• मंसिर १५ २०८१, शनिबार

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस

श्रावण ७ २०७८, बिहीबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

२००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गरेका थिए । त्यसको एक वर्षपछि २००६ सालमा उनले नेपाल कम्युनिष्ट पार्टी गठन गरे । पुष्पलाल नेकपाको संस्थापक महासचिव हुन् ।