• फाल्गुन २७ २०८२, बुधबार

ओलीका हनुमानले उनलाई धेरै दिन बोक्दैनन् : दाहाल

श्रावण ९ २०७८, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकलाई ‘हनुमान’को संज्ञा दिएका छन् । ती समर्थकले पनि अब ओलीको साथ छोड्ने उनको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली इतिहासमा एकचोटी नराम्रोसित पछारिएको टिप्पणी पनि गरे । पार्टीभित्र ओलीलाई ‘चिन्नेक्रम’ सुरु भइसकेको उनले बताए ।

“उनकै पार्टीले उनलाई चिन्नेक्रम सुरु भइसकेको छ,” प्रचण्डले भने, “जसलाई उनले आफ्नो हनुमान ठान्छन्, त्यो हनुमान पनि नेत्रायुगका हनुमान त होइनन्, कलियुगका हनुमान हुन् । धेरै बोक्दैनन् । त्यो दिन आउँछ भन्ने देख्छु मैले ।”

सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौती रहेको उल्लेख गर्दैै उनले मन्त्रीहरुलाई लापरबाही गर्ने कुनै छुट नभएको बताए ।