• बैशाख ६ २०८२, शनिबार

लाइभ भिडियो बनाउन १६० फिट माथी चढिन्, खसेर कहिल्यै नफर्कने गरी अस्ताइन्

श्रावण ९ २०७८, शनिबार

बेइजीङ । सामाजिक सञ्जालमा लोकप्रिय हुने लोभले एक महिलाको ज्यान गएको छ । यो चीनको घटना हो । सिओक्वियुमे नामकी यी चिनियाँ महिला पेसाले टावर क्रेन अपरेटर थिइन् ।

कामका सिलसिलामा उनी १ सय ६० फिटको उचाइबाट लाइभ भिडियो बनाउँदै थिइन्, त्यहाँबाट खसेपछि उनी घाइते भइन् । यति माथिबाट खस्दा पनि मोबाइल फोन भने उनको हातमै थियो । यी महिलालाई तत्कालै अस्पतालतर्फ लगियो तर बाटोमै उनको मृत्यु भयो ।

लाखभन्दा धेरै फलोअर्स

बेलायती अखबार द सनको रिपोर्ट अनुसार उनले ‘सिओक्वियुमे’ नामबाट सामाजिक सञ्जालमा एकाउन्ट खोलेकी थिइन् । जहाँ, उनले आफ्नो जीवनका दैनिक गतिविधि तथा क्रेन सञ्चालनसँग जोडिएको भिडियो पोस्ट गर्ने गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा निकै प्रख्यात थिइन् र १ लाखभन्दा धेरै फलोअर्स थिए ।

२३ वर्षकी यी महिला दुई छोराछोरीकी आमा समेत थिइन् । मंगलबार सबै सहकर्मीहरू कामका लागि गएका बेला लाइभ भिडियो बनाउनका लागि क्रेनमा चढेकी थिइन् । यस दौरान उनको खुट्टा चिप्लियो ।

यद्यपि, मृतक परिवारले यो दाबीलाई अस्वीकार गरेको छ । परिवारले आफ्नी छोरी कामलाई लिएर निकै गम्भीर भएको भन्दै उनले ड्युटीका दौरान भिडियो बनाउन नसक्ने दाबी समेत गरेको छ ।