काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि रहेको बताएका छन् ।
उनन्चालिसौँ बिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बिपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उहाँसँगको सामिप्यतामा फर्किएको महसुस गर्दै बिपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरे ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको योगदानको स्मरण गरी आज ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।