काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्रान्टेड (आममाफी दिइनेछ)।’
‘आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु, आउनुहोस् मिलेर काम गरौं, आन्दोलनलाई सफल पारौँ, एकजुट भएर जाऔं।’ ओलीले भने, ‘पद र स्वार्थका कुरा छोडौं, देश र जनताका समस्याका कुरा गरौं, हाम्रो बिजय यात्रालाई कसैले पनि रोक्न सक्दैन।’
उनले सबैलाई एकजुट भएर अघि बढ्न समेत आग्रह गरे।
कम्युनिष्ट आन्दोलन र पार्टीले आफ्नै कारणले ठूलो क्षति ब्यहोरेको उनको भनाइ छ। ‘तै पनि म भन्न चाहन्छु फेरि एकजुट भएर अगाडि बढौं।’ उनले भने ।