलाई कसरी सम्झाउलिन ।

लोकबहादुरजस्तै मुलुकमा रोजगारीको अवसर नपाएर धन कमाउन विदेश गएकामध्ये वर्सेनी ७ सय हाराहारीमा युवा बाकसमा फर्कने गरेका छन् । विगत १४ वर्षको अवधिमा ९ हजार २ सय ३७ नेपाली श्रमिकहरूको विदेशी भूमिमा निधन भएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ ।

गत आर्थिक वर्ष ०७७/७८ मा १ हजार ७३ नेपाली युवाको बिरानो भूमिमा मृत्यु भएको बोर्डले जनाएको छ । त्यसअघि ०७६/७७ मा ६ सय ७१ र ०७५/७६ मा ७ सय ६३ को विदेशमा मृत्यु भएको थियो ।

तथ्यांकअनुसार मलेसियामा सबैभन्दा धेरै ३ हजार ९८ नेपाली श्रमिकको निधन भएको छ । साउदी अरबमा २ हजार ५ सय १३, कतारमा १ हजार ७ सय ९०, युएईमा ९ सय १, कुवेतमा ३ सय २४, बहराइनमा १ सय ३१, कोरियामा १ सय ४२, ओमानमा ६६ श्रमिकको मृत्यु भएको छ ।

शनिबार मलेसियाबाट २४ वटा शव र तीनवटा अस्तु ल्याइयो

शनिबार नेपाल एयरलाइन्सको वाइडबडीले मलेसियाबाट २४ वटा नेपाली श्रमिकको शव र तीनवटा अस्तु ल्याएको छ । मलेसियास्थित नेपाली दूतावास, नेपाल एयरलाइन्स र वैदेशिक रोजगार बोर्डको समन्वयमा शव ल्याइएको हो ।

शनिबार नै बोर्डले सबै शव परिवारलाई बुझाइसकेको छ । बोर्डले नै मृतकको घरसम्म शव र्पुयाउने व्यवस्था गरेको छ । त्यसैगरी, शनिबार नै जजिरा एयरवेजले साउदी अरबमा अलपत्र परेका ७४ जना नेपाली श्रमिकलाई काठमाडौं ल्याइपुर्याएको छ ।

शनिबार काठमाडौं ल्याइएका शवमध्ये सल्यानका बुद्धिराम कामी, बर्दियाका मनिराम चौधरी, बैतडीका कर्णबहादुर भण्डारी, जाजरकोटका सन्दीप विक, बाग्लुङका सुनील विसी, तनहुँका झपटबहादुर थापा, पाँचथरका दलविक्रम लावती, ललितपुरका जितबहादुर मोक्तान, खोटाङका कृष्णकुमार राई, सुनसरीका होमबहादुर गुरुङ, बाराका राम कानु, सिन्धुपाल्चोकका अम्बरबहादुर माझी, दैलेखका लोकबहादुर शाही, सिराहाका रूपेश पुलामी मगर, कपिलवस्तुका श्यामु थारू, ओखलढुंगाका सोमरबहादुर तामाङ, झापाका शम्भु विक, मोरङकी कमलादेवी भण्डारी, पाल्पाका प्रेमबहादुर सुनारी, ओखलढुंगाकी कुमारी तामाङ, झापाका युवराज बोहरा, सर्लाहीका कनानराय दनुवार रहेका छन् । त्यस्तै, मलेसियाबाट नवलपरासीका मोहनप्रसाद चौधरी, डडेल्धुराका मीनबहादुर विष्ट, सिराहाका रोशनकुमार यादवको अस्तु काठमाडौँ ल्याइएको छ । मुना कुँवरले नयाँ पत्रिकामा समाचार लेखेकी छिन् ।