काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई बङ्गलादेश भ्रमणको निमन्त्रणा आएको छ ।
बङ्गलादेशका प्रधानमन्त्री शेखहसिनाले प्रधानमन्त्री देउवालाई नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै ढाका भ्रमणका निम्ति आमन्त्रण गरेका हुन् ।
कार्यकालको सफलताको कामना समेत गर्दै शेखहसिनाले नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव समेत गरेकी छिन् ।
प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा बङ्गलादेशी प्रधानमन्त्रीले संसद्मा श्री देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले गरेको उनीमाथि विश्वास र भरोसाको प्रमाण भएको बताएका छन् । निकटको छिमेकीको नाताले बङ्गलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एकअर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरे ।
बङ्गलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवम् सहकार्य घनिभूत हुने विश्वास व्यक्त गरे ।
‘हालै सम्पन्न राष्ट्रपिता शेख मुजिबर रहमानको जन्मशताव्दी तथा स्वततन्त्र बङ्गलादेशको स्वर्ण महोत्सव समारोहमा नेपालका राष्ट्रपतिबाट भएको राजकीय भ्रमणको अनुरागपूर्वक स्मरण गरेकी छु, राष्ट्रपिताको स्वर्ण बङ्गलादेश बनाउने सपना साकार पार्न अग्रसर हामी विकासशील अर्थतन्त्रमा रुपान्तरण भइसकेका छौँ, सन् २०४१ सम्ममा विकसित अर्थतन्त्रमा परिवर्तन हुनेछौँ’, आफ्नो देशले गरेको आर्थिक–सामाजिक विकासबाट लाभान्वित हुन नेपाललाई आह्वान गर्दै प्रधानमन्त्री हसिनाले पारस्परिक लाभका खातिर प्रधानमन्त्री देउवासँग निकट सम्पर्कमा रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
पचास वर्षअघि बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला नेपाली काङ्ग्रेसको नेतृत्वले गरेको सहयोग र समर्थनले प्रगाढ तुल्याएको दुई देशबीचको सम्बन्ध भविष्यमा अझ उन्नत हुने उनले सन्देशमा उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवालाई उनले उपयुक्त समयमा यथासक्य चाँडो बङ्गलादेश भ्रमणका निम्ति आमन्त्रण पनि सोही सन्देशमार्फत गरेका छन् ।