नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।
प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए । त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन् ।
यता सर्वोच्च अदालतले साउन २८ गते प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेपाल पक्ष आफ्नो विचार, नीति र विधिको विजय भएको तर्क गर्दै ओलीले गल्ती स्वीकार गर्नुपर्ने अडानमा छ । ओली पक्षको केन्द्रीय कमिटी बैठकमा पार्टी विभाजन रोक्नुपर्ने आवाज मुखर भएपछि ओलीले नेपाल समूहप्रति लचिलो नीति लिएका थिए ।
उनले पार्टीभित्र देखिएको विद्रोह सम्बोधन गर्ने क्रममा सबै गल्ती कमजोरी माफी मिनाह भएको घोषणा गरेका थिए । ‘उहाँ (ओली) ले पार्टी एकताकै लागि लचिलो नीति लिनुभएको हो । बैठकले पनि विवाद निरुपण गर्ने, संवाद गर्ने र पहल गर्ने जिम्मेवारी उहाँलाई नै दिएको छ’, प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
ओलीले जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी एकता बचाइराख्न वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका थिए । त्यसको प्रतिक्रियास्वरुप बिहीबार नेपालले आफू कुनै प्रलोभनमा नपर्ने बताए ।
त्यसपछि शुक्रबार नेपालले ओलीको आम माफीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै भने, ‘हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरू जतिलाई स्पष्टीकरण सोधिएको छ, उनीहरूलाई आममाफी दिइन्छ । महाराजाधिराज बोल्नुभएको छ । हामी गदगद भयौं । हाम्रा महाराजाधिराज कति खुसी भएछन्, हामीलाई आम माफी दिएछन्, नाच्नुपर्ने भो, खुसी हुनुपर्ने भो ।’ नेपालले ओलीप्रति व्यंग्य गर्दै थपे, ‘यही हो कम्युनिस्ट प्रवृत्ति ? स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें, त्यो मैले फिर्ता लिएको छु भन्दिएको भए के हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?’