कालिकोट । आज लाखौं नेपाली युवाहरु रोजगार नपाएर विदेश धाउने गरेका छन् । केही युवाहरुमा भने नेपालमै रोजगारीको सिर्जना गरौं भनेर लागेका छन् भने नेपालमै रोजगारी सिर्जना नभएपछि विदेश धाउने गरेका युवा नेपालमै बसेर व्यवसाय गरौं न त भन्ने उर्जा र जोश पनि हराउन थालेको छ ।
तर यसैबीच नेपालकै आफ्नै खेतबारीमा उत्पादनका कामहरु गर्नु पर्छ भन्ने उद्धेश्यका साथ खाँडाचक्र नगरपालिका वडा नं ११ बरातु गाउँका युवाहरु लागिरहेका छन् । आफ्नै खेतबारीमा कृषि व्यवसाय गरेर पनि लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने जाँगरका साथ बरातुका युवाहरु कृषि व्यवसायलाई आत्मसाथ गर्दै आएका छन् ।
युवा पुस्ता भन्दा पनि पहिलेदेखि नै बरातु गाउँका कृषकहरुले कृषि पेशालाई अंगाली राखेका छन् । जिल्लाको मुख्य बजार तथा सदरमुकाम मान्म बजारका प्राय बरातु गाउँको नै तरकारी पुग्ने गर्छ । बरातुका कृषकहरुले उत्पादन गरेको अर्गानिक तरकारी प्रत्यक विहान मान्म बजारमा पुग्ने गरेको छ ।
तरकारी खेति गरेर नै बरातु गाउँका कृषकहरुले आम्दानी गर्न थालेका छन् । आफ्नो घर खर्चदेखि छोराछोरीका पढाई खर्च पनि सम्म तरकारी तथा फलफूल खेतिबाट नै गर्ने गरेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेति गरेर बाह्रै महिना तरकारी उत्पादन गरेर विक्री गरेका छन् ।
तरकारी तथा फलफूल खेतिबाट नै आफूले मनग्य आम्दानी गरेको कोपिला फलफूल तथा नर्सरी उद्योगकी संचालक वीरु भारतीले बताइन् । उनले पहिले व्यवसाय दर्ता नगराएर तरकारी तथा फलफूल उत्पादन गर्ने गरेको भएपनि केही समय पहिलेदेखि नर्सरी व्यवसाय नै दर्ता गराएर तरकारी तथा फलफूल उत्पादन गरेर विक्री गर्ने गरेको बताइन् । उनले तरकारी तथा फलफूल खेति बाट नै आफूले मनग्य आम्दानी गरेको र बेरोजागरी भएर बस्नु नपरेको बताइन् ।
उनले भनिन्, श्रीमान शिक्षक हुनुहुन्छ, उहाँ विद्यालयमा पढाउन ब्यस्त हुनुहुन्छ, फुर्सदको समयमा खेतबारीमा आफूलाई सहयोग गर्नुहुन्छ, हामीले जागीरको तलब भन्दा तरकारी तथा फलफूल व्यवसायबाट बढि आम्दानी गर्ने गरेका छौँ । आफूले पनि ताजा ताजा तरकारी खान पाएका छौँ । दैनिक जसो उत्पादन गरेका तरकारी तथा फलफूल लिएर मान्म बजारमा विक्री गर्ने गरेका छौँ । राम्रै आम्दानी भएको छ ।
तरकारी तथा फलफूल उत्पादन गर्ने मात्र नभएर विभिन्न प्रजातिका विरुवाहरु पनि उत्पादन गर्ने गरेको जनचेतना निजि फलफूल नर्सरी तारा गिरीले बताइन् । उनले विभिन्न प्रजातिका फलफूलका बिरुवा उत्पादन गरेर विक्री गर्ने गरेको र त्यसैबाट पनि मनग्य आम्दानी भएको गिरीले बताइन् ।
उनले भनिन्, विगत लामो समयदेखि यही कृषि व्यवसायमा लागिरहेका छौँ, राम्रो आम्दानी भएको छ । बाँजो जमिनको पनि सदुपयोग भएको छ । यही कृषि व्यवसायले नै छोराछोरीलाई राम्रो शिक्षा दिने बाटो देखायो । अहिले किवी, सुन्तला, कागती, दाँते ओखर, नास्पाती, आरु, लगायतका बिरुवाहरु उत्पादन गर्ने गरेको गिरीले बताइन् ।
छोरालाई पनि कृषि प्राविधिक पढाएको र अहिले छोराले पनि कृषि व्यवसायमा विभिन्न काम गर्दै आफूहरुलाई सहयोग गर्ने गरेको उनको भनाई छ । उनले पहिले प्राविधिक विषयमा आफूलाई खासै जानकारी थिएन, अहिले छोराले प्राविधिक विषयमा सबै कुरा सिकेपछि आफूलाई ठूलो सहयोग मिलेको छ ।
गाउँमा रोजगारी नपाएर ३ वर्ष खाडीमुलुक बसेर आएका हिक्मत गिरी अहिले गाउँका युवालाई कृषि व्यवसाय गर्नुपर्छ भनेर सल्लाह दिँदैछन् । उनी अहिले पशु अस्पतालमा प्राविधिकको काम गर्छन् तर उनले गाउँका युवालाई कृषि व्यवसायमा लाग्न सुझाव दिइरहेका छन् ।
गाउँका युवाहरु बेरोजगार भएर बस्नु भन्दा आफ्नै खेतबारीमा, आफ्नै घरमा बसेर पशुपालनबाट आम्दानी गर्न सकिने विषयमा पटक पटक जानकारी दिँदै आएको गिरीले बताए । उनले पशु पालनका लागि आवश्यक पर्ने कुराहरु आफुले जानकारी दिने गरेको र कोही कसैका पशु चौपाय विरामी परेमा निःशुल्क रुपमा औषधि गर्ने गरेको समेत बताए ।
उनले भने, ‘व्यवसाय भनेको सानो ठूलो हुँदैन । बेरोजगार भयौँ भनेर खाडी मुलुक जानु भन्दा आफ्नै खेतबारीमा केही न केही व्यवसाय गर्नु पर्छ । म पनि विदेश गएको हुँ । विदेश गएर केहि हुँदैन । व्यवसाय गरेर नै जीवनलाई सुखी बनाउन सकिन्छ ।’
अहिले पनि बरातु गाउँका प्रत्यक घरमा तरकारी लटरम्म फलेका छन् । पछिल्लो समय गाडी गाउँमै पुगेपछि विक्रीका लागि केही सहज भएको स्थानीयको भनाइ रहेको छ । बरातुका प्रत्यक घरमा तरकारी उत्पादन हुन्छ । प्रत्यक घरले तरकरी बेचेर नै घर खर्च चलाउने गरेका छन् ।
युवाहरुले अब आफ्नै देशमा बसेर केही गर्नु पर्छ भनेर आफू पनि कृषि पेशामा लागेको युवा व्यवसायी जीवन गिरीले बताए । उनले गाउँका युवाहरुलाई कृषि व्यवसायवाट हुने फाइदा विभिन्न प्राविधिक विषयमा जानकारी दिँदै आएको बताए ।
अहिले बरातु गाउँका प्रत्यक घरमा एउटा पोली हाउस बनेका छन् । विभिन्न संघ संस्थाले पनि बरातु गाउँका कृषकलाई प्रोत्साहन दिनका लागि विभिन्न सहयोग गर्दै आएका छन् ।