काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन् । पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन् ।
खोपको आसमा रहेका ७२ प्रतिशत नागरिकलाई खोपमा पहुँच पुर्याउन धौ–धौ देखिएको छ । विश्वभर साढे ३ अर्बभन्दा बढी व्यक्तिले खोप लगाउँदा नेपालमा ४.३ प्रतिशतले मात्र पाएको देखिन्छ । कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर खोपमै केन्द्रित छ । देशव्यापी रूपमा २९ असारदेखि खोप अभियान सञ्चालन गरिए पनि कतिपय जिल्लामा स्थगन गरिएको छ ।
मुलुकभर जारी अभियानमा तीन किसिमका खोप लगाइएको छ । कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ छ ।
दोस्रो डोज पाउनेको संख्या ४ लाख ६० हजार ७ सय ३४ छ । १४ लाख २३ हजार ४ सय ४७ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। भेरोसेलको दोस्रो डोज पाउनेको संख्या ६ लाख ८२ हजार ३ सय ९२ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो समय सञ्चालन भइरहेको जोन्सन एन्ड जोन्सन एक डोज मात्र लगाए पुग्छ । ८१ हजार ३ सय ५२ जनाले यो खोप लगाएका छन् ।
धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउन नसके तेस्रो लहरको जोखिम झन बढ्ने विज्ञहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार कोरोना परीक्षण पनि न्यून गर्ने र खोपमा पनि ढिलाइ गर्दा संक्रमण झन बढ्ने जोखिम हुन्छ । सहप्रवक्ता अधिकारीका अनुसार अहिले औसत संक्रमणदर २२ प्रतिशत छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख डा. अनुप बास्तोला निषेधाज्ञा खुकुलो भएसँगै कोरोना पुष्टि हुनेको संख्या क्रमशः बढ्दै गएको बताउँछन् । ‘हरेक दिन १५ देखि २० जना व्यक्ति कोरोना संक्रमणको लक्षणसहित आइरहेका छन् । तीमध्ये ७ देखि १० जनालाई भर्ना गर्नुपरिरहेको छ’, डा. बास्तोला भन्छन्, ‘अस्पतालको शय्या खाली हुन पाएको छैन ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।