काठमाडौँ। आफ्नै श्रीमतीको भेषमा हवाई जहाज चढेका एक कोरोना संक्रमितलाई उडान कर्मचारीहरुले हवाई उडानकै क्रममा पहिचान गरेका छन्। इन्डोनेशियाको आन्तरिक यात्राका लागि बिमानस्थलका अधिकारीहरुलाई झुक्याएर डीडब्ल्यु नामका एक मानिस आफ्नै श्रीमतीको पासपोर्ट र कोरोना परिक्षण गरेर संक्रमण नभएको रिपोर्ट लिएर अनुहार छोपिने गरि निकाब लगाएर बिमानमा चढेको बताइएको छ। जहाज आकासमै उडिरहेको बेला ती व्यक्तिले निकाब खोलेर पुरुषको कपडा लगाएपछि बिमान परिचारिकाहरुले पहिचान गरेका थिए।
इन्डोनेशियाको प्रहरीले ती व्यक्तिलाई जहाजबाट अवतरण हुने वित्तिकै परिचारिकाहरुको सूचनाको आधारमा पक्राउ गरेर कोरोना परिक्षण गरिको बताएको छ। कोरोनाबाट उनी संक्रमित भएको पत्ता लागेपछि उनलाई घरमै आइसोलेसनमा राखिएको छ। उनको क्वारिण्टिन अवधी सकिएपछि इन्डोनेशियाको प्रहरीले उनलाई मुद्दा चलाउने जानकारी दिएको छ।
एशियाली देशहरुमा इन्डोनेशिया कोरोना भाइरसको धेरै संक्रमित भएको देशमा पर्दछ। त्यसकारण सो देशमा यात्रामा कडा प्रतिबन्ध लगाइएको छ। जुलाई १९ मा सुरु भएको मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको समयमा पनि त्यहाँका धेरै वायुसेवा कम्पनीहरुले यात्रामा कडाई गरेका छन्। हालका दिनहरुमा इन्डोनेशियामा कोरोना संक्रमण फैलदो रुपमा रहेको छ। केहीदिन यता त्यहाँ दैनिक ५० हजार जनामा कोरोना भाइरसका संक्रमित थपिइरहका छन्।
संक्रमितको बढ्दो संख्याका कारण इन्डोनेशियामा अस्पतालहरुमा अक्सिजन र अन्य स्वास्थ्य सामाग्रीहरु कमि भएको समाचार समेत बाहिरियका छन्। इन्डोनेशियामा झन्डै ३० लाख नागरिक कोरोना संक्रमित भएका छन् र त्यहाँ ७२ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्। कोरोना भाइरको डेल्टा नामको भेरियण्टले पछिल्लो समयमा आफ्नो फैलदो क्रमलाई त्यहाँ विस्तार गरेको छ। खोप कार्यक्रम सुस्त भएको भनेर त्यहाँ नागरिकहरुका असन्तुष्टी समेत बाहिर आएका छन्।